मलेखु कालुपाण्डे मार्गको जोखिमपूर्ण यात्रा

Read Time = 5 mins

-बाबुराम श्रेष्ठ
धादिङ । वर्षायाम लागेसँगै मलेखु कालुपाण्डे मार्ग बर्षै पिच्छे जोखिमपूर्ण बन्दै गएको छ । मलेखु कालुपाण्डे मार्ग हरेक डेढ दुई सय मिटर भन्दा बढी ठूलठूला घुम्तीका कारण उक्त खडक खण्ड जोखिमपूर्ण भन्दै गएको हो । सो सडक खण्डमा अहिले ठाउँ ठाउँ ठाउँमा भाँसिएका छन् भने पहिरो समेत गएको छ ।

हरेक वर्षझैँ यस वर्ष पनि धादिङको नीलकण्ठ नगरपालिका– ८, दारेगौडामा सडक भासिएको छ । तर, मर्मतसम्भारको अभावमा दैनिक सयौँ सवारीसाधनहरू जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । दारेगौडामा हरेक वर्ष वर्षाको समयमा सडक भासिने तथा पहिरोले पुरिने गरे पनि जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीयहरुको भनाई छ । सडक मर्मतको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समेत कुनै चासो देखाएको छैन ।

चुनावको समयमा गाउँ गाउँमा चुनावी एजेण्डा बोकेर घरदलौ गर्ने विभिन्न राजनीति दलका नेताहरु अहिले नाक मुख नै देखाएको छैन । सोही सडक खण्ड भएर दिनमा ३/४ पटक हिड्नु पर्छ कुन बेला के हुन्छ, कति बेला ज्यान जान सक्छ थाहा नै छैन । बालबालिकाहरुलाई एक्लै पठाउन समेत डरै मोर्नु हुन्छ स्थानीय अगुवा भरत ढुंगानाको भनाई छ ।

शुक्रबार काभ्रेदेखि धादिङ आएकी सन्ध्या रञ्जितकारले कालुपाण्डे मार्गको यात्रा जोखिमपूर्ण रहेको बताउनु भयो । राजमार्गका ठूल्ठूला खाल्डा, वर्षातको वेला कतै भासिएका, कतै पहिरोले पुरिएका सडकले यात्रालाई कठिन बनाएको उहाँको भनाइ छ । ६५ भन्दा बढी जिल्लाका नागरिक राजधानी प्रवेश गर्ने मार्गमा गाईजात्रा छ ।

धादिङ–मलेखु सडक झन् घुमाउरो, रिँगटा नै लाग्छ । थोपल खोलाको किनारैमा जोडिएको कालुपाण्डे मार्ग हरेक वर्ष खोतल्लिएर जोखिम बन्दै गएको छ । दारेगौडामा पहिरोका कारण कालुपाण्डे मार्ग भासिएको हो । कालुपाण्डे मार्ग २०५७ सालमा कालोपत्रे गरिएको हो । तर, सडक कालोपत्रे हुनुभन्दा पहिलेदेखि आवतजावत बन्द हुने गरी पहिरो जाँदै आएको सडक पिच गरिएपछि पनि समस्या समाधान भएन । न लगातार पहिरो आउने क्रम रोकियो, न मर्मत नै भयो, न त वैकल्पिक बाटो नै खोजियो । अझै पनि हरेक वर्ष भासिने, चिरा पर्ने र सडक बीचैमा भ्वाङ परिरहेको छ । ठाउँ ठाउँमा पहिरो गए पनि पहिरो रोक्ने दिगो उपाय भने अझै खोजिएको छैन । पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतको नाममा पहिलोपटक यो वर्ष केही भागमा ग्याबिएन जाली लगाइएको थियो । तर, प्राविधिक योजनाविनै लगाइएको जाली सडकसँगै दबिएको छ । कालुपाण्डे मार्गका सुपरभाइजर अर्जुन सापकोटाले हाल गरिएको मर्मत क्षणिक मात्र भएको बताउनु भयो ।

वैकल्पिक बाटोको रूपमा ससाह देउराली चौताराबाट इँटाभट्टा, ससाह खोला, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कन सकिन्छ । तर, कच्ची सडक खण्ड र सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नुहँदा वैकल्पिक बाटो प्रयोग विहीन छ । वैकल्पिक बाटो प्रयोग गर्दा सवारीसाधनले करिब दुई किमि बढी दुरी पार गर्नुपर्छ । तर, इँटाभट्टादेखि मैदी भञ्ज्याङ छिचोल्ने सडक हिलाम्मे छ । सडकभरि खाल्डा खुल्डी छन् । सबै खालका सवारीसाधनहरू सहज रूपमा पार गर्न सकिन्न । ससाह खोला आसपासको करिब पाँच सय मिटर दुरीको सडक बिग्रेको छ । बिग्रेको सडकमा ग्रावेल गर्ने हो भने सबै खालका सवारीसाधनहरू सहजै पार गराउन सकिन्छ । तर, वैकल्पिक बाटो र जीर्ण बनेको कालुपाण्डे मार्गतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?