राजतन्त्र फेरि फर्किएला र !

Read Time = 19 mins

✍️ प्रा.डा. बद्रीविशाल पोखरेल

शान्त र समृद्ध भएको पटक्कै देख्न नचाहने बाहृय शक्तिको उहिलेदेखि नेपाल खेलमैदान रहिआएको छ । यस खालका गुहृय यथार्थ पृथ्वीनारायण शाहदेखि नै सुरु भएको थियो । यस खालको समस्या नेपाली दरबार र नेता तथा प्रधानमन्त्रीहरूले व्यहोरेका छन् भने केही नेता, प्रधानमन्त्री तथा पूर्वराजाहरू बाहृय दाबाब र प्रभावमा नपर्दा मात्र देशको अस्तित्व जीवित हुन सकेको हो । नत्र दश-दश वर्षभित्र खसाल्दै–खसाल्दै नेपाललाई रसातलमा पुर्‍याउने कुनियत सचेत देशभक्त नागरिकलाई थाहा नभएको होइन । अनि यसका लागि अनेक भ्रमहरू सिर्जना गरिरहेको अहिले पनि देखिन्छ । पहिलो सबै पार्टी र नेताहरूलाई एउटै डालोमा हालेर सब खराब भन्ने चरम भ्रम सिर्जना गरिएको देखिन्छ ।

खसीबाख्री एउटै धोक्री गर्ने सबै जोगी कान चिरा भन्ने जस्ता आम जनतालाई कुहिराको काग बनाउने दुष्प्रयत्न अहिले पनि जारी छ भने अहिले त सबै पार्टी र नेताहरूलाई चोर भन्ने अनि स्वतन्त्र नामका उम्मेदवारहरूलाई देउतासरह प्रचारबाजी गर्ने माहौल सिर्जना गर्ने द्ुष्प्रयत्न सुरु भएको छ । जननायक बीपी कोइरालासित तुलना गरिने कुनै नेका नेता छन् र ? गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई अरू कुनै नेतासरह भनेर गाली गर्न मिल्छ ? पुष्पलाल र जननेता मदन भण्डारीसित मोहनविक्रम सिंहलगायत नेतालाई तुलना गर्न किमार्थ सुहाउँदैन । अनि कसरी सबै पार्टी नेता खराब भन्न सकिन्छ ? नेकपा एमालेको नौ महिने सरकार र केपी शर्मा ओली नेतृत्वको सरकारसित अरू कुनै सरकारको तुलना गर्न सुहाउँछ ?

कम्युनिष्ट र प्रजातन्त्रको खोल भिरेका पश्चगामी चरित्र र चिन्तन बोकेका नेता रहेसम्म राजतन्त्र बाँचिरहन्छ । दशैँको टीका राजाका लागि भनेर घरको मूल खाँबोमा सबैभन्दा पहिले अर्पण गरुन्जेल वा टाँसुन्जेल जनताको मनको आसनमा राजा रहिरहने छन् ।

अनि स्वतन्त्र नामका केही मान्छेहरू राजा र राजतन्त्रको गुणगान गरिरहेको भद्दा तथा मजाकिलो दृश्य देखिन्छ । लामो समय दास संस्कृतिमा बानी परेकाहरू जन्मिँदै जर्नेल, कर्णेल र राजाको चरणोदक पिउन आतुर देखिन्छन् तर त्यस्तो हुने कुनै सम्भावना देखिँदैन । राजा देवताका अवतार हुन् भन्ने चरम अन्ध रूढीगत कुरूप मानसिकता रहिरहने हो भने सत्ताच्यूत राजतन्त्र फेरि फर्किन सक्छ । संविधान अनुसार धर्म, परम्परा, प्रथा र रीतिका नाममा कसैले कसैलाई अन्याय, असमानता, विभेद र शोषणको अन्त्य गर्ने किटानी व्यवस्थालाई व्यवहारमा उतार्ने प्रयत्न नगरुन्जेल राजतन्त्र राजनीतिक रूपमा अचेत जनताको मन, ज्ञानमा र मनोविज्ञानमा रहिरहने छ ।

जन्मिँदै जर्नेललाई जदौ भन्ने तर कर्मले राष्ट्रपति बनेका जनताको छोराछोरीलाई दुत्कार्ने चरम पछौटे चिन्तन स्वघोषित बुद्धिजीवीका गिदीमा रहँदासम्म जनविरोधी राजतन्त्र फेरि पनि फर्किन सक्छ । भाग्यवादी र पुर्पुरोवादी कथित प्रगतिशील तथा प्रजातान्त्रिक कवि, लेखक र कलाकार रहँदासम्म तिनका दिल र दिमागमा राजतन्त्र रहिरहनसक्छ र फुत्त बाहिर प्रकट हुन पनि सक्छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भनेझैँ एकदम सतही तथा पोलिटिकल कम्युनिष्ट रहेसम्म राजतन्त्र तिनका तन र मनमा जीवित रहनसक्छ ।

वर्ग पक्षधरताका मुखौटाहरू पार्टीको माथिल्लो तहमा रहेसम्म तिनका चिन्तन र चरित्रमा राजतन्त्रले ढलिमली गरिरहनेछ । तुइन युग समाप्त पार्ने ओली सरकारका कारण आफूलाई कम्युनिष्ट हुँ भन्न लज्जाबोध गर्ने लाज, घिनविहीन नेता रहेसम्म राजतन्त्र सशक्त राजनीतिक विकल्प बनिरहनेछ । मात्रात्मक परिवर्तनलाई अनदेखा गर्ने तर ओली सरकारले रातारात समाजवादी युगतिर देशलाई लैजान नसकेको भनेर कटाक्ष गर्ने एकलकाँटे र अन्धवादी नेता हुन्जेल राजतन्त्रले नन्दीभृंगीका साथ मसाने भूतको नौटंकी जारी राख्नेछ ।

कम्युनिष्ट र प्रजातन्त्रको खोल भिरेका पश्चगामी चरित्र र चिन्तन बोकेका नेता रहेसम्म राजतन्त्र बाँचिरहन्छ । दशैँको टीका राजाका लागि भनेर घरको मूल खाँबोमा सबैभन्दा पहिले अर्पण गरुन्जेल वा टाँसुन्जेल जनताको मनको आसनमा राजा रहिरहने छन् । थाङ्ने देशका माग्ने नेता भनेर आफ्नै जननी र राजनीतिक अग्रजलाई सत्तोसराप गर्ने नाममा आफूलाई नै धिक्कारेको थाहा नपाउने कथित प्राडाको बकबास कायम रहुन्जेल राजतन्त्र कायम नै रहनेछ । स्वस्थानी व्रत कथा समापनको प्रसाद स्वरूपको आठरोटी कम्तीमा मीतको छोरा पनि नहुँदा खोलमा बगाइदिनु भन्ने आममहिलाप्रति सरमपूर्ण अपमानमा महिला वर्ग नै निमग्न रहुन्जेल राजतन्त्र जीवितमात्र होइन जीवन्त नै रहनेछ ।

राजालाई विष्णुको अवतार मान्ने र उनैले जगत् र जीवनको रचना गरेको भन्ने मानसिकता भएका प्रजा रहेसम्म राजतन्त्र जिउँदै छ भन्ने बुझेहुन्छ । निरंकुश राजा र राजतन्त्रलाई बाहिर-बाहिर धारे हात लगाउने तर अन्तर हृदय र व्यवहारमा तिनकै चरम पछौटे र अघौटे वा अहंवादी सरमछाडा चिन्तन र चरित्र नेताहरूमा रहिरहने हो भने नेपालमा राजतन्त्र फर्किन धेरै समय लाग्दैन । माओले भनेझैँ फेरिएको परिस्थिति अनुसार आफूलाई अलिकति पनि फेर्न नसक्ने र सहयोद्धा नेताका सकारप्रति नकार, निकृष्ट र कृतघ्न व्यवहार गर्ने नेता रहँदासम्म राजतन्त्र बौरिने स्थिति हुन्छ ।

प्रतिभा, क्षमता, योग्यता र अनुभवलाई खुला रूपमा पन्छाएर प्राज्ञिकलगायत क्षेत्रमा नातागोतालाई दिव्य बाह्र वर्ष बिर्तासरह हसुर्न दिन नियुक्ति गरुन्जेल राजा वा राजतन्त्रको परोक्ष समर्थन गरेकै ठहरिनेछ । प्रदेश र स्थानीय तहहरूमा घटीबेसी आर्थिक भौतिक विचलन अहिलेदेखि नै सुरु भएको छ । अब एक वर्षपछि यसको विकराल स्थिति आउने कुलक्षण देखेर बेलैमा नियन्त्रण नगर्ने हो भने त्यसपछि राजतन्त्रको भूतले सडक जाम गर्ने निश्चित देखिन्छ । सभासद् रामनारायण बिडारी जस्ता पार्टी र सरकारलाई सही सत्य रूपमा चित्तबुझ्दो रूपमा बेलिविस्तार गर्ने प्रभावशाली मुख हुँदामात्र गोयवल्स शैलीको दुष्प्रचार प्रभावित जनमानस स्वस्थ्य सूचनाबाट सूचित हुनेछ र भूतप्रेतको भ्रम र भय हट्न सक्ने देखिन्छ ।

