कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । डब्ल्युएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको संक्रमण र अस्पताल भर्ना हुनेको संख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित संम्वद्ध संस्थालाई आग्रह गर्नुभयो ।
‘नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोमेन्ट (आरआइभिएम)’ का अनुसार नेदरल्याण्ड्सले अहिले श्वासप्रश्वाससम्बन्धी संक्रमणमा भइरहेको वृद्धिलाई कम गर्न सम्भावित प्रयासलाई अगाडि बढाएको छ ।
इन्फ्लुएञ्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न संक्रमण अहिले नेदरल्याण्ड्सको जनसंख्यामा ‘सामान्य’ भएको आरआइभिएमले जनवरी १० सम्मको आफ्नो पछिल्लो अपडेटमा जनाएको छ । आरआइभिएमले चियोजन्य समस्याका कारण संक्रमण भएकोजस्ता लक्षण देखिएका व्यक्तिको संख्या बढ्दो क्रममा रहेको बताएको छ । दुई हप्ता पहिले प्रति एक लाखमा २७ जनाले चियोजन्य संक्रमणको गुनासो लिई चिकित्सकीय सेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरेकोमा गतहप्ता प्रतिएक लाखमध्ये ४४ मा यो समस्या देखिएको रिपोर्टमा उल्लेख छ ।
आरआइभिएमका अनुसार हालैको तथ्यांके इन्फ्लुएञ्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ । तथ्यांकमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिहरूको लगभग ३५ प्रतिशत नमुनाहरूमा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । अघिल्लो हप्ता यो दर १३ प्रतिशत रहेको थियो ।
इटालीका स्वास्थ्यकर्मीहरूले गत शुक्रबार इटालीमा कम्तीमा १५ वर्षयताकै सबैभन्दा खराब फ्लु लहरका कारण अस्पताल चर्को दबाबमा रहेको बताएका छन् । इटालियन फेडेरेसन अफ हेल्थ अथोरिटिज एण्ड हस्पिटल्स (एफआइएएसओ)का अनुसार गत साता आपत्कालीन कक्षमा भर्ना हुनेको संख्या २० देखि ३० प्रतिशतले बढेको छ ।
नयाँ वर्षको सुरुवातदेखि नै कोभिड-१९ र फ्लुको संक्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागू गरेको छ । स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा तीव्र वृद्धि भएको छ र बासिन्दाहरूमा संक्रमणदर प्रतिएक लाखमा ९५२ भन्दा बढी पुगेको छ । स्वास्थ्यमन्त्री मोनिका गार्सियाले गतहप्ता ‘चियोजन्य संक्रमण अत्यधिक भएको चेतावनी दिनुभएको थियो ।
मंगलबार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसंख्यालाई कोभिड-१९ र इन्फ्लुएञ्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताउनुभएको थियो । उहाँले सन् २०२० को डिसेम्बरमा कोभिड-१९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्वपूर्ण सफलता मिलेको पनि बताउनुभयो । ‘डब्ल्युएचओ युरोपको नेतृत्वमा गरिएको नयाँ अध्ययनले सुरक्षित र प्रभावकारी कोभिड-१९ खोपका कारण हाम्रो क्षेत्रमा कम्तीमा १४ लाख मानिसको ज्यान जोगिएको देखाएको छ’, डब्ल्युएचओका अर्का अधिकारीले भने ।
डब्ल्युएचओेको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ, खोपले ९० प्रतिशत भन्दा बढी ज्यान बचाएको छ । सन् २०२० को डिसेम्बरमा खोप प्रयोग सुरु भएयता डब्ल्युएचओेको युरोपेली क्षेत्रमा कोभिड-१९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ र पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ ।
यद्यपि, क्लुजले कोभिड-१९ जेएन-१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गर्नुभयो । क्लुजले भन्नुभयो, ‘गम्भीरता बढेको संकेत गर्ने प्रमाणको अभावका बाबजुद, जेएन-१ संस्करणको अनिश्चितताका लागि निरन्तर निगरानीको आवश्यकता छ । ‘हाम्रो क्षेत्रका १३ देशले गतसाता श्वासप्रश्वाससम्बन्धी भाइरससम्बन्धी कुनै तथ्यांकसार्वजनिक गरेका थिएनन् । ‘उत्परिवर्तन होस् वा नयाँ भाइरस, श्वासप्रश्वाससम्बन्धी अप्रत्याशित जीवाणुको नियन्त्रणका लागि निगरानी हाम्रो पहिलो प्रतिरक्षा प्रणाली हो’, उहाँले भन्नुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच