बुबा कमलप्रसाद तिमल्सिना र आमा दीर्घकुमारी तिमल्सिनाको कोखबाट धादिङको ज्वालामुखीमा जन्मिनुभएका दीपेन्द्र तिमल्सिना काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ प्रस्तुत गरिरहनुभएको छ । म्युजिक भिडियो निर्देशक एवं कलाकारका रूपमा उहाँले आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । हिरो बन्ने अभिलाषा बोकेर चलचित्र क्षेत्रमा होमिनुभएका उहाँले चलचित्रका गीतहरूमा सहायक कोरियोग्राफर, कोरियोग्राफर र म्युजिक भिडियो निर्देशन एवं अभिनय गर्दै यो क्षेत्रमा दुई दशकभन्दा बढी समय व्यतित गर्नुभएको छ । उहाँले एक दर्जन भोजपुरी र एक दर्जन नेपाली चलचित्रका गीतमा नृत्य निर्देशन गर्नुभएको छ भने ५०० भन्दा माथि म्युजिक भिडियोमा निर्देशन गर्नुभएको छ । त्यस्तै उहाँले एक दर्जन सिरियल र चलचित्रमा पनि अभिनय गर्नुभएको छ । निर्देशक भनेको लगाम हो भने कलाकार घोडा हो भन्नुहुने दीपेन्द्र तिमल्सिनासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
त्यही हो म्युजिक भिडियो निर्देशन एवं ‘जुठे’ र ‘हल्का रमाइलो’ दुई सिरियलमा अभिनय गरिरहेको छु । देशको राजनीतिक अवस्थाका कारण छाएको मन्दीले पहिलाभन्दा अहिले कामहरू अलि कम भइरहेको छ ।
लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, अहिले कस्तो छ ?
समय सधैँ एकनास हुँदैन रहेछ । पहिले जस्तो व्यस्तता नभए पनि निरन्तरता जारी छ । प्राविधिकरूपमा अब्बल हुँदै गर्दा लगानी बढ्दो तर प्रतिफल मनग्ये नहुँदा निराशापन बढ्दो देख्छु म । सायद आउँदा दिनहरूमा पक्कै राम्रो होला, आशा गरौँ ।
यो क्षेत्रमा के कुराले तान्यो तपाईंलाई र लाग्नुभयो ?
अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठजस्तै चलचित्रको पर्दामा हिरो बन्ने रहरले म यो क्षेत्रमा होमिएँ । सायद भगवान्लाई मेरो चाहना मञ्जुर थिएन होला । तर, यो रंगीन दुनियाँको लतबाट बाहिर निस्कन सकिएन । फलस्वरूप चलचित्रका गीतहरूमा कोरियोग्राफी गर्ने, म्युजिक भिडियो निर्देशन गर्ने र अभिनय पनि गर्दै रमाइरहेको छु । हिरो बन्ने सपना अझै मरिसकेको छैन, समयले साथ दिए एकदिन हुनेछु ।
म्युजिक भिडियो निर्देशन गर्न सजिलो कि कलाकार हुन ?
निर्देशन गर्नु आफैंमा गहन कुरा हो । निर्देशन वा कलाकारिता यी दुवै एकअर्काका परिपूरक हुन् । निर्देशक भनेको लगाम हो भने कलाकार घोडा । मेरो मतलब दुवै पेशा हामीले नांगो आँखाले हेरेजस्तो सजिलो छैन । अथक मिहिनेत र साधना गरेमात्र दुवै चिजमा सक्षम हुन सकिन्छ । आफ्नो हृदयको चाहना र प्रेमले होला म त दुवैमा रमाइरहेको छु ।
निर्देशक हुन नभइनहुने कुरा के हो ?
निर्देशक भनेको त्यो अन्तिम सर्जक हो जसले तपाईंको सिर्जनालाई कलात्मक ढंगले प्रस्तुत गर्दै मूर्त रूप दिन्छ र हेर्नलायक बनाउँछ । अझ भनौँ तपाईंको सिर्जनालाई अमर बनाउँछ । कलात्मक, सिर्जनात्मक र प्राविधिकरूपमा दक्ष व्यक्ति नै अब्बल निर्देशक कहलिन्छ ।
हिरो बन्ने अभिलाषा बोकेर चलचित्र क्षेत्रमा होमिनुभएका दीपेन्द्र तिमल्सिनाले चलचित्रका गीतहरूमा सहायक कोरियोग्राफर हुँदै कोरियोग्राफर र म्युजिक भिडियो निर्देशन एवं अभिनय गर्दै यो क्षेत्रमा दुई दशकभन्दा बढी समय व्यतित गर्नुभएको छ । उहाँले एक दर्जन भोजपुरी र एक दर्जन नेपाली चलचित्रका गीतमा नृत्य निर्देशन गर्नुभएको छ भने ५०० भन्दा माथि म्युजिक भिडियोमा निर्देशन गर्नुभएको छ । त्यस्तै उहाँले एक दर्जन सिरियल र चलचित्रमा पनि अभिनय गर्नुभएको छ ।
प्रतिस्पर्धा कत्तिको छ ?
प्रतिस्पर्धा हरेक क्षेत्रमा हुन्छ र हुनु पनि पर्छ तर स्वच्छ प्रतिस्पर्धा । सिर्जना र साधनाजस्ता कुराहरूमा सम्झौता गर्दै धमिलो पानीमा माछा मार्ने र सर्जकहरूको आँखामा धुलो हाल्नेहरूको कमी छैन यहाँ ।
कोरस डान्सरदेखि निर्देशक बन्दासम्म जिन्दगीलाई कसरी बुझ्नुभयो ?
हिरो बन्ने अभिलाषा बोकेर चलचित्र क्षेत्रमा होमिएको म चलचित्रका गीतहरूमा सहायक कोरियोग्राफर हुँदै आफैं चलचित्रका गीतहरूमा कोरियोग्राफी गर्दै र म्युजिक भिडियो निर्देशन एवं अभिनय गर्दै यो क्षेत्रमा दुई दशकभन्दा बढी समय व्यतित गर्दै गर्दा धेरै उतारचढाव र संघर्षपश्चात् एउटा म्युजिक भिडियो निर्देशक एवं कलाकारको पहिचान बनाउन सफल भएको छु । जिन्दगी भनेको साधना, सम्झौता र मिहिनेत हो भन्ने बुझेको छु ।
आफूलाई निर्देशक कि कलाकार भन्न रुचाउनुहुन्छ ?
म आपूmलाई एउटा विशुद्ध नृत्य निर्देशक एवं म्युजिक भिडियो निर्देशक भन्न रुचाउँछु । कलाकारिता त मेरो रहर हो जुन नशा–नशामा छ ।
यो क्षेत्रमा लागेर के पाए, के गुमाएजस्तो लाग्छ ?
कलाकारिता क्षेत्र मेरो बाआमाको चाहना र रोजाइ थिएन, यो मेरो एकल निर्णय थियो र छ पनि । कहिलेकाहीँ बाआमाको इच्छाविपरीत यो क्षेत्रमा लागेर पारिवारिक बन्न सकिन भन्ने लाग्छ तर आफ्नो इच्छालाई पनि मार्न सकिँदैन नि । आज मैले निर्देशन गरेका सिर्जनाहरूलाई करोडौं दर्शकले हेरिदिनुभएको छ र मन पराइदिनुभएको छ । म यसमै खुसी छु ।
कुनै संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रमा कार्यरत पेशागत नृत्यकर्मीहरूको हकहितका लागि स्थापना भएको साझा संस्था नेपाल चलचित्र नृत्य संघको महासचिव र म्युजिक भिडियो निर्देशक समाजको साधारण सदस्यका रूपमा आबद्ध छु ।
यहाँले निर्देशन गर्नुभएका केही गीतका भिडियोहरूको नाम लिनुपर्दा ?
करिब एक दर्जन भोजपुरी र एक दर्जन नेपाली चलचित्रका नृत्य निर्देशन गरेको छु । जस्तै ‘भिलेन, ठेगाना, बाबु कान्छा, ज्यान हाजिर’लगायत । यस्तै, लगभग ५०० भन्दा माथि म्युजिक भिडियोमा निर्देशक गरेको छु । ‘झम्के साँझ, साह्रै मन अत्याउनी, फिदा, होली, सोल्टिनी, मुसी, मस्यौरी, चरी बरर धरर, मेरो क्रस, ए मेरो राजा, आँखै लाउनी हो, पानी तालैले, ए भन्दे बतास, घर त गैरी गाउँ, पारि वन हरियो’लगायतका रहेका छन् । एक दर्जन सिरियल र चलचित्रमा पनि अभिनय गर्दै निरन्तर काम गरिरहेको छु ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानस्वरूप थुप्रै अवार्ड तथा सम्मानहरू पाउनुभएको पाइन्छ नि ?
हो, यहाँले भनेजस्तै केही अवार्ड, सम्मान र पुरस्कार प्राप्त भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी अवार्ड-२०८०, विन्दवासिनी म्युजिक अवार्ड २०८०, नेसनल पावर न्यूज म्युजिक अवार्ड-२०१९/२०, छायाँछवि म्युजिक तीज म्युजिक अवार्ड-२०७८, जिनियस म्युजिक अवार्ड-२०७६, नेसनल ब्राण्ड म्युजिक अवार्ड-२०७८, नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२२, स्टार म्युजिक भिडियो अवार्ड-२०२२, नेसनल बक्स अफिस तीज म्युजिक अवार्ड-२०७९, बी स्टार म्युजिक अवार्ड-२०२३ लगायत रहेका छन् ।
अन्त्यमा ?
आदरणीय भगवान्रूपी दर्शकवृन्दहरूले मैले निर्देशक गरेका म्युजिक भिडियोहरू र अभिनय गरेका सिरियलहरूलाई अत्यन्त मन पराइदिनुभएको छ, अपार माया दर्शाउनुभएको छ । यसैगरी सधैँ साथ र माया गरिदिनुहोला र नेपाली गीतसंगीत र चलचित्रलाई मनैदेखि माया गर्नुहोला भन्दै अझै धेरै माया र साथको अपेक्षा राख्दछु ।
Congatzz mero dai