एसइईको खस्किँदो परिणाम

हिमालय टाइम्स
Read Time = 6 mins

२०७८ सालको एसइईको परिणाम प्रकाशित भएको छ । यस वर्ष जम्मा १५ प्रतिशत मात्र विद्यार्थी वास्तविक रूपमा उत्तीर्ण भएका थिए र यस्तो नाजुक परिणाम देखेर राष्ट्रिय परीक्षा बोर्डको बैठक बसी सबैलाई उत्तीर्ण गर्ने निर्णय गरेको हो भन्ने जस्ता अनधीकृत चर्चा चले । यी दुवै चर्चामा सत्यता नहोला तर यसले केही कुरा सोच्न भने बाध्य बनाएको छ । पहिलो कुरा १५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए भन्ने चर्चासँगै यसको यथार्थता खोज्ने हो भने वास्तविक रूपमा आफ्नै क्षमताले उत्तीर्ण गर्ने विद्यार्थीहरूको संख्या खोजी गर्ने हो भने त्यसरी चर्चा चलेको प्रशितभन्दा केही प्रतिशत मात्र बढी हुनसक्ला नत्र त्यसभन्दा बढीको अपेक्षा गर्न भने सकिने अवस्था छैन । विभिन्न शैक्षिक संस्थाहरूमा गएर हेर्ने हो भने यस्तो दूरावस्था प्रष्ट देख्न सकिन्छ ।

निजी क्षेत्रका शैक्षिक संस्थाहरूमा जस्ता पनि विद्यार्थी भर्ना गरिन्छ र अभिभावकले उक्त संस्थामा पढाइ राम्रो छैन भन्लान् र त्यहाँबाट आफ्ना छोराछोरी निकालेर लैजालान् भनेर सुरु-सुरु कक्षा चढाइदिने गरिन्छ । यसले गर्दा पहिले पहिलेको जस्तो शिक्षाको स्तर राम्रो छैन । संख्या बढे सँगसँगै गुणस्तर भने प्रतिदिन खस्कँदै गइरहेको छ । अर्को राष्ट्रिय परीक्षा बोर्डले बैठक गरी सबैलाई उत्तीर्ण गर्ने गरी निर्णय गरेको भन्ने चर्चामा पनि सत्यता नहुन सक्छ तर प्रकारान्तरले केही वर्षदेखि सबै विद्यार्थीलाई स्वतः उत्तीर्ण गरिँदै आएको छ । जबदेखि ग्रेडिङ प्रणाली लागू भयो त्यसै समयदेखि अनुत्तीर्ण नभन्ने ‘ई’ ग्रेड ल्याउनेहरू अनुत्तीर्ण भए पनि तिनलाई समेत ‘ई’ ग्रेडमा पास भएको मान्न भन्ने निर्णय भएको छ ।

तर, यसरी ‘ई’ ग्रेडमा पास भएकाले त्यसमाथिको उच्च शिक्षा हासिल गर्न नपाउने र कुनै प्रकारको प्राविधिक शिक्षामात्र लिन पाउने भन्ने भएको छ । ग्रेडिङ प्रणाली लागू भएपछि यस पहिलेको शिक्षा प्रणाली बिथोलिएको छ । यसले गर्दा पहिलेको एसएलसी परीक्षाको जुन प्रकारको मर्यादा र गरिमा थियो त्यो सबै भताभुंग भएको छ । एक त पहिलेको प्रणाली नै परिवर्तन गरी शिक्षा पद्धति बिथोलिएको थियो भने अर्कातिर केही वर्षपहिले देखापरेको कोरानाको महामारीले शैक्षिक संस्थाहरू केही समय बन्द रहे । यसबाट विद्यार्थीहरूको पठनपाठन नराम्ररी अवरुद्ध बन्न पुग्यो । बीचमा दुई वर्षको विद्यार्थी समूहलाई स्वतः उत्तीर्ण गराइयो ।

यसबाट कुन स्तरको शैक्षिक जनशक्ति, उत्पादन भयो भन्ने सबैलाई थाहा छ । विद्यार्थीहरूमा नपढे पनि पास भइने रहेछ भन्ने मनोविज्ञानको विकास भएकाले अब त्यस तहदेखि माथि पनि यसरी नै गोलमाल बन्नेछ भन्ने स्वतः सिद्ध छ । यस वर्षको एसइई परीक्षामा भने कोरोना समूहको जसरी स्वतः पास नगरिए पनि सामान्य औपचारिकता पूरा गरेर उत्तीर्ण गराइएको छ । त्यसमा अत्यन्त न्यून प्रतिशत मात्र सुरुमा पास भएकाले बोर्डले निर्णय गरेर अरूलाई पास गराइएको भनिएका कारण अबको शैक्षिक स्तर कस्तो होला भन्ने अनुमान लगाउन गाह्रो छैन । पढ्न पाउने अधिकार सबैको छ तर यसलाई मानव अधिकारसँग जोडेर हेरिनाले चार कक्षाका लागि अयोग्य विद्यार्थी स्नातकसम्म पुगेका छन् ।

यसले गर्दा देशले भोलि तीबाट के अपेक्षा गर्ने । कुनै पनि देशलाई बिगार्ने हो भने त्यस देशको शिक्षा प्रणालीलाई बिगार्नुपर्छ भनिन्छ । हाम्रो शिक्षा प्रणाली त यसै बिग्रिइसकेको छ । यसले गर्दा देशले भोलि नराम्रो परिणामको सामना गर्नुपर्ने निश्चित छ । यसरी सरकारले शिक्षाको स्तर उकास्न प्रयास नगर्ने र निजी स्तरका शैक्षिक संस्थाहरू व्यावसायिक मात्र बनिरहने हो भने नेपालको शिक्षा प्रणाली ध्वस्त हुने निश्चित छ । जे होस् २०७८ सालको माध्यमिक तहको अन्तिम परीक्षाको परिणाम प्रकाशित भएको छ । यस परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?