टीकापुरको कैलालीमा बाबा गगनसिंह परियार र माता मथुरा परियारको कोखबाट जन्मिनुभएका बलराम परियार काठमाडौंमा रहेर गीत संगीतमा आफूलाई तल्लीन बनाउँदै आउनुभएको छ । सानैदेखि गीत संगीतमा लगाव राख्नुहुने उहाँ विगत तीन वर्षदेखि यो क्षेत्रमा सक्रियरूपमा लाग्नुभएको छ । सिक्दै बुझ्दै यो क्षेत्रमा हेलिँदै गएको बताउनुहुने बलराम ‘भ्वाइस अफ’ चिल्ड्रेनबाट पनि म यसतर्फ आकर्षित हुनुभएको थियो । अनौपचारिकरूपमा धेरै गीत गाउनुभएका उहाँको औपचारिक पहिलो गीत ‘पानी खाने अमखोरा’ रहेको थियो । यसमा उहाँलाई स्वरमा एलिना चौहानले साथ दिनुभएको थियो । बलरामको स्वरमा रहेका एक दर्जनजति गीत श्रोता/दर्शकमाझ आएका छन् । हालै सिंगापुर, मलेसिया र थाइल्याण्डमा भएको सांगीतिक कार्यक्रम अवार्ड समारोहमा भाग लिनुभएका उहाँले त्यो अवार्ड समारोहमा ‘मानव’ गीतमार्फत् अवार्ड पनि चुम्न सफल हुनुभएको थियो । उहाँको स्वरमा रहेका गीत ‘सुनको दरबार’, ‘जान्छु ल खै त हाँसेको’, ‘हामी सबै नेपाली हो’ लगायतका श्रोता/दर्शकको रोजाइमा छन् । केही गीत उहाँले संयुक्तरूपमा गाउनुभएको छ भने केही एकल स्वरमा छन् । केही अन्य गीत पनि श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहनुभएका उहाँको ‘चल्दैन यो जीवन’ छिट्टै नै आउने क्रममा रहेको छ । रियाज गर्नु, गीत गाउनु, स्टेज कार्यक्रममा हिँड्नु नै आफ्नो जीवन बताउनुहुने गायक बलराम परियारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुुहन्छ ?
गीत संगीतमा संलग्न भएका हुनाले यसैसँग सम्बन्धित काममा नै आफूलाई व्यस्त राख्दै आएको छु । हालै सिंगापुर, मलेसिया र थाइल्याण्डमा सांगीतिक कार्यक्रम अवार्ड समारोह थियो त्यसमा संलग्न भएर आएको छु । यहाँ आएपछि फेरि पुनः आफ्नो दैनिक कर्ममा रहेको छु । रियाज गर्नु, गीत गाउनु, स्टेज कार्यक्रममा हिँड्नु नै मेरो जीवन हो जस्तो लाग्छ ।
त्यो अवार्ड समारोहमा यहाँले अवार्ड पनि प्राप्त गर्नुभयो होइन ?
हो, त्यो अवार्ड समारोहमा आदरणीय कर्णबहादुर गुरुङ दाइको शब्द र सिडी विजय अधिकारीको संगीतमा रहेको गीत नवगायकको अवार्ड प्राप्त गरेको छु ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको लगाव थियो यो क्षेत्रमा । सानैदेखिको मोह थियो । त्यसैले मलाई यता तान्यो । सिक्दै बुझ्दै यो क्षेत्रमा हेलिँदै गएँ । ‘भ्वाइस अफ’ चिल्ड्रेनबाट पनि म यसतर्फ आकर्षित हुँदै गएँ ।
कसैसँग सिक्नु पनि भयो कि ?
नवीन के तिमिल्सिनाबाट सुरुमा अनौपचारिकरूपमा सिकेको थिएँ । पछि कैलाली गएर स्व. जयसिंह विश्वकर्मासँग सिकँे । पछि काठमाडौंमा नै चण्डीप्रसाद गुरु, प्रेम परियार, मण्डल साङपाङसँग सिके ।
कस्ता गीत गाउन मनपर्छ ?
मेरो जनरा आधुनिक हो । आधुनिक गीत मनपर्छ । तर, सबै प्रकारका गीत गाएको छु र उत्तिकै न्याय गर्न सक्छु सबै गीतमा भन्ने लाग्छ ।
कस्तो पाउनुभयो यो क्षेत्र ?
नयाँ-नयाँलाई धेरै गाह्रो हुँदोरहेछ । कतिले डमी गीत गाउन लगाउने, गाएको पैसा नदिने हुँदोरहेछ । विस्तारै सिक्दै बुझ्दै जाँदै छु । तर, साथीभाइ, अग्रज दाजुहरूबाट सहयोग पनि पाएको छु ।
नयाँ कुन गीत आउँदै छ ?
केही गीतको तयारी भइरहेको छ । तत्कालै आउन लागेको गीतचाहिँ ‘चल्दैन यो जीवन’ रहेको छ ।
अहिलेसम्म यहाँका कतिजति गीत श्रोता/दर्शकमाझ आएका छन् ?
मेरा अहिलेसम्म एक दर्जनजति गीत श्रोता/दर्शकमाझ आएका छन् । केही आउनेक्रममा छन् ।
यहाँको पहिलो गीत कुन थियो ?
मेरो पहिलो गीत ‘पानी खाने अमखोरा’ थियो । यसमा मलाई स्वरमा एलिना चौहानले साथ दिनुभएको थियो ।
यहाँका अन्य केही गीतको नाम लिनुपर्दा ?
‘सुनको दरबार’, ‘मानव’, ‘जान्छु ल खै त हाँसेको’, ‘हामी सबै नेपाली हो’ लगायतका रहेका छन् । केही गीत संयुक्त छन् भने मानवमा मेरो एकल स्वर छ । यही गीतले अवार्ड पनि दिलायो । धेरैले मन पराइदिनुभएको छ । सबै गीतले श्रोता/दर्शकको साथ पाएका छन् खुसी छु । ‘सुनको दरबार’ गीतले सर्वोत्कृष्ट नवगायकको अवार्ड प्राप्त गरेको थियो । जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करणमा ‘सुनको दरबार’ गीतबाट मैले नवगायकको उपाधि पाएको थिएँ ।
यो क्षेत्रमा नआएको भए के हुनुहुन्थ्यो होला ?
सायद म पत्रकारितामा हुन्थेँ होला । मैले पत्रकारिता पढेको पनि हो । केही समय रेडियो एफएममा पनि काम गरेँ ।
जीवन र संगीतलाई कसरी बुझ्ने ?
मलाई के लाग्छ भने जीवन र संगीत एकअर्काका परिपूरक हुन् । जीवन भनेकै संगीत हो र संगीत भनेकै जीवन हो । संसारमा गीत संगीत मन नपर्ने को नै हुन्छ होला र ?
अन्त्यमा ?
विभिन्न दुःख अप्ठ्याराहरूलाई पन्छयाउँदै अघि बढिरहेको छु । मैले आफूलाई गायनमा पूर्णरूपमा समर्पित गरेको छु । सबैको साथ सहयोगका लागि आभारी छु । मेरा हरेक अभाव र चुनौतीहरूमा विगत लामो समयदेखि निरन्तर बलियो पिलर बनेर साथ, सहयोग, माया, आशीर्वाद आफ्नोपन र मनसँग अनुबन्धित हुनुहुने पूजनीय भवानी कँडेल पाण्डे दिदी र आत्मीय मिज्जु सुजन बाबु गुरूङप्रति सदासर्वदा ऋणी एवं आभारी छु । सायद उहाँहरू नभएको भए मैले यो गन्तव्यसम्म जाने बाटो नै भेट्टाउने थिइनँ होला । नेपाली गीत संगीतलाई माया गरौँ । हाम्रो गीत संगीतको समृद्धिको मार्गलाई अझ फराकिलो बनाऔँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच