श्रावणमा रुद्राभिषेकको रहस्य र सोमबारको व्रत महिमा

Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला
वर्षा ऋतुको पावन महिना श्रावण हो । धार्मिकरूपमा श्रावण महिनाको विशेष महिमा रहेको छ । ज्योतिषशास्त्रअनुसार श्रवण नक्षत्रका दिन पूर्ण हुने महिना श्रावण हो । ‘श्रवणक्र्षं पौर्णमास्यां ततोऽपि श्रावणः स्मृतः । यस्य श्रवणमात्रेण सिद्धिदः श्रावणेऽप्यतः ।।’ (स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार- संवाद, १।१८) अर्थात् पूर्णिमाका दिन श्रवण नक्षत्र पर्ने भएकाले यो महिनालाई श्रावण भनिएको छ । वर्षा ऋतुको पवित्र महिनाका रूपमा पनि श्रावणलाई लिइएको छ । आकाश एवं धर्तीमा स्वच्छता रहने भएकाले पनि यो महिनालाई ‘नभा’ भन्ने संज्ञा पुराणले दिएका छन् : ‘स्वच्छत्वाच्च नभस्तुल्यो नभा इति ततः स्मृतः ।’ (पूर्ववत्, १।१९) श्रावण महिनामा सूर्य कर्कट राशिमा रहन्छन् ।
सूर्य साक्षात् शिवजीका नेत्र अर्थात् आँखा हुनुहुन्छ । यसैगरी कर्कट राशिका स्वामी चन्द्रमा हुन् (लघुजातकम्, राशिप्रभेदाध्यायः श्लो. ८) । यसैगरी चन्द्रमाका स्वामी साक्षात् शिवजी हुनुहुन्छ : ‘चन्द्रः सूर्यः शनिः केतुग्रहो ग्रहपतिर्वरः ।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनामस्तोत्रम्, श्लो. ३८) यसरी साक्षात् शिवजीको महिना श्रावण (कर्कटमा सूर्य रहने) भएकाले पनि यो महिना शिव उपासनाका निम्ति विशेष रहेको हो ।

यसैगरी अन्य सबै महिनाभन्दा भगवान्लाई श्रावण नै प्रिय लाग्ने गर्दछ । भगवान््ले १२ महिनामध्ये श्रावण नै मेरो प्रिय महिना हो भनी स्कन्दपुराणमा यसरी बताएको पाइन्छ : ‘द्वादशस्वपि मासेषु श्रावणे मेऽतिवल्लभः । श्रवणार्हं यन्माहात्म्यं तेनासौ श्रावणे मतः ।।’ (स्कन्दपुराण, पूर्ववत्, १।१७) अर्थात् १२ महिनामध्ये श्रावण मलाई अतिप्रिय रहन्छ । यो समय भगवान्को कथा श्रवणका निम्ति पनि उत्तम रहन्छ ।

श्रावण महिनामा गरिएको शिव उपासना एवं ग्रहजप, होम, तर्पण, दान सम्पूर्ण मनोवाञ्छित फलदायी रहन्छन् ः ‘ग्रहयज्ञः कोटिहोमो लक्षहोमोऽयुतस्तथा । कृतः फलति सद्योऽत्र वाञ्छितार्थफलप्रदः ।।’ (स्कन्दपुराण, पूर्ववत्, २।१५) अर्थात् साउन महिनामा ग्रह यज्ञ, कोटिहोम, लक्षहोम आदि विशेष यज्ञ शुभफलदायी रहन्छन् । यो समयमा गरिएका यज्ञले मनले चाहेका सम्पूर्ण कुरा पूरा हुन्छन् । श्रावणभन्दा प्रिय अर्को महिना छैन भनी यसरी भगवान्ले बताउनुभएको छ : ‘यथायं मे प्रियो मासस्तथा किञ्चिन्न मे प्रियम् ।’ (पूर्ववत्, २।१७)

यसरी हेर्दा श्रावण शिवजीको प्रिय महिना हो । वर्षाकालीन समय स्वच्छ र पवित्र रहनु साथै यो समयमा गरिएका यज्ञ यागादि मनोकामना सिद्धिदायी रहने भएकाले श्रावण महिनालाई विशेषरूपमा लिइएको हो । यसैगरी सूर्य साक्षात् शिवजीको आँखा हुन् । कर्कट चन्द्रमाको राशि हो । चन्द्रमाका मालिक साक्षात् शिवजी हुनुहुन्छ । यही शिवजीको राशिमा सूर्य एक महिना रहने भएकाले श्रावण महिना शिव उपासनाका निम्ति उत्तम रहेको हो ।

शिवजीको विशेष उपासना गरिएको हो । बाह्रवटै महिनाका सोमबार शिव उपासनाका निम्ति उत्तम मानिन्छन् । यदि यी वर्षभरिका सोमबार शिवजीको उपासना गर्न सकिएन भने पनि श्रावणको सोमबार व्रत धारण गर्नाले वर्षभरि गरिएको व्रत बराबर नै फल प्राप्त हुने गर्दछ ।

श्रावणका सोमबारको महिमा :
सोम भनेको साक्षात् शिवजीको नाम हो । ‘चन्द्रमा मनसो जातः ।’ (यजुर्वेद) अर्थात् परमात्माको मनबाट चन्द्रमाको उत्पत्ति भएको कुरा यजुर्वेदमा उल्लेख पाइन्छ । यसैगरी सहस्र नाममध्ये नक्षत्रसाधक, सोम आदि पनि भगवान् शिवकै नाम हुन् भनी महाभारतमा उल्लेख पाइन्छ : ‘सहस्राक्षो विशालाक्षः सोमो नक्षत्रसाधकः ।।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनाम, श्लो ३७) यसैगरी सोम चन्द्रमाको पनि नाम हो । अझ भनांै सोमबारका मालिक वा स्वामी चन्द्रमा हुन् र चन्द्रमाका स्वमी साक्षात् शिवजी हुनुहुन्छ । ‘मत्स्वरूपो यतो वारस्ततः सोम इति स्मृतः ।।’ (श्रावण महात्म्य, ६।४) अर्थात् मेरो स्वरूपको बार नै सोम हो भनी स्कन्दपुराणको श्रावण महात्म्यमा भगवान्ले बताउनुभएको छ ।

यसैगरी सोम अर्थात् चन्द्रमालाई महादेवले शिरमा नित्य स्थान दिनुभएको छ । शीतलता प्रदान गर्ने सोम शिवस्वरूप नै भएकाले सोमबार शिवजीको विशेष उपासना गरिएको हो । बाह्रवटै महिनाका सोमबार शिव उपासनाका निम्ति उत्तम मानिन्छन् । यदि यी वर्षभरिका सोमबार शिवजीको उपासना गर्न सकिएन भने पनि श्रावणको सोमबार व्रत धारण गर्नाले वर्षभरि गरिएको व्रत बराबर नै फल प्राप्त हुने गर्दछ ः ‘द्वादशेष्वपि मासेषु सोमबारः प्रशस्यते ।। तावत्कर्तुमशक्तश्चेछ«ावणे मासि कारयेत् । अस्मिन् मासे व्रतं कृत्वा अब्दव्रतफलं लभेत् ।।’ (स्कन्दपुराण, पूर्ववत्, ६।५) अर्थात् वर्षभरिका सोमबार व्रत धारण गर्न नसके पनि श्रावणको सोमबार व्रत बस्नाले समस्त व्रतको फल मिल्ने भएकाले पनि श्रावणको सोमबारलाई विशेषरूपमा लिइएको हो ।

जसले यसरी पार्वतीसहित शिवजीको उपासना गर्दछन् ती व्यक्तिले पुनरावृत्तिरहित अथवा पुनर्जन्मरहित भई अक्षय लोकको प्राप्ति गर्दछन् : ‘सोमबारे यजन्त्ये ये पार्वत्या सहितं शिवम् । ते लभन्त्यक्षयाल्लोकान्पुनरावृत्तिदुर्लभान् ।।’ भनी (स्कन्दपुराणमा बताइएको छ । पुत्र चाहनेले पुत्र, सन्तति चाहनेले सन्तति, धन चाहनेले धन, जे-जस्तो कामना राखको छ सोहीअनुसार फल प्रदान गर्ने श्रावणको सोमबारको महिमा रहेको छ : ‘पुत्रार्थी लाभते पुत्रान्धनार्र्थी लभते धनम् । यं यं चिन्तयते कामं तं तं प्राप्नोति मानवः ।।’ (स्कन्दपुराण, पूर्ववत्, ६।२०) अर्थात् श्रावणको सोमबार व्रत धारण गर्नाले मनले चाहेअनुसारको फल प्राप्त हुने गर्दछ ।

यसैगरी यो लोकको लामो समय अभीष्ट (इच्छाअनुसारको) भोग गरेर मृत्युपश्चात् पनि ससम्मान विमानमा चढी रुद्रलोक जान पाइन्छ भनेर पनि पुराणमा चर्चा पाइन्छ ।

वर्षभरिका सोमबार व्रत धारण गर्न नसके पनि श्रावणको सोमबार व्रत बस्नाले समस्त व्रतको फल मिल्ने भएकाले पनि श्रावणको सोमबारलाई विशेषरूपमा लिइएको हो । जसले यसरी पार्वतीसहित शिवजीको उपासना गर्दछन् ती व्यक्तिले पुनरावृत्तिरहित अथवा पुनर्जन्मरहित भई अक्षय लोकको प्राप्ति गर्दछन् ।

श्रावणमा रुद्राभिषेक गर्नुको कारण :
श्रावण शिवजीको प्रिय महिना हो । यसैले प्रिय समयमा वा उचित समयमा गरिएको कार्य पूर्णतः फलदायी रहन्छ । यसैले अभीष्ट सिद्धिका निम्ति भगवान्को उपासनास्वरूप रुद्राभिषेक गरिन्छ । भगवान्को उपासना गर्ने तीन मुख्य विधि छन् । पहिलो हो अभिषेकात्मक । जसअन्तर्गत् भगवान्को प्रतिमा राखी पञ्चमृताभिषेक जलाभिषेक गरिन्छ । अर्को हो जपात्मक । जसअन्तर्गत भगवान्का मन्त्र जपद्वारा उपासना गरिन्छ ।

यसैगरी अर्को यज्ञ हुन्छ हवनात्मक जसमा मन्त्रोच्चारणपूर्वक हवन गरिन्छ । यी तीन यज्ञमध्येको एक अभिषेकात्मक यज्ञ नै रुद्राभिषेक हो । नीलकण्ठ भगवान्ले कालकूट विषलाई कण्ठप्रदेशमा धारण गर्नुभएको छ । जसले उत्पन्न गर्ने तापलाई अभिषेकले शमन गर्दछ । जसबाट भगवान् प्रसन्न भई वरदान दिनुहुन्छ ः ‘धारणा पारणे कुर्यादुपोषणमथापि च । पञ्चामृताभिषेकं च मम प्रीतिकरं परम् ।।’ (स्कन्दपुराण, पूर्ववत्, २।८) भगवान्को प्रीतिका निम्त पञ्चामृतको अभिषेक उत्तम मानिएको छ । पञ्चामृतमा गाईको दूध, दही, घिउ, मह, चिनी वा सख्खर पर्दछन् ।

अभीष्ट सिद्धिका निम्ति भगवान्को उपासना गर्ने एक सरल विधि रुद्राभिषेक हो । श्रावणमा नक्तव्रत गरी प्रत्येक दिन रुद्राभिषेक गर्नाले आशुतोष भगवान् प्रसन्न हुने कुरा स्कन्दपुराणमा यसरी बताइएको छ : ‘कुर्यान्नक्तव्रतं योगिन् श्रावणे नियतो नरः । रुद्राभिषेकं कुर्वीत मासमात्रं दिने दिने ।।’ (स्कन्दपुराण, पूर्ववत्, २।५) अर्थात् श्रावणमा गरिएको रुद्राभिषेक भगवान्लाई अझ प्रीतिदायी र आफ्नो अभीष्ट सिद्धिदायी रहने भएकाले पनि श्रावणमा रुद्राभिषेक विशेषरूपमा गरिएको हो । यसैगरी भगवान्ले कण्ठप्रदेशमा कालकूट विष धारण गर्नुभएको छ । जसले अत्यन्त ताप उत्पन्न हुन्छ । सोही तापबाट शान्तिका निम्ति देवगणले जलवर्ष गरेको समय श्रावण रहेकाले पनि यो महिना रुद्राभिषेक शिवप्रीतिदायी रहने गर्दछ ।

विश्व ब्रहृमाण्डका अखिल नायक सृष्टिस्थिति र लयकर्ता आद्य शक्ति परमात्मा परमेश्वर देवाधिदेव महादेवको महिमा अपरम्पार छ । शिवशक्ति आद्य परमात्मा परब्रहृम हुनुहुन्छ । यो संसार भगवान् शिवकै अंशरूपमा चलिरहेको छ । शिवको अर्थ पनि कल्याण भन्ने हुन्छ । भगवान्को उपासना सर्वकल्याणकारी रहने गर्दछ । भगवान् सर्वत्र सर्वव्यापक हुनुहुन्छ । कार्य, अवस्था र प्रकिृतिअनुसार भगवान्को उपासना गर्ने भिन्न-भिन्न समय र तत्अनुसारको फलको वर्णन शास्त्रमा गरिएको छ ।

हरेक कार्य गर्ने विशेष दिन र समय हुने गर्दछ । शिव उपासनाका निम्ति उत्तम समय र दिन श्रावण महिना र त्यसमा पनि सोमबार रहेकाले यो समय शिव उपासकका निम्ति विशेष रहने गर्दछ । शिवजीको उपासना गर्ने माध्यम वा विधि भने रुद्राभिषेक हो । यो समयमा गरिएको रुद्राभिषेक अभीष्ट फलदायी रहने भएकाले पनि श्रावण महिना रुद्राभिषेकका निम्ति उत्तम मानिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?