तर स्वयं पूर्वराजा ज्ञानेन्द्रमार्फत् नेपालको राजा र राजतन्त्रसित पुनः सत्तासीन हुने वा राजगद्दीमा पुनःस्थापित हुने कुनै र कत्ति पनि नैतिक बल किमार्थ देखिँदैन । ज्ञानेन्द्रको नेपालका कुनै राजासित तुलना हुन सक्तैन व्यापारी वा बनियाँसित पूर्वराजा महेन्द्र शाहको तुलना नै पनि अनुचित हुन्छ । चार जात छत्तीस वर्णको साझा फूलबारी शाहका पुर्खाले बनाइदिएका भनेर त्यसको जस ज्ञानेन्द्रलाई दिलाउन उद्यत राजदरबारका भूतहरू मिडियाहरूमा सलबलाउन थालेको देखिन्छ । प्रधानमन्त्री ओलीले भनेझैँ स्वतन्त्र नागरिक हुनुभन्दा रैतान हुन आतुर चरणोदक पान गर्नेहरू पानीका फोका सरह मात्र हुन् ।

नेपाल एकीकरण अभियानका अभियन्ता, महान् विभूति पृथ्वीनारायण शाहसित ज्ञानेन्द्र शाहको तुलना पृथ्वीनारायण शाहकै घोर बेइज्जती हो । बुद्धिजीवी दिलकुमार वनसहित यस लेखकको अगुवाइमा इटहरीमा नेपाल एकीकरण दिवस/पृथ्वीजयन्ती (२०६९) मनाउने परम्पराको सुरुवात र विकास राजतन्त्रको भूत र प्रेत ब्युँझाउन गरिएको किमार्थ होइन । कहाँ राजा राम...भने झैँ गुमनाम र बदनाम सन्तानले बाउ बाजेको नाम बेचेर बिहान बेलुकाको भात भान्सासम्म खान खोज्न मिल्छ तर देशको उच्च र सम्मानित स्थान र मानमा विराजमान हुन कहिल्यै सुहाउँदैन र पाइँदैन । मौका पनि एकपल्टमात्र पाइन्छ । त्यही मौका आफैँ अर्ध बेहोसी र अधबेस्रो भएर गुमाएपछि बगेको खोला अब फेरि फर्किँदैन ।

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नै कर्तुत र कारणले सत्ताच्यूत हुन पुगेका हुन् । स्वयं पूर्वसेनापति रुक्माङ्गद कटुवालले सर्वनाश हुनबाट बच्न र राजतन्त्र कायम राख्न गम्भीर विचार र विवेक राख्न ज्ञानेन्द्र शाहलाई धेरै अनुनय र विनय गरेकै हुन् । ज्ञानेन्द्रको अह्ररो र अति अहंबाट रुक्माङ्गदले हार मानेका हुन् । यसै विषयमा केन्द्रित रहेर एक बृहत् अकारको कृति नै कटुवालले लेखे । बोक्रैसित खान खोज्दा ज्ञानेन्द्र पाखा परेका हुन् । आफूलाई दाजुभन्दा बाठो र बहादुर हुन खोज्दा ज्ञानेन्द्र भूइँमा पछारिएका हुन् । नत्र जननेता मदन भण्डारीले नै पनि खोपीको देउता भएर राजा वा राजतन्त्र बस्छ भने कोही बात छैन भनेकै हुन् ।

तर, प्रजातन्त्रका मसिहा नेपाली कांग्रेस पार्टीका कतिपय नेताहरू राजालाई उकासेर पार्टीगत स्वार्थमा हत्ते हाल्दामात्र होइन अहिले पनि आफैँले बनाएको संविधानविपरीत रातजन्त्रका बारेमा जनमत संग्रह नामका बेवारिसे वयानका कारण मुलुकको अग्रगमनका ठूलो बाधा पुगेको हो र पुग्न सक्छ । यदि यसो भयो प्रतिगमन हुनसक्छ अनि बल्लबल्ल बन्न लागेको देश र जनताको शान्ति र समृद्धि नराम्ररी बिथोलिन पनि सक्छ । राजालाई विष्णुको अवतार मान्ने वैदिक सनातन वा हिन्दू धर्म र तिनका मठमन्दिरमा हस्याङ्फस्याङ गर्दै धाउनुको कुट कलुषित नियत राम्ररी नै बुझिन्छ ।

तर, बुद्ध धर्म जस्तो अत्यन्त महत्वपूर्ण धर्म र धार्मिक आस्थाप्रति ज्ञानेन्द्रको बेवास्ताको अन्तर्य नबुझ्ने कुरै होइन । आफ्नो आङको भैँसी नदेख्नेहरू मात्र आफ्ना तमाम दुर्गुण अरूका थाप्लामा थोपरेर पानीमाथिको ओभानो हुन खोज्छन् तर खुशी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्न सक्तैन । दरबार हत्याकाण्ड पश्चात् राजा ज्ञानेन्द्र र उनकी वास्तविक आमाका बारेमा नयाँ रहस्य खुले । पञ्चायत कालदेखि ज्ञानेन्द्र आजीवन नेपालका बदनाम पूर्वअधिराज कुमारका नाममा चिनिए । त्यस कालमा अनेक अकर्मण्य काण्डका शिरोमणि उनी उदारवादी राजतन्त्रात्मक पद्धतिभित्र पनि आलोचित थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नै कर्तुत र कारणले सत्ताच्यूत हुन पुगेका हुन् । स्वयं पूर्वसेनापति रुक्माङ्गद कटुवालले सर्वनाश हुनबाट बच्न र राजतन्त्र कायम राख्न गम्भीर विचार र विवेक राख्न ज्ञानेन्द्र शाहलाई धेरै अनुनय र विनय गरेकै हुन् ।

राजा, राजदरबार, सत्ता, सरकारलाई अनेक प्रभाव र दाबामा पारेर सम्पत्ति हत्याउने कुरामा केन्द्रित हुनेबाहेक शाहको कुनै ध्यान र मन त्यस बेला देखिएन । राज दरबारमा पूर्वराजा वीरेन्द्रको मात्र वंशको नृशंस विनाश गरेपछि राजदरबारभित्रका रहस्यमय अप्रमाणित प्रमाणहरू आमजनताका बीच खुलस्त हुन थाले । वीरेन्द्रको मात्र छानी-छानी वंश नास किन भयो ? अनि ज्ञानेन्द्रको परिवारमात्र किन बालबाल बच्यो र बचाइयो ?

अस्पताल गएकी रत्नराज्य शाह सिकिस्त भएर लम्पसार परेका नाति दीपेन्द्र शाहलाई पुलुक्क हेर्नंसम्म पनि किन गइनन् ? हत्या गरिएको वीरेन्द्रसहितको लाशलाई किन अपमानित गरी सद्गतिभन्दा अघि भूइँमा असरल्ल पारियो ? त्यसबेला मुलुकको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई किन मानसिक र भौतिक रूपमा अत्यन्त त्रसित बनाइयो ? राजदरबार बहिर्गमन गर्नुभन्दा पहिले नै ज्ञानेन्द्रद्वारा वीरेन्द्रको वंश नास गरिएको राजदरबारको कक्ष किन भत्काउन लगाइयो ? नृशंस हत्यापश्चात् रगताम्य दरबार कक्ष र परिसर स्थल किन तुरुन्त धोइपखाली गर्न हतार गरियो ? ज्ञानेन्द्र शाहले चाँदीका थालीमा नेपालका आमाहरूलाई आफ्ना गोडा धुवाएको यति चाँडै बिर्सन सकिन्छ ?

पोखरामा भएको नमिता र सुनीता हत्याकाण्ड दरबारकै संरक्षणमा भएको होइन र ? मठमन्दिर चहारेकै भरमा राजतन्त्र पुनः सत्तासीन हुन सक्छ र ? बाघले साधु बन्न खोज्दा कसले पत्याउला ? पञ्चतन्त्रमा कथामा वृद्ध अवस्थामा थला परेको बुढो बाघले सडकमा हिँड्ने बटुवालाई सुनको चुरो देखाएर आफ्नो आहाराका लागि लोभ्याएजस्तै नाटक गर्न अब गाह्रो छ । राजा वा राजतन्त्रले गर्ने सारा तथा तमाम नाटक समाप्त भइसके । अब कुनै पनि बहानाले काम गर्ने छैन तर राजतन्त्रको मसाने भूतको ताण्डव नृत्य हुँदा पनि तमासा हेर्ने तर विरुद्धमा एक अक्षर पनि नलेख्ने प्रगतिशील लोकतान्त्रिक बुद्धिजीवी रहेसम्म जनविरोधी तन्त्र फेरि जाग्न पनि सक्छ । (इटहरी निवासी लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?