एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि फल्छः प्रचण्ड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताउनुभएको हो । उहाँले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाइृ पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हो भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादी बाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रमपनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधि सभाको रोष्टमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डो¥याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

तिन वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्न सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ।’

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गर्नुभयो । उहाँले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहुन भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताउनु भयो । उहाँले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताउनु भयो । उहाँले आफूबिना कसैलेपनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबैतिर एउटै चेतनाको बिस्तार भएको छ । माओवादी सबै एकै ठाउँमा हुनुपर्छ । यो सबैतिर छ, कसैले थेग्न सक्दैन । एकता अपरिहार्य छ । यो जनताको माग हो । जनताको मागलाई अन्देखा र अनसुनी गर्नुहुँदैन । कोही नेताहरुलाई फेरि प्रचण्डकोमा नै जाने भन्ने लाज लाग्न सक्ला । लजाउनु पर्दैन ।

यो दबाब जनताले दिएका छन् । त्यसैले सबैले आत्मसमीक्षा गरौँ, एकपटक हामी एकै ठाउँमा उभियौँ मात्रे भने भौतिक शक्तिमा परिवर्तन हुन्छ, कसैले त्यो शक्तिलाई रोक्नै सक्दैन । यथार्थ त्यही नै हो कसैलाई मीठो नलाग्न पनि सक्छ । माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न प्रचण्ड बिना सम्भव छैन । मेरा थुप्रै कमीहरु भएपनि यथार्थ आजपनि त्यही नै हो ।’

अध्यक्ष दाहालले आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको बताउनु भयो । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिम्मेवारी दिन सोच्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?