
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डअन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तीकरण समिति’को आयोजनामा ‘महिला चलचित्र महोत्सव’ आरम्भ भएको छ । महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गर्नुभएको थियो । ‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्नेछ ।
महिला चलचित्र महोत्सवको पहिलो दिन मंगलबार चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । सन् १९७९ (विसं २०३६)मा सार्वजनिक भएको ‘सिन्दुर’ नेपाली चलचित्रको दोस्रो रंगिन चलचित्र हो । काठमाडौंका विभिन्न हलमा संयुक्त रूपमा ५२ हप्ता चल्दै पहिलो सिल्भर जुब्ली चलचित्रको कीर्तिमान कायम गरेको यस चलचित्रमा विश्व बस्नेत, गोपालराज मैनाली, वसुन्धरा भुसाल, नीर शाहलगायतका कलाकारको अभिनय छ ।
साथै कार्यक्रममा सिन्दुर चलचित्रका कलाकारहरूसँग समेत अन्तर्क्रिया गरिएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौं महानगरपालिकाको सहकार्य चाहेको बताउनुभयो । उहाँले बेग्लाबेग्लै स्टुडियो बनाउनुभन्दा उत्कृष्ट एउटै स्टुडियो निर्माण होस् भन्ने बोर्डको चाहना रहेको धारणा राख्नुभयो । अध्यक्ष डिसीले तीनदिने महोत्सवमा तीनै दिन बेग्लाबेग्लै कार्यक्रम रहेको समेत जानकारी दिनुभयो । कार्यक्रमले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न मद्धत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै चलचित्रकी अभिनेत्री वसुन्धारा भुसालले चलचित्र क्षेत्रमा धेरै परिवर्तन भइसकेको बताउनुभयो । उहाँले आफूहरूले चलचित्रमा काम गर्दै गर्दा प्राविधिक एवं व्यावहारिक कठिनाइहरूको सामना गर्नुपरेको भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । उहाँले चलचित्र क्षेत्रमा काम गर्ने महिलामाथि समाजमा विभिन्न टीकाटिप्पणी हुनेभए पनि वास्तविकता त्यस्तो नभएको बताउनुभयोे । उहाँले पहिले आलोचना गर्ने दर्शकहरूसमेत अहिले आएर सम्मान गर्न थालेको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चलचित्रसम्बन्धी नीतिहरूमा अझ धेरै काम गनुपर्ने देखिएको बताउनुभयो । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमध्ये चलचित्र विधा छानेर काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले नेपालमा रहेका सम्पदाहरूको राष्ट्रियकरण एवं अन्तर्राष्ट्रियकरण गर्नका लागि चलचित्र बलियो औजार भएको बताउनुभयो ।
कार्यक्रमको दोस्रो दिन आज (बुधबार) महिला चलचित्रकर्मीद्वारा निर्माण गरिएका चलचित्रहरू प्रदर्शन गरिनेछन् भने बिहीबार महिला चलचित्रकर्मीहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजकमा केकी अधिकारी र सदस्यहरूमा सञ्चारकर्मी गीता अधिकारी चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य र निर्मला चौलागाईं हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच