चुनावी रणनीतिमा प्रमुख दलहरू : मतदाता आकर्षित गर्न शीर्ष नेताहरू नै देश दौडाहमा

Read Time = 7 mins

काठमाडौं । स्थानीय तहको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलहरू पनि आक्रामक रूपमा चुनावी दौडमा होमिएका छन् । मतदातालाई आफ्नो दलतर्फ आकर्षित गर्न देशका प्रमुख स्थानमा चुनावी आमसभा आयोजना गरी शीर्ष नेताहरूले सम्बोधन गर्न थालेका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबारबाट देशव्यापी चुनावी अभियान सुरु गरेको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरू नै चुनावी सभालाई सम्बोधन गर्न कम्मर कसेर लागिरहेका छन् । अर्कोतिर प्रमुख प्रतिपक्षी एमालेले विगत दिनदेखि नै प्रचार अभियानलाई निकै जोडतोडका साथ चलाइरहेको छ । अध्यक्ष ओलीले लगातार रूपमा पूर्वदेखि पश्चिमसम्मका जिल्लाहरूमा गई चुनाव केन्द्रित कार्यक्रमलाई सम्बोधन गरिरहनुभएको छ । उता माओवादी केन्द्र र नेकपा समाजवादीलगायत दलहरूलाई नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा भ्याइनभ्याइ छ ।

गठबन्धन राष्ट्रिय आवश्यकता हो, धोका दिने काम गर्नुहुन्न : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गर्नुभएको हो । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘कांग्रेसले धोका खाए पनि धोका दिँदैन’ उहाँले भन्नुभयो ।

अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले विराटनगरमा विराट राजाको दरबार क्षेत्रको उत्खननका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन पनि दिनुभयो । पुरातत्व विभागमार्फत उत्खनन गर्ने उहाँको भनाइ छ । उहाँले ६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको बताउनुभयो । प्रतिनिधिसभामा कांग्रेसलाई जिताए ६५ वर्षपछि वृद्धभत्ता दिने बताउँदै उहाँले भन्नुभयो ‘संसारभरि यही नियम छ ।’

प्रधानमन्त्री देउवाले विराटनगरमा पहाडी र तराई मूलका उम्मेदवार भएका कारण गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘पहाडी मधेसी सबैको देश हो,’ उहाँले भन्नुभयो, ‘सबैलाई एकैसाथ लिएर जानुपर्ने आवश्यकता छ ।’ चुनावी सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक भएको बताउनुभयो । कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि सत्तारूढ गठबन्धनलाई भोट दिनुपर्ने धारणा राख्नुभयो ।

एक-दुई जनाले छाड्दैमा पार्टी कमजोर हुँदैन, एमाले लटरम्म छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक-दुई जनाले पार्टी छाड्दैमा पार्टी कमजोर नहुने बताउनुभएको छ । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको गृहजिल्ला इलाम पुग्नुभएका ओलीले माई नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै नेता खनाल र माधवकुमार नेपालको आलोचना गर्नुभयो । उहाँले एक दुईवटा पात झर्दैमा रूख नांगो नहुने टिप्पणी गर्नुभयो । ‘कसैले पार्टी छोडेर गयो भन्दैमा, एक/दुईवटा पात झरेर गयो भन्दैमा न रूख नांगो हुनेछ न पार्टी रित्तिनेछ’ उहाँले भन्नुभयो ‘एक-दुईवटा फल कुहिएर झर्दा रूखलाई केही असर हुँदैन । एमाले लटरम्म फल लागेको पार्टी जस्ताको तस्तै हुन्छ ।’

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन र कांग्रेसप्रति पनि कटाक्ष गर्नुभयो । ‘कांग्रेसीहरूलाई भन्न चाहन्छु तपाईंहरूको छोराछोरीलाई झण्डा दिनुहोस् र भन्नुहोस् त भोट के मा ? भनेर सोझै सूर्यमा भन्छन्’ उहाँले भन्नुभयोे । ओलीले पार्टी छाडेर जाने कार्यकर्ताहरूलाई फर्कन अपिल गर्नुभयो । उहाँले नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको भान्सामा गएको बिरालोको संज्ञा दिनुभयो । ‘संसद्मा एकपटक मैले शेरबहादुरजीलाई भनेको थिएँ हाम्रा भान्साका बिरालो त तपाईंकोमा देख्छु नि । अलि अलि खान दिनुहोस् किन पर्खाएर राखेको ?’, उहाँले भन्नुभयो । लारुम्बामा किरात धर्मगुरुलाई भेटेर ओलीले माई नगरपालिकामा सम्बोधन गर्नुभएको हो । उहाँले बुधबार नै झापाको सुरुङ्गामा सभालाई सम्बोधन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?