काठमाडौं । भारतको केएल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । काठमाडौंस्थित इन्फरम्याटिक्स कन्सल्टेन्सीको समन्वयमा शुक्रबार पत्रकार सम्मेलन गरेर केएल युनिभर्सिटीका प्रतिनिधिहरूले उक्त घोषणा गरेका हुन् । उनीहरूले शैक्षिक उत्कृष्टता र विश्वव्यापी सहकार्य युनिभर्सिटीको प्राथमिकता रहेको भन्दै नेपाली विद्यार्थीका लागि पनि अवसर सिर्जना गरिएको बताए । इन्फरम्याटिक्स कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रमान जोशीले नेपाली विद्यार्थीका लागि केएल युनिभर्सिटीले एउटा सुनौलो अवसर लिएर आएको बताउनुभयो । विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि केएल युनिभर्सिटी एउटा उपयुक्त गन्तव्य बन्न सक्ने उहाँको भनाइ थियो ।
त्यसैगरी युनिभर्सिटीका एड्मिसन डाइरेक्टर डा. जे श्रीनिवास रावले युनिभर्सिटीको पछिल्ला उपलब्धि, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध अवसरबारे जानकारी गराउनुभयो । विद्यार्थीलाई भौतिक र अनलाइन दुवै माध्यमबाट अध्ययन गर्न सक्ने व्यवस्था गरिएकाले हालसम्म धेरैै नेपाली विद्यार्थीले केएलबाट अन्तर्राष्ट्रियस्तरको डिग्री हासिल गरिसकेको उहाँको भनाइ थियो ।
युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्ध र मेडिकल हेल्थ साइन्सेजका डिन डा. किशोरबाबु एमले अन्तर्राष्ट्रिय शिक्षाप्रति विश्वविद्यालयको दृष्टिकोण, शैक्षिक कार्यक्रम विस्तार र केएललाई उच्च शिक्षाका लागि छनोट गर्ने विद्यार्थीले प्राप्त गर्ने लाभबारेमा चर्चा गर्नुभएको थियो ।
उहाँले दुई अलग देश भए पनि भारतीय र नेपाली विद्यार्थीलाई समान शुल्क निर्धारण गरिएको बताउनुभयो । त्यसैगरी केएल युनिभर्सिटीका नेपाल कन्ट्री हेड शिव न्यौपानेले दक्षिण भारतमा पहिलो नम्बरमा रहेको केएल युनिभर्सिटी भारतको शैक्षिक क्षेत्रमा २८औँ स्थानमा रहेको बताउनुभयो । हैदरावाद र विजयवडामा रहेको युनिभर्सिटीमा सन् २००५ देखि नै नेपाली विद्यार्थी जाने गरेको र हालसम्म पाँच सयभन्दा बढी नेपाली विद्यार्थी पासआउट भइसकेको उहाँको भनाइ थियो । सस्तो शुल्कमा गुणस्तरीय शिक्षाका लागि केएलले ख्याति कमाएको दाबी गर्दै न्यौपानेले चार-पाँच लाखमै इञ्जिनियरिङ प्याकेज पढ्न पाइने बताउनुभयो । प्रोफेसर डा. शंमुक कुमारले छात्रवृत्ति कार्यक्रमका माध्यमबाट विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता रहेको बताउनुभएको थियो ।
सन् १९८० मा इञ्जिनियरिङ अध्ययनका लागि केएल युनिभर्सिटीको स्थापना गरिएको भए पनि हाल इञ्जिनियरिङका साथै व्यवस्थापन, कानुन, कला, विज्ञान प्रविधिलगायतका कोर्ष सञ्चालन गर्दै बहुसांस्कृतिक वातावरणसाथ विश्वभरका विद्यार्थीलाई आकर्षित गरेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच