चैनपुर ट्रयाक्टर दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

हिमालय टाइम्स
Read Time = 2 mins

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-१० मा भएको ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ नंम्बरकाे ट्रयाक्टर पल्टिएर खाँदबारी-लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चैनपुर नगरपालिका-१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका-९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सवारी चालक चैनपुर-१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरीचौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरको ‘लोडपिन’ अचानक भाँचिन गई रोडको बायाँतर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?