काठमाडौं । जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलनसम्बन्धी नेपाल उद्योग परिसंघ(सिएनआई) र पिडब्लुसी भारतको संयुक्त प्रतिवेदन सार्वजनिक भएको छ । सिएनआई र पिडब्लुसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । सिएनआईका अनुसार नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रूपमा प्रतिवेदनलाई महत्वपूर्ण मानिएको छ ।
प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरूले सामना गर्ने जोखिम तथा समाधानका उपायहरू सुझाइएको छ । जसमा व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्वन गर्न, मूल्य शृंखला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसर कसरी पुँजीकरण गर्न सकिन्छ भन्ने विषय समेटिएका छन् ।
विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउँदै आएका सन्दर्भमा निजी क्षेत्रले समेत उच्च प्राथमिकता दिएको छ । जलवायु परिवर्तनबाट सिर्जित चुनौती सामना गर्न सरकार, नागरिक समाज, व्यावसायिक क्षेत्रबीचको सहकार्य महत्वपूर्ण रहेको सिएनआईले जनाएको छ ।
सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायका लागि रोडम्याप तयार गर्न ठोस कदम र योजनाको रूपरेखा प्रस्तुत गरेको बताउनुभयो । यसमा जोखिम न्यूनीकरण रणनीतिका रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासलाई समर्थन गर्ने सरकार, बहुपक्षीय/द्विपक्षीय एजेन्सीजस्ता विभिन्न सरोकारवालाको भूमिकाका विषयसमेत समेटिएका छन् ।
जयवीर सिंह, पिडब्लुसी इण्डियाका प्रबन्ध निर्देशकले जलवायु अनुकूलन व्यवसायका लागि एक जिम्मेवारीमात्र नभएर रणनीतिको आवश्यकता रहेको बताउनुभयो । जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिमसहित यस परिवर्तनशील परिदृश्य अनुकूलन गर्न सक्रिय भई व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । प्रतिवेदनले एक लचिलो र दिगो व्यावसायिक वातावरण निर्माण गर्न सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सिएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रमध्ये एक रहेको भन्दै जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन प्रतिवेदन महत्वपूर्ण हुने बताउनुभयो । प्रतिवेदन सरकार, सरोकारवाला सबैलाई महत्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ ।
प्रतिवदेनले नेपाललाई जलवायु परिवर्तन अनुकूलन बुझ्न र सम्बोधन गर्न महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्ने बताइएको छ । प्रतिवेदन व्यवसाय, नीति निर्माता र संस्थाहरूका लागि जलवायु परिवर्तन अनुकूलन गर्न महत्वपूर्ण स्रोत हुने सिएनआईको विश्वास रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच