‘देशलाई समृद्ध बनाउन स्थानीय तह बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ’

Read Time = 3 mins

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गरेको सय दिन पुगेको अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले सरकारले अन्य देशबाट सिक्दै देशलाई समृद्ध बनाउनतर्फ सोच्नुपर्ने बताउनुभयो । नयाँ पुस्ताले अन्धविश्वासमा वैज्ञानिकताको खोजी गर्नुपर्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेँले राजनीतिक कार्यकर्ताले सङ्गठित भएर काम गरे गल्ती कम हुने र राजनीतिक प्रतिबद्धतामा ठूलो नैतिक बल हुने बताउनुभयो ।

नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा राख्न जनप्रतिनिधि र कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले समय सापेक्षित ढङ्गले कर्मचारीलाई तालिम तथा प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सय दिनमा गरेका गतिविधिबारे जानकारी दिँदै भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।

उहाँले नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई इ–लाइब्रेरी बनाउने, ख्वप अस्पताल सय शय्या स्तरोन्नति गर्ने, ख्वप विश्वविद्यालय सञ्चालन गर्ने, कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने, खानेपानी वितरण प्रभावकारी बनाउने, पर्यटन क्षेत्रमा सुधार ल्याउने, अनलाइनमार्फत कर भुक्तानी सुरु गर्ने, हनुमानघाटमा सुधारिएको शवदाह गृह सञ्चालन गर्ने र ख्वप टेलिभिजन सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँलगायतले नगरपालिकाले जनताको पक्षमा काम गर्दै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?