प्रहरीले मनायो ६७औँ स्थापना दिवस, पूर्व-एआइजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान प्रधानमन्त्री देउवाको निर्देशन

कृष्ण भुसाल
Read Time = 8 mins

काठमाडौं । नेपाल प्रहरीले सोमबार ६७औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार बिहान विशेष समारोहबीच प्रहरीले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिनुभएको थियो । ‘प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु’, देउवाले भन्नुभयो, ‘नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ ।’

यस्तै, उहाँले अपराध अनुसन्धान गर्दा कसैको दबाबमा नपर्न पनि प्रहरीलाई निर्देशन दिनुभयो । ‘कसैको दबाब र प्रभावमा नपरी अपराध नियन्त्रण र अनुसन्धानको दायित्व पूरा गर्न सकल दर्जालाई निर्देशन दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मंसिर ४ गते हुने निर्वाचन भयरहित ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र भयरिहत ढंगले सम्पन्न गर्न कुनै कसुर बाँकी नराख्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु । सीमित स्रोत, साधन, कठिनाइबीच भएका स्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’ उहाँले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवादसमेत दिनुभएको थियो ।

उहाँले भूकम्प र कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा प्रहरीले खेलेको भूमिकाको प्रशंशा गर्दै भन्नुभयो, ‘सीमित स्रोत र साधनबीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ‘नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको छ ।’

प्रहरीले विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले हरेक वर्ष आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको जिकिर गर्नुभयो । गृहमन्त्री खाँणले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरूकोे प्रयोग गरी आपराधिक गतिविधिहरू हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर आपराधिक क्रियाकलापहरूको नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीका जवानहरूको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।

अपराध गरेर जुनसुकै कुनामा लुकेर बसेका व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरी सक्षम छ : प्रहरी महानिरीक्षक सिंह
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपालमा अपराध गरेर विश्वका जुनसुकै कुनामा लुकेर बसेका व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरी सक्षम रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न अपराधमा संलग्न नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई कानुनी दायरामा ल्याई अपराधीलाई संसारका कुनै स्थान सुरक्षित छैन भन्ने सन्देश दिन नेपाल प्रहरी सक्षम भएको छ’, महानिरीक्षक सिंहले भन्नुभयो, ‘यस वर्ष पनि हालसम्म सात जनालाई कतार र मकाओबाट कानुनी दायरामा ल्याएको छ ।’

उहाँले प्रहरी इकाइले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह पनि गर्नुभएको थियो । महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरू अझै पनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराई प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गर्नुभयो । उहाँले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाइहरूमार्फत सेवा प्रवाह गर्दै आएको बताउँदै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको जिकिर गर्नुभयो ।

महानिरीक्षक सिंहले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको बताउनुभयो । उहाँले संगठित अपराध (कर्तव्य ज्यान)लगायत संगठित अपराधमा उल्लेख्य कमी आएको दाबी गर्नुभयो ।

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मानसमेत गरिएको थियो । दिवंगत प्रहरीहरूको सम्मानमा निर्मित स्तम्भमा आगन्तुकहरूले माल्यार्पण पनि गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीले ड्रोनमार्फत प्रहरी दिवसको ब्यानर उडाएको थियो । समारोहमा पूर्व-एआइजी राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?