काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोमा परी दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसेको झण्डै साढे दुई महिनापछि उस्तै प्रकृतिको अर्को भयानक दुर्घटना भएको छ । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलताल क्षेत्रभन्दा करिब सवा सय किलोमिटर वर धादिङको झ्याप्ले खोलामा शनिबार राति तीनवटा बस पुरिएका हुन् । सशस्त्र प्रहरी बल, नेपालका अनुसार एउटा बस र दुईवटा माइक्रोबस पहिरोमा पुरिएको अवस्थामा भेटिएका छन् । तीनवटा गाडी पुरिएको ठाउँबाट आइतबार ३५ जनाको शव निकालिएको छ ।
चितवनबाट काठमाडौं आएको माइक्रोबसबाट आइतबार बिहान १३ जनाको शव निकालिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा३ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको थियो । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको यात्रुवाहक बस पनि पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट आठ जनाको शव निकालिएको उहाँले बताउनुभयो । त्यसैगरी, बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको डिएसपी थापाले जानकारी दिनुभयो । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उहाँको भनाइ छ ।
यसअघि गत असार २८ गते राति सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोमा बगेर दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसेका थिए । दुई बसमध्ये एउटा बसका तीनजना यात्रु नदीमा पुगे पनि आफैँ पौडेर ज्यान जोगाए पनि दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए । केहीको शव फेला परे पनि दुईवटै बस र बेपत्ता बाँकी यात्रु अझै फेला परेका छैनन् । गुगल म्यापअनुसार साढे दुई महिनाअघि पहिरो गएको सिमलताल र अहिले पहिरो गएको झ्याप्ले खोलाबीचको दूरी सवा सय किलोमिटर छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड संघीय राजधानी काठमाडौं र गण्डकी प्रदेशलाई तराईसँग जोड्ने नेपालको मुख्य सडक हो । चितवनको नारायणगढ बजारदेखि मुग्लिनसम्म नारायणी तथा त्यसपछि त्रिशुली नदीको किनारै किनार सडक बनेको छ । दुई ठूला नदीको किनारमा निर्मित सडकमा नदीको उच्च बहावले सडकलाई तलतिरबाट काट्दै जाँदा राजमार्गका धेरै स्थानमा सडक भासिने गरेको छ । यसैगरी नदीको किनारै किनार भएर जाने सडकमा पर्ने खोला, खोल्सीको जलवहाव क्षेत्र पनि निकै फराकिलो भएको हुँदा सामान्य वर्षा हुँदा पनि स-साना खोला, खोल्सीहरूमा समेत सहजै बाढी आउने गरेको छ । बेला–बेला हुने भारी वर्षाले माथिबाट आउने बाढी, पहिरो, लेदो, गेग्रान, डेब्रिज पनि ठूलै परिमाणको हुने गर्दछ ।
विपद्बाट डेढ सय जनाको मृत्यु, ५५ बेपत्ता
बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । आइतबार राति अबेरसम्मको विवरणअनुसार मृतकको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी अझै ५५ जना बेपत्ता छन् । हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको र १०१ जना घाइते रहेका प्रहरीले जनाएको छ । विपद्मा परी ज्यान गुमाउनेमा सबैभन्दा धेरै काठमाडौं उपत्यकाका छन् । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६८ जनाले ज्यान गुमाएका छन् । उपत्यकाबाहेक बागमती प्रदेशमा ४५ जनाले ज्यान गुमाएका छन् । यसैगरी, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । विपद्का घटनामा परेर ६१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म मुलुकभरबाट तीन हजार ६२६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाले बढी जोखिममा फसेका नागरिकहरूको उद्धारका लागि दुई दिनदेखि हवाई उद्धार गरिरहेको छ । विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरू परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेहरूको उपचारका लागि अस्पताल पुर्याउनेलगायत कार्यमा सुरक्षाकर्मीहरू सक्रिय भएर लागिपरेको उहाँको भनाइ छ ।
आवश्यक पूर्वतयारी नगरेको भन्दै कांग्रेसको असन्तुष्टि
सत्तारूढ नेपाली कांग्रेसले प्राकृतिक विपद्सँग जुध्न सरकारले आवश्यक पूर्वतयारी नगरेको भन्दै असन्तुष्टि जनाएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै नेताहरूले प्राकृतिक विपद्सँग जुध्न सरकारले आवश्यक पूर्वतयारी नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । कांग्रेसले प्राकृतिक विपद्सँग सम्बन्धित विषयमा गर्नुपर्ने उद्धार, राहतलगायत कामबारे सरकारको ध्यानाकर्षण पनि गराएको छ । बैठकपछि कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले सार्वजनिक गरेको निर्णयमा हालैको प्राकृतिक विपद्पछि सरकारले गर्नुपर्ने विभिन्न कामबारे ध्यानाकर्षण गराउने उल्लेख छ । ‘नियमित रूपले झेल्नुपरेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्वतयारी र उद्धारमा अझै तीव्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ । अतः तीनै तहको सरकारले निभाउनुपर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने स्रोत साधनको पर्याप्त जोहो गर्न बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ,’ कांग्रेसका निर्णयमा उल्लेख छ,’ निर्णयमा भनिएको छ । प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त विद्युत्, खानेपानी, सञ्चार लगायतका सेवा सघन रूपले परिचालन गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अवरुद्ध सडकहरूको मर्मत सम्भारको कार्य तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरी बेलिब्रिज जडान गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
विपद् कोषमा ५० लाख जम्मा गर्ने
कांग्रेसले बाढीपहिरो पीडितहरूको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट प्रदान गरिने रकममा सबै सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने निर्णय पनि भएको छ । नेता महतका अनुसार एकमहिने अभियानका लागि विभिन्न जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई राहत, उद्धारमा खट्न र कोजाग्रत पूर्णिमा सम्मका सबै कार्यक्रम स्थगित गर्दै सो दिन पार्टीले विभिन्न चाडपर्व लक्षित चियापान कार्यक्रमसमेत नगर्ने निर्णय गरेको छ ।
राहत र उद्धारमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन
सत्तारूढ नेकपा (एमाले) ले बाढी, पहिरो प्रभावित क्षेत्र तथा जिल्लामा आगामी तीन दिनसम्म पूर्वनिर्धारित शुभकामना र चियापान जस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ । आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पूर्व-निर्धारित सबै काम स्थगित गरेर विपद्मा परेका नागरिकको राहत र उद्धारमा सक्रिय हुन निर्देशन दिएको हो । एमाले विपद् व्यवस्थापन विभागका प्रमुख खिमलाल भट्टराईका अनुसार बैठकले असोज १४ देखि १६ गते सम्मलाई शुभकामना र चियापान जस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ । बैठकले वर्षाबाट उत्पन्न विषम् परिस्थितिमा जनतामाथि परेको पीडामा सहयोगी बन्ने सरकार, राजनीतिक दल, विभिन्न संघ संस्थालाई धन्यवाद दिँदै बाढीबाट प्रभावित भएको केन्द्रीय कार्यालयको सरसफाइ पनि पार्टी कार्यकर्ताको सहयोगमा गर्ने निर्णय गरेको छ ।
दुई दिनको पानीले दुई तिहाइको औकात देखाइदियो : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनको पानीले दुईतिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ । आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले जोखिम छ भन्ने पूर्वसूचना हुँदा पनि सरकारले संवेदनाहीनता, अक्षमता र अकर्मण्यता देखाएको ठहर गरेको हो । मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका नदेखिने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो । ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’, झाले भन्नुभयो, ‘दुई दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’ सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र रहेको उहाँको टिप्पणी छ । रवि, रास्वपा पार्टी र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको उहाँले बताउनुभयो । ‘अहिलेको राजनीति रवि, रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र विपद्मा आवश्यक परेको बेला सरकार चुकेको देखियो, उहाँले भन्नुभयो, ‘सत्तारूढ दल नेपाली कांग्रेसको बैठकले सरकार चुकेको निर्णय निकालिसक्यो भने हामीले सरकारले कसरी काम गरेको भन्न सक्छौँ र ?’
बाढी प्रभावितलाई उचित राहत दिन पूर्वराजाको आग्रह
पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो प्रभावितहरूलाई उचित राहत दिनुपर्नेमा जोड दिनुभएको छ । आइतबार विज्ञप्ति जारी गर्दै शाहले भारी वर्षा हुनसक्छ भन्ने पूर्वसूचना हुँदाहुँदै अग्रिम तत्परता एवं पूर्व-प्रतिकार्य नभएका कारण मानवीय र भौतिक क्षति भएका बताउनुभएको छ । उहाँले मृतकको परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेको उपचार हुनुपर्नेमा जोड दिनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ ।’
सरकारले सबै सामथ्र्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सबै सामथ्र्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनुभएको छ । नेपालमा विपद्ले बबण्डर गरेपछि चीन भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएको भन्दै सरकारले सबै सामथ्र्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनुभएको हो । अहिलेको परिस्थितिलाई सबै एकजुट भई सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन उहाँले सबैलाई आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा असोज ७ गते चीन जानुभएको थियो ।
काभ्रेमा व्यापक जनधनको क्षति
अविरल वर्षापछिको बाढी-पहिरोमा परेर काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । बाढी-पहिरोमा परेर ४२ जना घाइते भएका छन् । अझै १९ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेका सबैजसो पालिकामा बाढी-पहिरोले क्षति गरेको छ । सबैभन्दा धेरै क्षति पनौती, रोशी र तेमालमा भएको छ । पनौती नगरपालिकामा पाँच जनाको शव फेला परेको छ भने १२ जनाको खोजी कार्य भइरहेको छ । नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । रोशीको बजार क्षेत्र रोशी खोलाले बगाएको छ । नगरपालिकाभित्र तीन सयभन्दा बढी घरमा बाढी र पहिरोका कारण क्षति पुगेको छ । पशु चौपायाको कति क्षति भयो ? भन्ने यकिन विवरण सार्वजनिक भएको छैन । खोपासी जलविद्युत् आयोजनको ड्याम क्षेत्रमा रोशी नदीको बाढीले ठूलो क्षति पुगेको छ । रोशीको माथिल्लो क्षेत्रमा रहेको खानी र क्रसरबाट बाढीसँगै बगेर आएको गेग्रानले पनौती नगरपालिका १२ मल्पीभन्दा तलको रोशी बजार पूर्णरूपमा क्षति पुगेको छ ।
यता, काभ्रेको गागल र मास्स खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ । पनौती नगरपालिका-१२ कलाली भूमिडाँडास्थित गागलमा बाढीले दर्जनौँ घरमा क्षति पुर्याएको हो । बाढीसँगै आएको पहिरोले घर पुरिँदा एकजना विदेशी नागरिकको समेत मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकन नागरिक बर्ड हसन रहनुभएको छ । उहाँको शव स्थानीयले आइतबार बिहान पुरिएको घरबाट निकालेका थिए । घरमा उहाँ एक्लै बस्दै आउनुभएको स्थानीय कुशल निरौलाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । बर्डको शव बिहान निकालिए पनि साँझ मात्र स्थानीयले धुलिखेल अस्पताल पुर्याएका थिए । व्यापक क्षति भए पनि दिनभर कुनै पनि सुरक्षा निकाय र जनप्रतिनिधिहरू उपस्थित नभएको गुनासो स्थानीयले गरेका छन् ।
उद्धार, राहत र पुनःस्थापनामा दलहरूको जोड
राजनीतिक दलहरूले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनामा जोड दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सबै राजनीतिक दलले तीनै तहका सरकार र निजी क्षेत्रले आपसमा समन्वय गरी पीडितको उद्धार, राहत र पुनःस्थापनामा जोड दिएका हुन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आमनागरिक र संघ संस्थाहरूलाई अपिल गर्ने निर्णय गरेको उहाँका प्रेस संयोजक जगन्नाथ दुलालले जानकारी दिनुभयो । बैठकमा सत्तारूढ कांग्रेस-एमालेसहित माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । बैठकले घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित बासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय पनि गरेको छ । वर्षाका कारण आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्याउने निर्णय गरेको छ । ‘देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो-ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सूचारु गर्ने,’ बैठकको निर्णयमा भनिएको छ, ‘यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत सम्भार गरी विद्युत् आपूर्ति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सूचारु गर्ने । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत सम्भार गरी खानेपानी आपूिर्त गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने ।’
विपद्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशैँ, तिहार, छठजस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्यासलगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलैसँग प्राप्त गर्नसक्ने व्यवस्था मिलाउने भएको छ । बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत् संरचनालगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको छ । यसैगरी, बाढी-पहिरोबाट घरवास गुमाएका पीडितको पुनःस्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच