काठमाडौं । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुग्नुभएका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताउनुभएको छ ।
मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रुपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो । तर ढुंगानालाई कार्यक्रम संसद भवनमा हुने भन्ठानेर नयाँ बानेश्वर पुग्नुभयो । नयाँ बानेश्वर पुगेपछि प्रहरीले उहाँलाई भित्र छिर्न नदिएर यो र त्यो गेटमा जानुस् भनेर फनफनी घुमाएको बताउनु भयो । उहाँले प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउँदिन भन्ने आफूलाई महशुुस भएको बताउनु भयो । उहाँले अघिल्लो पटक संसद विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको पनि कार्यक्रममा उहाँले जानकारी गराउनु भयो ।
उहाँले तेस्रो पटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताउनु भयो । सिंहदरबारस्थित कार्यक्रममा पुगेर सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो – ‘मलाई अलिकति त्रास पनि छ । के भने यो धमला बैनीले बनाएको (कल्पना धमला) पहिलो कार्यक्रममा संसद विघटन हुँदाखेरी बाबुरामजी पनि बोल्नुभएको थियो । मैले केही भनेँ ममाथि अदालतको अपहेलनाको मुद्दा लाग्यो । अहिलेसम्म पनि म तारिखमै छु । त्यो बेला त तारिखमै बसियो । यसपालि त संसदमा अघि नै उता माथि पुगेछु । त्यहाँ यता दुई नम्बर गेटमा जा भन्छ । तीन नम्बर गेटमा जा भन्छ । प्रहरीले घेरेको घेरेकै छन् । त्यहाँबाट निस्किन पाउँछु कि पाउँदिन यसपाली त पक्राउ नै परेँ कि जस्तो पनि भयो मलाई । किनकी म भुलेछु उता भन्ठानेछु नानीले पनि भनिनन् । कतिबेरसम्म यताबाट गेटमा जान्छु आर्मीले यता पनि होइन भन्छ, उता पनि होइन भन्छ । प्रवेश नै पाइनँ मैले । पहिले त म मुद्दामा मात्रै परेँ । यसपालि त पक्राउ नै परेँ जस्तो लाग्यो मलाई । अब तेस्रोचोटी के हुन्छ ? थाहा छैन ।’
सोमवार(हिजो) प्रतिनिधि सभा बैठक चलिरहेको बेलामा लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेर नाराबाजी गरेसँगै संघीय संसद भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद भवन परिसर बाहिरको सडक पेटीमा समेत तारबार गरेर निषेधित क्षेत्र तोकिएको छ ।
कार्यक्रम आयोजक संस्था सभासद मञ्च नेपालकी अध्यक्ष कल्पना धमलाले पूर्वसभामुख जस्तो व्यक्तिलाई समेत सिंहदरबार (पूर्व सभामुखलाई छिर्न नदिइएको स्थान भने संसद भवन नयाँ बानेश्वर हो) छिर्न गाह्रो परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पूर्वसभामुख तथा संविधान सभा सदस्य र सांसदहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच