गठबन्धनवालाहरू एक्लै प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : ओली

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूसँग एक्लै चुनाव लड्ने आँटै नभएको टिप्पणी गर्नुभएको छ । उहाँले शनिबार लोकतान्त्रिक शेर्पा संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो टिप्पणी गर्नुभएको हो । गठबन्धनले देशमा स्वस्थ प्रतिस्पर्धाको साटो दुश्मनी र झगडातर्फ लैजान खोजेको उहाँको आरोप थियो ।

एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिँजाइरहेको अध्यक्ष ओलीको जिकिर थियो । उहाँले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गर्नुभयो ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेको बहुमत आउन नदिन सत्तारूढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउँदै अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले जति प्रयास गरे पनि जनता एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी गर्नुभयो ।

एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आमजनता दृढ रहेको अध्यक्ष ओलीको जिकिर थियो । ‘म जहाँ जान्छु, जहाँ पुग्छु, जुन भेगका जनतासँग भेट्छु, अन्तरक्रिया गर्छु, कुराकानी गर्छु, संवाद गर्छु,’ उहाँले भन्नुभयो, ‘म त्यहाँ देख्छु–जनता समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन् । जनता दृढ अठोटका साथ अघि बढेका छन् ।’ सेना र प्रहरीसमेत एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै उहाँले त्यसबाट सत्तारूढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर कुदिराखेका छन् । यो गठबन्धन किन बनाउनु पर्‍यो ?,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यति साह्रो गठबन्धन किन बनाउन प¥यो । यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बहुमतबाट रोक्नका लागि हो ।’

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको आलोचना गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई ‘लौरो टेकेर पनि अडिन नसक्ने भएको’ भन्दै कटाक्ष गर्नुभयोे । ओलीले भन्नुभयो, ‘विचरा कांग्रेस माया लाग्छ । यो पार्टी के भएको ? लौरो टेकेर पनि अडिन सक्दैन । खुट्टै टेक्न नसक्ने भयो । कहिले प्रचण्ड खोज्या छ, कहिले को खोज्या छ । के भएको ? एउटा जिउँदो पार्टी त यति साह्रो नहुनुपर्ने ।’

ओलीले अगाडि भन्नुभयो, ‘कांग्रेसको कार्यक्रम हेर्नुभयो भने केही पनि आउँदैन । बहुदल आएपछि २१ वर्ष सरकारको नेतृत्व गर्‍यो । २१ वर्ष नेतृत्व गर्दा यो काम गरेँ भनेर देखाइदियोस्, एउटा पनि छैन । कम्युनिष्टले बूढाबूढी मार्छ भनेर हल्ला चलायो । ६० वर्षभन्दा बढी भएपछि गोली हालेर मार्छन् भन्यो । तर, म ७१ वर्षको मान्छे अध्यक्ष छु ।’

उहाँले चुनावमा शत्रुता नगरी प्रतिस्पर्धा गर्न आग्रह गर्दै जति कमजोरसँग शत्रुता गरे पनि द्वन्द्व सिर्जना हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंले सानो मुसा समात्नुभयो भने पनि त्यसले तपाईंको औँला त टोक्छ नि । अलिकति कमजोर छ भनेर दमन गरेपछि त्यसले थोरै भए पनि हानि गर्न त खोज्छ नै । त्यसले समाजमा द्वन्द्व सिर्जना गर्छ । राजनीतिमा प्रतिस्पर्धा गरौँ न किन मारामार गर्ने ? त्यसकारण यो गठबन्धन एक्लै चुनाव लड्ने आँट नै गर्दैन ।’

अध्यक्ष ओलीले आफूलाई लोकतन्त्रको हिमायती बताउने नेपाली कांग्रेसले लोकतन्त्रलाई विकृत बनाएको आरोप पनि लगाउनुभयो । कांग्रेसले गलत अभ्यासले मुलुकलाई द्वन्द्वतर्फ धकेलिरहेको उहाँको भनाइ थियो । कांग्रेसले एमालेसँग शत्रुतापूर्ण व्यवहार गरेको बताउँदै उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, शत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरूले प्रतिष्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन् । यो लोकतान्त्रिक तरिका हैन ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने जिकिर गर्नुभयो । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उहाँको तर्क थियो । उहाँले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने बताउनुभयो । दसैँमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने अध्यक्ष ओलीको भनाइ थियो ।

देउवा र प्रचण्डलाई चुनौती : सम्पत्ति राष्ट्रियकरण गर्न सक्नुहुन्छ ?
अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो सम्पत्ति राष्ट्रका नाममा दान गर्न चुनौती दिनुभएको छ । आफूले आफ्नो नामको सबै सम्पत्ति राष्ट्रका नाममा गरिसकेको दाबी गर्दै ओलीले देउवा र प्रचण्डलाई पनि आफूले जस्तै आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न चुनौती दिनुभएको हो । ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उहाँले भन्नुभयो, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?