विद्युत् नहुँदा आफ्नै टर्चको उज्यालोमा उपचार गराउनुपर्ने बाध्यता

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 9 mins

हुम्ला । कहिले सिटामोलको अभाव, कहिले गर्भवती महिलालाई सुत्केरी हुन उज्यालो नहुँदा अँध्यारो रातमा आफ्नै टर्चको उज्यालोको आवश्यक पर्छ । त कहिले भिडियो एक्सरे गर्न विद्युत्को अभाव हुम्लीले भोग्नु परेको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा एक मात्रै जिल्ला अस्पताल छ । जिल्लाभरिका सेवाग्राही उपचारका लागि आउँछन् । अस्पताल पुगेका सेवाग्राहीले समयमै विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशामा पुगेका बिरामीले झन् बढी सास्ती खेप्नु परेको छ ।

नेपाल विद्युत् प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रले नियमित विद्युत् सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको गुनासो पोख्ने गरेका छन् । पाँच सय किलोवाट क्षमता भएको जलविद्युत्ले नियमित आफ्नो सेवा दिन नसक्दा सदरमुकामवासी सहितका सेवाग्राहीले समस्या भोग्दै आउनु परेको छ । केही दिनअघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसको केही दिनअघि विद्युत्को नहर मर्मतका कारण विद्युत् बन्द गरिएको थियो । त्यसपछि सञ्चालनमा आए पनि अहिले लगातारको वर्षाले नहरनजिक पहिरो जाँदा थप समस्या बनाएको छ ।’ उहाँ अगाडि भन्नुहुन्छ, ‘राम्रो मर्मत गर्ने भनेर कर्मचारी खटाएर काम सुरु गरिए पनि वर्षाले समस्या निम्तियो । यसले गर्दा सेवाग्राही अझ अँध्यारोमा रात कटाउनुपर्ने बाध्यतामा छन् ।’

उसो त प्राधिकरण हुम्लाले प्रत्येक वर्ष नेपालीहरूको महान् पर्व दशैँमा विद्युत् सेवा मर्मतका नाममा सेवा बन्द गर्दै आएको छ । यहाँका नागरिकले अँध्यारोमा दशैँ मनाउँदै आउनु परेको छ । दशैँमा मात्रै नभएर हिउँदयाममा समेत प्राधिकरण हुम्लाका सेवाग्राहीले १८ घण्टाको लोडसेडिङको समस्या खेप्दै आउनु परेको छ । विद्युत् नियमित नहुँदा इलेक्ट्रोनिक पसल व्यवसायी, अस्पताल भर्ना भएका बिरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीसहित सदरमुकाममा भएका दुईवटा सञ्चारमाध्यम रेडियोले समेत सास्ति खेप्नु परेको छ ।

टर्च बालेर उपचार
जिल्ला अस्पताल हुम्लामा मंगलबार राति ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र बिरामीले आफ्नै टर्च बालेर उपचार पाएका छन् । प्राधिकरण विद्युत् सेवा मर्मतका लागि बन्द गरेपछि इमेरजेन्सी लगायतका अस्पतालमा भर्ना भएका बिरामीले आफ्नै टर्च बालेर सेवा लिएको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् ।

लोडसेडिङ हुँदा अस्पताल भर्ना भएका बिरामीको काममा बाधा भएको अस्पतालको रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीले गुनासो पोखेका छन् । अस्पताल भर्ना भएका बिरामीहरूलाई रात्रिकालीन अवस्थामा आफ्नै टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको अनमी केशाङ डोल्मा लामाले गुनासो पोख्नुभयो । रातिको समय विद्युत् नहुँदा इमरजेन्सी उपचारमा आएका बिरामीलाई भिडियो एक्सरेदेखि अन्य सेवा दिन आफूहरूलाई कठिनाइ भएको नर्स लामाले गुनासो पोख्नुभयो । अस्पतालमा जडान भएको सोलारले घाम नलाग्दा काम नगरेका कारण रातभर टर्च बालेर बिरामीलाई उपचार गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, विद्युत्बाट हुने सेवा दिन सकिएन, अन्य सेवा टर्च बालेर दियौँ । अझ बिरामीले आफूहरूमाथि गुनासो पोख्नुभयो ।

यस्तै, अक्सिजन दिनुपर्ने बिरामीलाई समयमै अक्सिजन दिन नसकिएको ड्युटीमा खटिएका स्वास्थ्यकर्मीको गुनासो छ । वृद्धवृद्धादेखि अधिकांश अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन दिनुपर्न तर विद्युत् नहुँदा दिन सकिएको छैन । उसो त रातभर बिरामी र ड्युटीमा खटिएका स्वास्थ्यकर्मी पनि अँध्यारोमा बस्ने गरेका छन् । उज्यालोको सेवा नहुँदा भर्ना भएका केही बिरामीले दिसापिसाब गर्न जानसमेत डर लागेको गुनासो पाखे ।
अस्पतालले मागेको समयमा विद्युत् उपलब्ध गराए पनि नियमित नहुँदा समस्या भोग्नुपरेको कार्यालय प्रमुख प्रेम सिंहले बताउनुभयो । १५ शैय्याको जिल्ला अस्पतालमा समस्याले गाँजिरहेको छ ।

दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा
विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकाम सिमकोटवासीसहित सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आउनु परेको छ । दुई हजार दुई सय बढी सेवाग्राहीले केही दिनयता अन्धकारमा रात कटाउँदै आएका छन् । विद्युत् सेवा नहुँदा पुरानै दियालो बालेर रात कटाउनु परेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत्ले सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्म र खार्पुनाथ गाउँपालिकाको वडा १, ४, ५ मा विद्युत् आपूर्ति हुँदै आएको छ । केन्द्रीय लाइन हुम्लामा अझै पुग्न सकेको छैन ।

दशैँमा कमाइ खाने भाँडो
नेपाल विद्युत् प्राधिकरण कार्यालय दशैँमा कर्मचारीका लागि कमाइ खाने भाँडो जस्तै बनेको छ । दशैँ आउन केही दिन मात्रै बाँकी भएर विद्युत् सेवा अवरुद्ध भएको यो वर्ष मात्रै होइन । गत वर्ष त हुम्लीबासीले दशैँ नै अन्धकारमा बिताएका थिए । हिउँद याममा लोडसेडिङको मार खेप्दै आए पनि बर्सेनि दशैँको मुखमा सदरमुकामबासीले यो समस्याको छुटकारा नपाएको गुनासो पोख्ने गरेका छन् ।
क्याप्सन : हुम्लामा विद्युत् सेवा नहुँदा मोबाइलको टर्च बालेर सेवा दिँदै स्वास्थ्यकर्मी, आफ्नै टर्च बालेर उपचार गराउँदै सेवाग्राही ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?