धरान । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा कायमै राख्नुभएको छ । शुक्रबार उहाँले १-ओभर ७१ स्कोर गर्दा समग्रमा २-अन्डर १३८ सहित नीरज तामाङलाई एक स्ट्रोकले पछि पार्नुभयो ।
धरान गल्फ क्लबमा जारी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शुक्रलाई कडा चुनौती दिँदै नीरजले १-ओभर ७१ मा दोस्रो दिनको खेल सकाउँदा समग्रमा १-अण्डर १३९ स्कोर गर्नुभएको छ । पूर्वनम्बर एक प्रो भुवन नगरकोटीले २-ओभर ७२ सहित समग्रमा २-ओभर १४२ को स्कोर तयार पार्नुभयो । यो स्कोरमा उहाँ तेस्रो स्थानमा उक्लिनुभयो । उहाँले एमेच्योर गल्फर युवराज भुजेलसँग तेस्रो स्थान बाँड्नुभएको छ ।
समग्रमा ४-ओभर १४४ को स्कोरमा रवि खड्का, राजेन राई र भुवनकुमार रोक्काले संयुक्तरूपमा चौथो स्थान बाँड्नुभयो । तीनै खेलाडीले आज १-अन्डर ६९ को स्कोर कार्ड बनाउनुभयो । समग्रमा ६-ओभर १४६ सहित धनबहादुर थापा र रामे मगर संयुक्तरूपमा सातौं स्थानमा रहनुभयो । धनले आज २-ओभर ७२ र रामेले ५-ओभर ७५ मा खेल सकाउनुभयो ।
सञ्जय लामा, सूर्यप्रसाद शर्मा र दीपक मगरले समग्रमा ७-ओभर १४७ स्कोर गर्दा संयुक्तरूपमा नवौं स्थानमा रहनुभएको छ । सञ्जय र सूर्यले २-ओभर ७२ मा खेला सकाउँदा दीपकले ४-ओभर ७४ को नतिजा निकाल्नुभयो । ३६ होलको समाप्तीमा १४-ओभर १५४ स्कोर गर्ने २१ प्रो र ५ एमेच्योरले कट बनाउँदै अन्तिम १८ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गर्नुभएको छ । प्रोहरू देउराज पाख्रीन, सविन सापकोटा, दिनेश प्रजापति, बलभद्र राई, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, रमेश अधिकारी, पशुपति शर्मा, दलबहादुर लामा र सुमन सापकोटाले कट बनाउनुभएको छ ।
एमेच्योरतर्फ युवराज भुजेल शीर्षस्थानमा रहनुभएको छ । उहाँले ३-ओभर ७३ मा खेल सकाउनुभए पनि समग्रमा २-ओभर १४२ को स्कोरमा गजेन्द्र गुरूङलाई ३ स्ट्रोकले पछि पार्नुभयो । समग्रमा ५-ओभर १४५ स्कोर गरेका गजेन्द्रले दोस्रो दिनको खेल १-ओभर ७१ मा पुरा गर्नुभयो । समग्रमा १-ओभर १४६ सहित सुन्दर राई तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले १-अण्डर ६९ को स्कोर दर्ज गर्नुभयो यस्तै पदम हाङ र सुमन परियारले पनि कट बनाउनुभएको थियो ।
यो सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेका शुक्रले दोस्रो दिनको सुरुवात राम्रो गर्नुभयो । फ्रण्ट नाइन २-अण्डर ३४ मा पूरा गर्नुभयो । फ्रण्ट नाइनमा उनले चार बर्डीको सफलता प्राप्त गरे । तेस्रो होलमा एक सट बचाउनुभएको उहाँले पाँचांैदेखि सातौं होलसम्म लगातार ३ बर्डी प्रहार गर्नुभयो । चौथो र नवौं होलमा भने एक-एक सट खेर फाल्नुभयो । यसपछि ब्याक नाइनमा शुक्रले खराब प्रदर्शन गर्नुभयो । १०औं, १४औं र १७औं होलमा बोगी खेप्दा ब्याक नाइन ३–ओभर ३७ मा पूरा गर्न बाध्य हुनुभयो । ब्याक नाइनको यही खराब प्रदर्शनमा शुक्रले नीरज तामाङविरुद्ध अग्रता बढाउन सक्नुभएन ।
नीरजले भने फ्रण्ट नाइनमा खेल बिगार्नुभयो । बोगीबाट दिनको सुरुवात गर्नुभयो । यसपछि दोस्रो र छैटौं होलमा बर्डी प्रहार पनि गर्नुभयो । तर, चौथो होलको डबल बोगी र सातौं होलको बोगीले फ्रण्ट नाइन २-ओभर ३८ मा पूरा गर्नुभयो । ११औं होलमा डबल बोगीको सामना गर्नुभयो । तर, यसपछि भने नीरज सम्हालिनुभयो । १२औं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन १-अण्डर ३३ मा सकाउनुभयो ।
भुवनले फ्रण्ट नाइन इभन–पार ३६ मा पूरा गर्नुभयो । दोस्रो र छैटौं होलको बोगीकाविरुद्ध पाँचौं र आठौं होलमा बर्डी प्रहार गर्नुभयो । ब्याक नाइनमा भने १०औं, ११औं र १४औं होलमा एक–एक सट खेर फाल्दा १२औं होलमा बर्डी प्रहार गर्नुभयो । ब्याक नाइन २-ओभर ३६ मा सकाउनुभयो ।
कूल आठ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच