सिद्धार्थ राजमार्गको ४० मिटर सडक भासियो

Read Time = 3 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्गअन्तर्गतको सडक भासिएको छ । विहीबार निरन्तरको वर्षापछि यहाँको ४० मिटर सडकको अधिकांश भाग सडक भासिएको हो ।

पूर्ण रूपमा यातायात सञ्चालन गर्न नसकिने गरी राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गराउन केही समय लाग्ने छ । यहाँ अपराह्न ४ :३० बजेपछि यातायात पूर्ण रुपमा बन्द रहेको छ । हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा रहेको र यस सडक खण्ड हुँदै अत्यधिक भार भएका सवारी साधन सञ्चालन हुँदा सडक भासिने गरेको छ । यहाँ केही वर्षअघि सडक भासिएको थियो । अहिले सडक भासिएपछि बुटवलबाट पाल्पा आउने र पाल्पाबाट बुटवल जाने सवारी साधन र यात्रु हिउँदे खोलामै रोकिएका छन् ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्व लम्सालका अनुसार कमजोर माटोमा निरन्तरको वर्षाका कारण पुरै सडक भासिएको हो । सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ । आज रातभर पानी नपरेमा तीन बटा मेसिनमार्फत भित्ता खनेर भोलीबाट सडक खुलाउने प्रयास हुने सूचना अधिकारी लम्सालले बताउनुभयो । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् । पाल्पाका विभिन्न क्षेत्रबाट तानसेन हुँदै बुटवलका लागि हिडेका सवारीलाई भने प्रहरीले तानसेनदेखि नै रोक लगाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?