मानव बेचबिखन आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 8 mins

झापा । जनमत पार्टीका केन्द्रीय सदस्य बुद्धिराज न्यौपाने पक्राउ परेका छन् । सो पार्टीको केन्द्रीय प्रशासन विभाग प्रमुखसमेत रहेका न्यौपाने मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हुन् ।

न्यौपाने तीनदिन अघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ परेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रले बताउनुभयो । न्यौपाने पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए ।

न्यौपाने विरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता समेत रहनु भएको मिश्रले जानकारी दिनुभयो । झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्यौपाने कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्ति हुन् ।

राजनीतिमा अवसरको निरन्तर उपयोगमा सक्रिय रहने स्वाभावका कारण न्यौपाने कांग्रेस नेतासँग राम्रै पहुँच बनाएका व्यक्ति हुन् । यद्यपि, उनी कांग्रेससँगै रुष्ट भएर जनमत पार्टीमा लागेका हुन् ।

आकर्षक तलब तथा ग्रीनकार्डको प्रलोभन देखाएर एक महिलालाई मौरिसस पुर्‍याएको आरोप न्यौपाने माथि छ । आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई मासिक ७० हजार कमाई हुने भन्दै न्यौपानेले ती महिलालाई मोरिसस पठाएका थिए ।

केही समयमै ग्रीनकार्ड मिल्ने आश्वासन दिएका न्यौपानेले ती महिलाबाट २ लाख ५० हजार रुपैयाँ असुलेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले नाम गोप्य राखेकाे छ । ती महिलालाई नेपालबाट भारतको नयाँदिल्ली हुँदै २०८० माघ १३ गते न्यौपानेले मौरिसस पठाएका थिए ।

पूर्वयोजना अनुसार ती महिलालाई त्यहाँको विमानस्थलमा मौरिससका पुरुष नागरिक लिन आएका थिए । विमानस्थलबाट लिएर गएपछि ती मौरिसस नागरिकले चरम यौन र श्रमशोषण गरेको आरोप छ ।

न्यौपानेमार्फत आफूले किनेर ल्याएको भन्दै ती मौरिसस नागरिकले दैनिक १८ घण्टासम्म काममा लगाउने गरेका थिए । ती मौरिसस नागरिकले आफ्नो वशमा राक्न थालेपछि महिलाले लुकिछिपी उद्दारको अपिल गरेकी थिइन् ।

चरम यौन तथा श्रमशोषण भएपछि ती महिला मौरिसस नागरिकको घरबाट फरार भएकी थिइन् । नेपाली नागरिकको सहायतामा पोर्चुगल पुगेकी उनी गत असार २० गते स्वदेश फर्किएकी थिइन् ।

त्यसपछि उनले न्यौपाने विरुद्ध ब्यूरोमा निवेदन दिएकी थिइन् । महिलाको निवेदनको आधारमा न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता मिश्रले जनाउनुभयो ।

न्यौपानेको विगत :-

जनमत पार्टीको केन्द्रीय सदस्य तथा प्रशासन विभाग प्रमुख समेत रहेका न्यौपाने सो पार्टीकी अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा अवैतनिक सल्लाहकार भएका थिए ।

सल्लाहकार हुँदा न्यौपाने निकै चर्चामा आएका व्यक्ति हुन् । ‘मन्त्रीको सल्लाहकार हुँ भन्दै’ जाम हटाउन प्रहरीलाई फोन गरेको उनको भिडियो भाइरल भएको थियो । भिडियो भाइरल बनेसँगै न्यौपाने विवादमा तानिएका थिए ।

न्यौपाने २०८० जेठ २६ गतेसम्म नेपाली कांग्रेसमा सक्रिय थिए । कमल गाउँपालिकामा लाभको पद नपाएपछि उनी कांग्रेस परित्याग गरी जनमत पार्टी प्रवेश गरेका थिए ।

कांग्रेस झापा सभापति देउमान थेवेलाई इमेलमार्फत पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका थिए । कांग्रेसबाट राजीनामा दिएको भोलिपल्ट न्यौपाने जनमत पार्टीमा प्रवेश गरेका थिए ।

न्यौपानेले २०४३ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए। कांग्रेस परित्याग गर्दाको बखत न्यौपाने गिरिजाप्रसाद कोइराला फाउण्डेसन झापा जिल्ला अध्यक्ष थिए । युवराज दाहाल नेविसंघ झापाको सभापति हुँदा २०५१ / ०५२ सालमा न्यौपाने नेविसंघ झापा कोषाध्यक्ष थिए । उनी त्यसपछि नेविसंघ झापाको सभापति हुने दाउमा थिए ।

न्यौपानेले संगठनको आडमा व्यक्तिगत लाभ र विधान विपरीत कार्य गर्न सक्ने आँकलन गरेर नेता विश्वप्रकाश शर्माले न्यौपानेलाई सभापति नबनाई पर्शुराम रिजाललाई नेविसंघ झापा सभापति बनाउनु भएको थियो । त्यसपछि न्यौपाने वर्तमान कांग्रेस महामन्त्री शर्मासँग रुष्ट भएर नेता कृष्णप्रसाद सिटौलासँग नजिकिएका थिए । नेता सिटौलालाई रिजाएर न्यौपानेले उहाँ गृहमन्त्री हुँदा सहायक स्वकीय सचिवको जिम्मेवारी पाएका थिए । त्यसबेला न्यौपानेले राजनीतिक प्रभाव बढाएका थिए ।

न्यौपाने माओवादी युद्धकालमा तत्कालीन समयमा कांग्रेस तोपगाछी गाउँ समितिको पार्टी सभापतिसमेत भएका थिए । त्यसबेला उनी विदेश विस्थापित समेत भएका थिए ।

नेता शर्मासँग पहिला नै राजनीतिक सम्बन्ध बिग्रेको र नेता सिटौलाले पनि न्यौपानेलाई च्याप्ने अवस्थ सकिएपछि डा. शेखर कोइराला समूहमा लागेका थिए । नेता कोइरालालाले चासो नदिएपछि न्यौपाने गत संघीय संसदको निर्वाचनमा सुजाता कोइरालासँग नजिकिएका थिए ।

सुजतालाई रिजाउन संघीय र प्रदेशसभा निर्वाचनमा झापा छोडेर मोरङ गएका थिए । त्यसबेला न्यौपाने उतै बसेपछि झापा कांग्रेसमा कारबाहीको माग गरिएको थियो । तर कांग्रेसमा नेता विशेष रुझाएर न्यौपाने कारबाहीबाट जोगिदै आएका थिए ।

स्थानीय पार्टी पंक्ति रुष्ट भएपछि अवसर नपाउने पक्का भएपछि उनी जनमत पार्टीमा लागेका थिए । राजनीति रूपमा अस्थिर, लाभ र चर्चामा रहन रुचाउने र नेतालाई छिट्टै प्रभावमा पर्ने न्यौपाने जनमत पार्टीमा पनि चर्चामा नै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?