अन्जनको ह्याट्रिकमा नेपालको जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३-१ गोलअन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले अन्जनको ह्याट्रिक मद्दतमा पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । दास्रो हाफमा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काउनुभयो ।

१८औं मिनेटमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको थियो । २७औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्नुभयो । तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिवाउन्डमा अन्जनले गोल गर्नुभएको थियो ।

३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्नुभयो । बंगलादेशी खेलाडीले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत गोल गर्नुभएको हो । योसँगै उहाँ राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा संयुक्त रुपमा तेस्रो स्थानमा उक्लिनुभएको छ ।

राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान निराजन रायमाझी र हरि खड्काको नाममा रहेको छ । उहाँहरूले संयुक्त रूपमा १३ गोल गर्नुभएको छ । त्यसपछि अनिल गुरुङ र भरत खवासले पनि समान १० गोल गर्नुभएको छ । अन्जनको पनि यो १० औं गोल हो ।
ह्याट्रिक गर्नेमा भने उहाँ छैटौं खेलाडी हुनुहुन्छ । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गर्नुभएको छ । नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४-१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक गोल गर्नुभएको थियो ।

५५औं मिनेटमा सजजत हुसेनले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याउनुभयो । त्यसपछि खेलमा थप गोल हुन सकेन । यो जितसँगै नेपाल पछिल्लो पाँच खेलमा बंगलादेशसँग अपराजित रहन सफल भएको छ । नेपाल र बंगलादेशबीच हालसम्म २७ पटक भेट हुँदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएका छन् ।

पछिल्लो पाँच खेलमध्ये नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यसअघि नेपालमै भएको थ्री नेसन्स कपमा बंगलादेशलाई २-१ ले हराएर उपाधि जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?