✍️ रञ्जु दाहाल
१६ वर्षीय जोबनमै हुँदा श्यामप्रसाद शर्माको ‘आइमाई साथी’ निबन्ध पढेँ । आइमाईलाई साथी बनाउन नसक्दाको लेखकको मनोदशा हृदयमा यसरी गढ्यो कि ‘बनिदिन्छु साथी !’ दृढप्रतीज्ञा गरिहालेँ । उनको जन्ममिति हेरेँ- संवत् १९८६ ! नातिनी पो रहेछु ! लेखकको ‘समवयी’ हुन नपाएकामा धिक्कारेँ आफैँलाई । ‘केटीसाथी बनाउन चाहनेहरू अहिले पनि शर्माजस्तै निराश भइरहेका होलान् !’ जब यो वाक्यले दिमागमा घर बनायो अनि तम्सिएँ केटा साथी बनाउन ! राम्रोसँग बोल्नासाथ केटाहरू सहजै नजिकिन थालिहाले । छोटो समयमै प्रशस्तै साथी बनाएँ मैले । तथापि, लेखकले भनेजस्तै ‘सुखदुःख बाँड्ने साथी’ भने भेट्टाएकी थिइनँ ।
मसँगै पढ्ने एउटा केटा नजिक बन्दै थियो । ऊ मसित बोल्ने बहाना बनाउन थाल्यो, ‘एउटा कविता लेखेको छु, सुन्छ्यौ ?’ एउटा केटो साथी नजिकिँदै थियो, सहजै ‘हुन्छ, सुनाऊ’ भनिदिन्थेँ । क्याम्पसमा ऊ अरूभन्दा भिन्न थियो । एक वर्षदेखि ऊ प्रायः एउटै लुगामा देखिन्थ्यो । अरूहरू दिनहुँजसो पहिरन परिवर्तन गर्थे, जुल्फी कहिले दायाँ, कहिले बायाँ ढल्काउँथे उसको भने सधैं कमिज-सुरुवाल-ढाकाटोपी । साथीहरूसँग डुले-घुमेको, सिनेमा हेर्न गएको, क्यान्टिन छिरेको समेत कहिल्यै देखिएन । उतिसाह्रो बोलेको पनि सुनिन्नथ्यो । एक दिन सोधेँ, ‘तिम्रा साथी छैनन् ?’ उसले अँध्यारिँदै भन्यो, ‘म सबैलाई साथी ठान्छु, बोलाउँछु तर सबै ‘पण्डित बाजे’ भन्दै उडाउँछन्... !’
महिलाका गुण केही मात्रामा पुरुषमा र पुरुषको सामथ्र्य केही मात्रामा महिलामा सर्दा दुवैलाई फाइदा नै होला ! जुन हक ‘खोसेर लिनुपर्छ’ भन्ठान्छौं, त्यो अलिक सहजै पाइन्थ्यो कि ! त्यसका लागि माध्यम हुन नसक्ला त नारी-पुरुषबीचको मित्रता ?
हामीबीचको मित्रता गहिरिँदै गयो । सुखदुःख बाँड्ने साथी बनाएँ मैले । क्याम्पसको फूलबारीमा घण्टौं गफिन थाल्यौं । एक दिन मेरो साथी अँध्यारो अनुहार लिएर उपस्थित भयो । उसको आवाज घाँटीमै अवरुद्ध थियो । बल्लतल्ल बोल्यो, ‘कस्तो गल्ती भएछ हामीबाट !’ तिमी दाहाल, म लम्साल । हामी एउटै गोत्रका दाजु–बहिनी रहेछौं !’ अहिलेसम्म जे भयो भयो ! अबदेखि...‘ऊ हिँडिहाल्यो । मैले बुझिनँ-गोत्र र मित्रको सम्बन्ध । एउटै गोत्रका मित्र हुँदैनन् ?’ गल्ती उसले केलाई मान्यो ? साथी बनाउनु गल्ती थियो ? दुवैको इच्छानुरूप बनेको साथी पो साथी ! जबरजस्ती कसैलाई साथी बनाऊँ त्यो मेरो रहर थिएन । एउटा साथीसितको मित्रतामा पूर्णविराम लाग्यो । केटासाथी मेरो बनाउने रहर ज्यूँका त्यूँ रहृयो !
त्यसताका म सार्वजनिक पुस्तकालयमा पत्रिका पढ्न गइरहन्थेँ । मभन्दा माथिल्लो कक्षामा पढ्ने एकजना दाइ पनि त्यहाँ जाँदारहेछन् । देखादेख हुन्थ्यो, बोलचाल भएको थिएन । देखिराखेको मान्छे अर्कै स्थलमा सामुन्ने हुँदा आफैँ अगाडि सरेर नमस्कार गरेँ । बोलीको गाँठो फुक्नु के थियो, हाम्रो बोलचाल बाक्लियो । म बस्ने घरकै बाटोमा पर्दोरहेछ उनको कोठा । हामी सँगसँगै जाने-आउने गर्न थाल्यौँ । सुरुसुरुमा ‘दाजु-बहिनी’ को सम्बोधन चल्थ्यो, ‘जी’ मा बदलियौँ । हामीलाई पुस्तकालय जाँदा–आउँदाको भेटघाटले पुग्न छाड्यो । फूलबारीमा गफिन थाल्यौँ । लाग्थ्यो-म उनलाई भेट्दा जति खुशी छु, त्यसभन्दा सयौँ गुना बढी उनी दंगदास छन् ।
केटाहरू केटी साथी बनाउन यतिबिघ्न उत्सुक हुँदारहेछन्, केटीमात्र किन पछाडि ? नारी-पुरुषबीच सहकार्य, साथ-सहयोग, आदर-सत्कार गर्ने भावनाको खाँचो संसारलाई छ । हामी लैङ्गिक विभेदको नारा लाउँछौँ, सडकदेखि सरकारसम्म समानता खोज्छौँ, भोग्दै आएको विभेदको अन्त्य तिनै पुरुषसितको सहकार्यबाट हुन किन सक्दैन ? नारीमा माया, ममता, धीरता प्रचूर हुन्छ पुरुष बल-बुद्धि र साहसिला कार्यमा बढ्ता अग्रसर देखिन्छन् । केटी-केटीबीच भावना आदानप्रदान हुँदा आफूले जस्तो भोग्दै आइएको हुन्छ, दुवैले त्यस्तै सुनाइन्छन् । महिलाका गुण केही मात्रामा पुरुषमा र पुरुषको सामथ्र्य केही मात्रामा महिलामा सर्दा दुवैलाई फाइदा नै होला ! जुन हक ‘खोसेर लिनुपर्छ’ भन्ठान्छौँ, त्यो अलिक सहजै पाइन्थ्यो कि ! त्यसका लागि माध्यम हुन नसक्ला त- नारी-पुरुषबीचको मित्रता ?
म किन खुशी नहुनु-साथी बन्न लालायित कुनै केटासाथी पाउँदा ! उनी मेरो कोठामा आउँथे, मैले बनाएका खाने कुरा मीठो मानेर खान्थे । ‘तिमी खाना साँच्चै मीठो बनाउँछ्यौ‘ फुक्र्याउँथे । ‘तिमीले पनि मलाई यस्तै खाना खुवाउनुपर्छ है !‘ म उनलाई उकास्थेँ । एक दिन क्याम्पसबाट फर्किंदै गर्दा भने, ‘भोलि शनिबार, म जस्तो जान्दछु, त्यस्तै बनाउँछु, तिमी मेरोमा खाना खान आऊ ल !’ साँच्चै खुशी दियो उनको निम्तोले । भोलिपल्ट उनकोमा पुग्दा खाना पाकिसकेको रहेछ । खुब रमाइलो मान्दै खायौँ । ‘भाउजू दाजुलाई लिएर माइती जानुभयो, त्यही भएर तिमीलाई बोला’ को ! नत्र त कहिल्यै मौकै नमिल्ने !’
उनको यो भनाइले खाँदै गरेको गाँसमा अकस्मात् ढुङ्गा लाग्यो । ‘ब्यर्थै गलत अर्थ लगाएँ कि’ भन्ठानेर चुप रहेँ । म पहिलो पटक उनीकहाँ गएकी थिएँ । त्यसैले सायद, उनी बढी हौसिए-रौसिएका हुनुपर्छ । उनी बोलिरहेथे, म सुनिरहेकी थिएँ । उनको आशय भने एउटैमा केन्द्रित हुन्थ्यो- ‘तिमीलाई भेट्टाउनु मेरो अहोभाग्य हो ।’ सायद लेखक शर्मा पनि यति नै खुशी हुन्थे होलान्-मजस्तै कुनै ‘आइमाई साथी’ पाएका भए ! मेरो साथीको ‘मित्रता’ मा बिस्तारै मायाप्रेमको सस्तो रङ मिसिँदै गयो । उनी साथीभन्दा माथि जान हतारिए, ‘म तिमीलाई अति माया गर्छु । तिमीजस्ती जीवनसाथी पाएर म धन्य हुनेभएँ !...अहिले, यसै क्षण म र तिमी ‘हामी’ भएर एक हुनुपर्छ । आज भए नि भोलि भए नि तिमी मेरी नै हौ क्यार !'
उनका नाक, कान, आँखा राता हुँदै गए । बोलीमात्र होइन, व्यवहारमा पनि एकाएक परिवर्तन आयो । अकस्मात् उनले शरीरको सम्पूर्ण बल मलाई आलिंगन गर्नमा लगाए । उनीबाट आफूलाई छुटाउन हम्मेहम्मे पर्यो मलाई । मानवीयबाट एक्कासि दानवीय प्रवृत्तिमा प्रवेश गरेपछि प्रतिवाद वा संवाद केही त मैले गर्नै पथ्र्यो ! मानवताको आदर्श-युद्ध गरिरहनु अर्थहीन थियो । युद्धको स्वाद त्यहाँ पो हुन्छ, जहाँ विपक्षी आफूभन्दा साहसी होस् ! यस्ता ‘कायर’ सँग युद्ध गर्ने कायरता कहाँ पाएर हुनु मसँग ! उनलाई जोडले धकेलेर म कोठातिर भागेँ । साथीले साथीलाई दिने भावना, सम्बन्ध, साथसहयोग हो या शरीर ? केटाकेटीबीचका सबै सम्बन्धहरूको अन्तिम लक्ष्य यौन नै हो ?
अन्तमा पतिपत्नीमै परिवर्तन हुनुपर्ने ? मलाई ‘साथी’ जस्तो दर्बिलो शब्द कमजोरी-कमजोरी लाग्यो । ‘केटासाथी बनाउने’ मेरो चाहना पूरै धराशायी भयो । समयले दिएको चोट समय आफैँले मेटाउनु समयको सबैभन्दा शक्तिशाली पाटो लाग्छ मलाई । समयले उब्जाएका इच्छा, रहर, आवेश, क्रोध, घृणा इत्यादि समयले नै व्यवस्थापन गर्दै लग्यो । यस्ता खाले सबै आवेग पचाउँदै शान्त बन्न सिक्दै गएँ । परिवारको खुशीलाई साक्षी राखेर वैवाहिक बन्धनमा बाँधिनुपर्यो मैले । जीवन साथीकै रूपमा एउटा केटासाथी पाएँ मैले । गतिशील समयको उपज दुई छोराछोरीकी आमा पनि बनेँ । साहित्यतिर सानैदेखि रुचि थियो ।
छोराछोरीको दिसा-पिसाबबाट अवकाश पाएपछि सुषुप्त रूपमा दबेको रुचिले निकास खोज्न थाल्यो । म कविगोष्ठीहरूमा फाट्टफुट्ट देखा पर्न थालेँ । यदाकदा मञ्चमा खुट्टा राख्न पाउन थालेँ । त्यस दिन तीन घण्टा कुरेपछि कविता सुनाउन पाएँ । सुनाएपछि एक ख्यातिप्राप्त साहित्यकारले मेरो कविताको यति प्रशंसा गरे कि म स्वयम्लाई अप्ठ्यारो लाग्यो ! त्यतिबिघ्न राम्रो लेखेँझैँ लागेकै थिएन ! त्यत्रा ठूला मान्छेले प्रशंसा गरिदिएपछि म यति फुर्किएँ कि फुर्किनुको सीमै रहेन ! घरमा पुग्दा सञ्जालमा उनको रिस्क्वेस्ट आइसकेछ । मेरो सञ्जाल-सूचीमा एउटा प्रतिष्ठित व्यक्तित्व ससम्मान थपिए ।
त्यस दिनपछि उनले हरेक दिनजसो मेसेन्जरमा राति अबेलासम्म कुरा गर्न थाले । साहित्यिक क्षेत्रमा एक गतिलो मार्गनिर्देशक भेट्टाएकी थिएँ, मेरो भाग्य चुलिएको थियो । उनी मञ्चासिन हुने कार्यक्रमहरूमा मैले कविता सुनाउने अवसर पाउन थालेँ । फलस्वरूप मेरो चर्चा पनि बिस्तारै बढ्दैगयो । उनको सम्बोधन ‘तपाईं’बाट ‘तिमी’ मा झर्न कुनै आइतबारै लागेन । पितासरहको उमेरका मान्छेले ‘तपाईं’ भनिरहँदा मलाई पनि असहज भइरहेको थियो । त्यसमाथि कार्यक्रममा जाँदा-आउँदा उनकै गाडीमा लिफ्टसमेत पाइरहेकी थिएँ मैले ।
तपाईंहरूलाई लाग्ला-केटाहरूको संगतले बारम्बार जोखिम मोल्नुपरेको कुरा यसले भुसुक्कै बिर्सिछे ! यस सम्बन्धमा ‘केटासाथी बनाउने चाहना’ को खासै भूमिका थिएन । केटामान्छेको संगतै गर्दिनँ भनेर जतिसुकै डुक्रिए पनि दाजुभाइ, छोरा-भतिज, काका-बुबा या गुरु-आफन्तहरूलाई नै लैंगिक विभेदको आँखाले हेरूँला त ? जुन सम्बन्धहरूविना जीवन निरस हुन्छ, त्यसैलाई सरस-सहज बनाइदिने पिता-गुरुतुल्य व्यक्तित्वको उपस्थिति अस्वीकार्य कसरी होस् ?
कार्यक्रममा जानुपर्ने दिन म तयार भइदिए पुग्थ्यो, उनी घरअगाडिसम्मै लिन-पुर्याउन आइपुग्थे । ‘अग्रजलाई यतिसम्म दुःख किन दिनु’ जस्तो नलागेको कहाँ हो र ! उनैले ‘मलाई किन दुःख हुन्थ्यो र ! थोरै मैले ठेल्ने हो र यसलाई !’ भनेपछि अतिरिक्त जिद्दी गर्न मन लागेन । उनी अंग्रेजीमा उत्तिकै दख्खल भएका, देश-विदेश प्रशस्तै घुमेका । ‘मानिस स्वतन्त्र प्राणी हो । जीवनलाई बन्धनमुक्त बनाउनुपर्छ, इच्छा-चाहनालाई कुण्ठित पार्नुहुँदैन । जीवन जिउने तरिका विदेशीहरूले जानेका हुन्छन्, नेपालीहरू पुरातन सोचभन्दा माथि आउन सक्दैनन् ।’ यस्तो विचार भाषा मिलाएर उनी अभिव्यक्त गरिरहन्थे ।
म असाध्यै रिसाएँ, लेखक शर्मासँग, जसले पुरुषचरित्रलाई ढाकछोप गर्दै आदर्शयुक्त ‘आइमाई साथी’ निबन्ध लेखी मजस्ती नारीलाई दिग्भ्रमित पारिदिएछन् ! त्यस्तो लेख्नुपूर्व पुरुष-मनोदशातर्फ अलिअलि सङ्केतमात्रै गरिदिएका भए ‘केटासाथी बनाउने’ चाहनाले जन्मै लिँदैनथ्यो वा मैले त्यो कर्म सचेततापूर्वक गर्न पाउँथेँ ।
केटा-केटीसँगै हिँडे-बसेको देख्दैमा शङ्का-उपशंका गर्ने नेपाली समाजमाथि सबैभन्दा बढी खनिन्थे उनी । घोर आपत्ति थियो उनको- समाज र शङ्कालु नजरप्रति । उनका विचार मननयोग्य लाग्थे मलाई पनि । म सानु मान्छे तर्क-वितर्क फितला होलान्, एउटा समुद्रधरी नकटेकी मैले पृथ्वीका सैयौं छेडा घुमिसकेका उनको अगाडि कहाँको वर्णन गर्नु ! उनी गाडी चलाउँदै बोलिरहन्थे म चुपचाप सुनिरहन्थेँ । त्यस दिन कार्यक्रम सकिँदा झमक्क रात पर्यो । मञ्चासिन व्यक्तित्व उनी, कार्यक्रम नसकी हिँड्ने कुरा भएन ! म त झन् उनकै गाडीमा फर्किनुपर्ने !
गाडीमा चढ्दाचढ्दै भने, ‘होइन, आज कति साह्रो राम्री देखिएकी ! म त हेरेको हेर्यै भएँ !‘ उनी जत्तिको ‘ठूलोमान्छे’ ले सायद त्यसभन्दा पहिला मेरो सौन्दर्यको वर्णन गरेका थिएनन् । असहज महसुस गरेँ । बरू सधैँझैँ बयान गर्नु नै नपर्ने देखिएकी भए हुने नि ! गाडी गुडिरहृयो, उनी खोइ केकेजाति बोलिरहे । सिर्फ दुई महिना भयो उनीसँगको चिनापर्ची । छोटो समयमै हृवात्तै बढेको सान्निध्य अकस्मात् असहज लाग्यो । यसबीचमा मेरा कुनै मनोकांक्षा, भावना, अभाव, विचार... अहँ व्यक्त गरेकी थिइनँ । पूरा परिचयसमेत दिन भ्याएकी थिइनँ । उनी भने मलाई ‘पूर्णरूपमा बुझिसकेको’ दाबी गरिरहेका थिए ।
उनको अस्वाभाविक व्यवहारको मात्रा बढ्दै गयो, ‘अब हामी जीवनलाई फूलजस्तो बनाउनुपर्छ । तिमी फूल, म भँमरा बुझ्यौ नि ? यति मीठो बास्नादार फूलमा लुटपुटिन म औधि छट्पटिएको छु । मलाई शान्त गर्न सिर्फ तिमीले सक्छ्यौ ! म नारीको सम्मान गर्ने मान्छे, कहीँकतै सुइँकोसम्म पनि पुग्नेछैन, तिमीलाई कलङ्कित हुन दिनेछैन... !‘
म एउटी सजीव प्राणी, मेरो पनि सास चल्दै छ । सानु होस् या ठूलो मन छ । धेरै नहोला, थोरथोरै सही जीवन भोगेकी-बुझेकी छु । मभित्र पनि स्वतः सिर्जित हुने चाहना होलान्, सानै हुन्- कर्तव्य, जिम्मेवारी अनि बिताउँदै गरेको वर्तमान होला । मेरो शरीरको सम्पूर्ण अधिकार मेरोमात्र हो भन्ने चेतना पनि त होला...! लाग्थ्यो- यस्ता सबैसबै कुरा उनको ‘चेतना’ बाट बिदाबारी भइसके । उनी मलाई उनको गाडीको अघिल्लो सिट ओगटेकी ‘कठपुतली’ देख्दै थिए, जो उनको इशारामा चल्छ । चाहेका बखत उनी त्यसलाई चलाउन, गिजोल्न, सुमसुम्याउन सक्छन्, नचाहे कतै फ्याँकिदिन सक्छन् ।
उनको ध्यान सडकमा भन्दा बढी मेरो शरीरतिर हराउँदै गयो । मेरो हातमाथि हात राख्दै उनले भने, ‘यी हात अरूका कवितामा ताली बजाउन होइनन्, मेरो जीवन सिँगार्न बनेका हुन् ।‘ नारीले काली-महाकालीको रूप लिएर उत्ति नै खेर भष्म गर्दिने शक्तिको परिकल्पना सायद मजस्तै क्रोधको अग्निले भित्रभित्रै जलिरहेकी कुनै नारीको स्वैरकल्पनाको उग्रप्रस्फुटन हुनुपर्छ ! मेरो रौद्र रूपले न त प्रतिष्ठाको पोकोभित्र कुहिएको सोच भएका तिनको हुर्मतै लिन सक्थ्यो न मभित्रको रिसको राग नै शान्त गरिदिन सक्थ्यो ! आफूलाई उनको कब्जाबाट फुत्काएर सकुशल घर पुग्नु नै त्यसबखत ठूलो बहादुरी सम्झिएँ ।
घर पुग्नासाथ पहिलो रिस खन्याएँ-गोत्रको आधारमा मित्र खोज्ने पण्डितमाथि । उत्पातै झोक चल्यो-मौकाको पर्खाइमा रहेको अर्को मित्रको आकृतिमाथि । यहाँ उल्लेख नगरिएका त्यस्तै प्रवृत्तिका केही हनुमानहरूलाई पनि सोही रिसमा घोल्दै, सम्झिँदै गरेँ । एउटा गुरुको भूमिकामा राखेको समेत नबुझ्ने, सबैले पुजे-मानेका ढोँगीमाथि खनियो रिसको झोक्का त्यसपछि । म असाध्यै रिसाएँ-लेखक शर्मासँग, जसले पुरुषचरित्रलाई ढाकछोप गर्दै आदर्शयुक्त ‘आइमाई साथी’ निबन्ध लेखी मजस्ती नारीलाई दिग्भ्रमित पारिदिएछन् ! त्यस्तो लेख्नुपूर्व पुरुष-मनोदशातर्फ अलिअलि संकेतमात्रै गरिदिएका भए ‘केटासाथी बनाउने’ चाहनाले जन्मै लिँदैनथ्यो वा मैले त्यो कर्म सचेततापूर्वक गर्न पाउँथेँ ।
नारीमाथि हुने वा सम्भाव्य अन्याय, अत्याचार, बलात्कार-इत्यादिका विरुद्ध युगौंदेखि लेखिँदै आएका साहित्य, शास्त्रहरूले दिएका चेतनाका साथै सचेतनाका खातिर कदम चाल्दै आएका नारीहरूका बोली नपत्याएकामा पछुताउनुसम्म पछुताएँ । भएभरको रिस चाहिँ आफैँमाथि उठ्यो- एउटा निबन्धको पछाडि लागेर खूब तम्सिएकी थिइस् नि केटासाथी बनाउन ! भेटिस् होइन ? authroranju@gmail.com
संस्मरण घतलाग्दो रहेछ । हो, अधिकांश पुरुषहरु पहिला साथी बन्ने त्यसपछि र जीवनसाथी बन्ने मनसायले केटीलाई साथी बनाएका हुन्छन् । आफ्ना दिदीबहिनी सरह पवित्र भाव राख्ने पुरुष अलि कमा नै भेटिन्छन् । त्यसैले महिलाले केटासाथी बनाउदा सचेत बन्नुपर्ने हुन्छ ।