एमाले केन्द्रीय समिति बैठक, अध्यक्ष ओलीद्वारा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश, बहुमत ल्याउन १६ प्रतिशत मत बढाउने रणनीति

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तत्कालका लागि चुनौतीपूर्ण भए पनि दीर्घकालमा यसले फाइदा पुग्ने विश्लेषण गर्नुभएको छ । शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठन्धन कमजोर मानसिकताका साथ अघि बढेको टिप्पणी गर्नुभएको हो । उहाँले गठबन्धनप्रति एवं राजनीतिक धु्रवीकरणप्रति लक्षित गर्दै भन्नुभएको छ, ‘तत्कालका लागि यो चुनौतीपूर्ण भए पनि दीर्घकालीन हिसाबले यो सकारात्मक छ ।’

ओलीले सत्ता गठबन्धनमा दलहरू थपिँदै जानु कमजोर मानसिकताको उपज भएको उल्लेख गर्नुभएको छ । शनिबार पनि चल्ने बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले भन्नुभएको छ्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लड्न डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोसिस गरिरहेका छन्, यसले उनीहरूको शक्ति, सामथ्र्य र मनोबललाई होइन, कमजोरी, निरीहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ । हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहहरूका टाउकाहरू होइनन् ।’

ओलीले संसदीय चुनावमा पार्टीको मत बढाउन ६ रणनीति अघि सार्नुभएको छ । ओलीले मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्ने उल्लेख गर्नुभएको छ । यस्तै जनतामाझ पार्टीका नीति र एजेण्डाका व्यापक प्रचार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । ओलीले आफ्नो शक्ति र सामथ्र्यप्रति आत्मविश्वास बढाउँदै गठबन्धनको मनोवैज्ञानिक भयबाट पार्टी पंक्ति मुक्त हुनुपर्ने बताउनुभएको छ । यस्तै, एमालेले नयाँ पुस्तामा विशेष ध्यान दिँदै अभियान सञ्चालन गर्नुपर्ने ओलीको भनाइ छ । प्रतिवेदनमा ओलीले लेख्नुभएको छ, ‘हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । यसलाई वृद्धि गर्न नयाँ योजनाका साथ अघि बढ्नुछ । ‘एमालेको मत बढाउनका निम्ति आफ्नो नेतृत्वको सरकारले गरेका कामको सशक्त प्रचार गर्नुपर्ने ओलीको भनाइ छ ।

यसैगरी, एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सरकारले बहुमतको आधारमा जबरजस्ती संसद्बाट पारित गर्न खोजेको जनाएको छ । ओलीको प्रतिवेदनमा कार्यकाल सकिनै लागेको संसद्बाट जबरजस्ती विधेयक पारित गर्न लागेको उल्लेख छ । त्यस्तै, गम्भीर प्रकृतिको आपराधमा समेत केही पैसा वितरण गरेर छुट दिन खोजेको अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख छ ।

‘वैवाहिक अंगीकृतलाई तत्काल नागरिकता दिनुहुन्न’
एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकतासम्बधी समस्या समाधान गर्नका लागि नयाँ ऐन निर्माण गरिनुपर्ने बताउनुभएको छ । शुक्रबार अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालको संविधानमा नागरिकता सम्बन्धमा गरिएको व्यवस्था कार्यान्वयन गर्न संशोधन मात्र पर्याप्त नभएको भन्दै उहाँले संसद्बाट नयाँ ऐन नै निर्माण गरिनुपर्ने धारणा राखिएको छ । नागरिकता विधेयकमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै ‘नयाँ ऐन जारी गर्दा विगतमा संसद्मा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्बन्धित समितिमा भएका छलफल र निष्कर्षलाई आधार बनाइनुपर्ने’ उल्लेख गर्नुभएको छ ।

जन्मका आधारमा नागरिकता पाएका वा जन्मसिद्ध नागरिकका सन्तानले बिना व्यवधान तत्काल नागरिकता पाउनुपर्ने एमालेको धारणा छ । त्यस्तै, गैरआवासीय नेपालीहरूलाई संविधानको भावनाबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गरिनुपर्ने ओलीले उल्लेख गर्नुभएको छ । वैवाहिक अंगीकृतहरूको हकमा निश्चित समयका अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यस अवधिसम्म निजलाई बसोबासका लागि परिचयपत्र वितरण गर्ने र व्यवसायलगायत कामका लागि सहज तुल्याइनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

पार्टीभित्रका अन्तर्घातीमाथि कारबाही हुन्छ : गुरुङ
नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले डकुमेन्टहरू प्राप्त भइरहेको र सोधपुछ पनि चलिरहेकाले त्यो क्रम सकिएपछि दोषीमाथि कारबाही हुने बताउनुभयो ‘कारबाही हुन्छ । भोलिका दिनमा संगठनात्मक अराजकता उत्पन्न नहोस् भनेर कार्यदलले प्रस्ताव ल्याउँछ’, गुरुङले शुक्रबारको बैठकपछि जानकारी दिनुभयो ।

पार्टीको शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा छानबिन कार्यदलका संयोजक विष्णु पौडेलले डकुमेन्टहरू प्राप्त भइरहेको र सोधपुछसमेत भइरहेको जानकारी गराउनुभएको थियो । उहाँले पार्टीभित्र रहेका समस्याहरूलाई कसरी समाधान गर्ने, निर्वाचनका क्रममा देखिएका असमझदारीहरूलाई कसरी समझदारीमा रूपान्तरण गर्ने र गलत कामहरूलाई कसरी सच्चाउने भन्ने बारेमा केही नीतिगत सैद्धान्तिक विषयहरू उल्लेख गरे पनि छानबिनको क्रम नसकिएको जानकारी गराउनुभएको थियो । छानबिनबाट आउने निष्कर्षहरूलाई आवश्यकताका आधारमा पार्टी कमिटीमा प्रस्तुत गर्ने एमालेले जनाएको छ ।

प्रतिवेदनमाथि समूहगत छलफल हुने
अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा समूह विभाजनमार्फत छलफल हुने जानकारी दिनुभयो । पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आ-आफ्ना प्रतिवेदन पेश गर्नुभएको छ । सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग-अलग समूहमा प्रतिवेदनमाथि छलफल हुनेछ ।

शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने नेता रिजालले जानकारी दिनुभयो । बैठकमा सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल सुरु गरिएको छ । अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचनसम्मको पार्टीको कार्यदिशासमेत तय गर्ने एमालेले जनाएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवेदनमाथि पनि शनिबारको बैठकमा छलफल हुनेछ । ओलीको प्रतिवेदनसहित विभिन्न निर्णय गर्दै बैठक शनिबारै सकिने एमालेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?