दलहरू अडानबाट टसमस नहुँदा बैठक निष्कर्षविहीनताको शृंखला जारी

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट जटिल बनेको छ । दलहरू आ-आफ्नो अडानबाट पछि नहटेपछि सिट बाँडफाँटको लागि निरन्तर हुँदै आएको छलफल आइतबार पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब चार घण्टा चलेको बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भए पनि सहमति जुट्न नसकेपछि बैठक सोमबारका लागि सारिएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच आइतबार सिट बाँडफाँटबारे छलफल भएको थियो ।

सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनका नेताहरूबीच शनिबार साँझ पनि छलफल भएको थियो । शनिबारको छलफललाई नेताहरूले निर्णायकसमेत भनेका थिए । तर, आइतबार सहमति जुटाउने भन्दै शनिबार बैठकबाट निस्किएका नेताहरू आइतबार बिहान भएको छलफलमा पनि सहमति जुटाउन सफल भएनन् । बैठकपछि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको थियो । अहिलेसम्म कार्यदलमा के-के भयो भन्नेबारे आजको बैठकमा जानकारी भयो । कैयौँ कुरा मिलिसकेको छ, कैयौँ मिलाउन बाँकी छ । सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको छ । अझै पनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आइतबार सहमति हुन सकेन । सोमबार फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रूप दिने कुरा भएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो । गठबन्धनमा कार्यदलले करिब ९० सिटमा साझा समझदारी बनाए पनि बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो । त्यसयता विवाद रहेका विषयमा शीर्ष नेताहरू सहमति गर्न छलफलमा जुटेका छन् ।

कार्यदलका सदस्यसमेत रहनुभएका जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादवले बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा सोमबार फेरि छलफल गर्ने गरी बैठक टुंग्याइएको जानकारी दिनुभयो । नेता यादवका अनुसार मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा नै कुरा मिल्न सकेको छैन् ।

कति छ विवाद ?
कुन दलले कति सिट लिने भन्नेमा नै सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको गाँठो फुक्न कठिन भएको हो । गठबन्धनमा रहेका दलले आफ्नो अडानमा केही लचकता देखाएको अवस्थामा सहमति जुट्न कठिन नभएको गठबन्धनका नेताहरूको दाबी छ । सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण कुरा मिलाउन गाह्रो भइरहेको दाबी कार्यदलमा रहेका माओवादी केन्द्रका एक नेताको दाबी छ । विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीले एमालेले जितेका सबै सिटमा दाबी गरेजस्तै जसपाले पनि तत्कालीन राजपा (अहिलेको लोसपा)ले जितेको ठाउँमा दाबी गरिरहेको छ । दुई दलको दाबीका कारण पनि सिट बाँडफाँट टुंगोमा पुग्न नसकेको कार्यदलमै रहेका नेताहरूको जिकिर छ ।

जनता समाजवादीका नेता रामसहायप्रसाद यादवका अनुसार नेपाली कांग्रेसले १०० सिटभन्दा तल नझर्ने दाबी छाडेको छैन । कांग्रेस १०० सिटभन्दा तल झरेमा अन्य दल पनि आ–आफ्नो अडान छाडेर सहमतिको बिन्दुमा आउन सक्ने सम्भावना देखिएको राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यदलका सदस्य हिमलाल पुरीको पनि भनाइ छ । त्यसो त प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले १०० भन्दा तल झर्न सकारात्मक रहेको संकेत यसअघि नै दिइसक्नुभएको छ । कांग्रेसले ८०, माओवादी केन्द्रले ४०, नेकपा एकीकृत समाजवादी र जसपाले २२-२२ र राष्ट्रिय जनमोर्चाले एक सिटमा सहमति जनाउन सक्ने नेताहरूको भनाइ छ । कार्यदलका सदस्य पुरीका अनुसार हालसम्म कुनै पनि दल आफ्नो अडानबाट पछाडि नहटे पनि अनौपचारिक छलफलमा सहमतिका लागि यसरी सिट बाँडफाँट गरेमा मिल्ने सम्भावना देखिएको छ ।

गठबन्धनमा अझै सबैभन्दा बढी समस्या प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा देखिएको छ । मधेश प्रदेशमा जनता समाजवादीले सबैभन्दा बढी सिटमा अडान राखेको छ । बागमती प्रदेशमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच कुरा मिल्न बाँकी छ । लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रको बीचमा अझै बढी विवाद देखिएको छ ।

समानुपातिक उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने तालिका छ । प्रत्यक्ष सिटमा बाँडफाँट नभएसम्म समानुपातिकमा कसको नाम पठाउने वा नपठाउने भन्ने अन्योल हुने भएकाले गठबन्धनलाई सिट बाँडफाँटको विषयले दिनप्रतिदिन थिच्दै गएको छ । निर्वाचन आयोगले प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवार मनोनयन दर्ताको समय असोज २३ गते तोकेको छ ।

कांग्रेसको गढमा अरूलाई टिकट दिए विद्रोह हुन्छ : डा. कोइराला
नेपाली कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्य दललाई टिकट दिए पार्टीमा विद्रोह हुने चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र-६ को बूढीगंगामा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा कोइरालाले कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय पालना गर्नसमेत नेताहरूलाई आग्रह गर्नुभयो ।

पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने बताउँदै कोइरालाले बहुमतसहितको सरकार बनाउन ७०/८० सिट लिएर नहुने जिकिर गर्नुभयो । बहुमतको सरकार बनाउन र पार्टीमा विद्रोह हुन नदिन कांग्रेसले सय सिट पाउनुको विकल्प नरहेको बताउँदै डा. कोइरालाले भन्नुभयो, ‘कांग्रेसले १०० सिटमा उम्मेदवारी दिनुपर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन । हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो । निर्णय पार्टीका सबै नेताले मान्नुपर्छ । गठबन्धनमा चुनाव लडेर जित सुनिश्चित हुने ठानेर अहिले उम्मेदवार बन्ने सूचीमा नाम लेखाउनेको भिड छ । गठबन्धनले सबैलाई जिताउँछ भन्नेमा कसैलाई पनि विश्वास छैन र हामीलाई पनि विश्वास छैन ।’

कांग्रेसलाई युवाको पार्टी बनाउन अवसरवादीहरूलाई यो निर्वाचनबाट पाखा लगाउन आग्रह गर्दै नेता कोइरालाले पार्टी र विचार नबुझेका अवसरवादीहरूले पैसाको बलमा अहिले सबै पार्टीमा हालिमुहाली जमाएको टिप्पणी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?