मुख्यमन्त्री शंकरलाई हटाउन एमाले छाडेका पूर्व सांसद दृघनारायण एमालेमा फर्किए

हिमालय टाइम्स
Read Time = 4 mins

-चन्द्रकान्त खनाल

बुटवल । लुम्बिनी प्रदेशको तत्कालीन समयमा मुख्यमन्त्रीबाट हटाउन प्रमुख भूमिका खेल्नुभएका कपिलवस्तुका दृघनारायण पाण्डे एमालेले डेढ महिनापछि फर्काएको छ । सोमबार एमाले प्रवेश गर्नुभएका पाण्डेले विगतमा गरेको गलत निर्णयको पश्चताप गर्दै फर्किएको दाबी गर्नुभएको छ ।

२०७४ सालको निर्वाचनअघि नेपाली कांग्रेसबाट उम्मेदवारी नपाएपछि एमाले प्रवेश गरेर उहाँले निर्वाचन जित्नुभएको थियो । लुम्बिनी प्रदेशसभामा कपिलवस्तु क्षेत्र नं २ को १ बाट निर्वाचित पाण्डे लुम्बिनी प्रदेशसभामा एमालेको कोटामा सामाजिक विकास समिति सभापति बन्नुभएको थियो । उहाँले विकास समितिको सभापति पाउँदा नेकपा एमालेमा लामो समय एमालेमा रहेर सोही जिल्लाबाट प्रदेशसभामा निर्वाचित विष्णु पन्थीलाई अवसर नदिइएको भन्दै आलोचना भएको थियो ।

तर तीन वर्षपछि उनै नेता पाण्डेले आश्चर्यजनक रुपमा सांसदबाट मात्रै राजीनामा दिएनन् नेकपा एमालेसमेत छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले तत्कालीन सांसद पाण्डेले ठूलो रकमसहित बार्गेनिङ गरेर एमाले छाडेको गम्भीर आरोप लगाउनुभएको थियो । उहाँले राष्ट्रिय सभामा जान पाउने सर्तमा राजीनामा दिनुभएको थियो । नेकपाको औपचारिक विभाजनपछि उहाँको राजीनामाले तत्कालीन अवस्थामा मुख्यमन्त्री सम्हालेका एमाले नेता शंकर पोखरेललाई संकटमा पुराएको थियो ।

नेकपाको औपचारिक विभाजनपछि बहुमतमा रहेको पोखरेल नेतृत्वको सरकारलाई माओवादीले समर्थन फिर्ता लियो । ८७ सदस्य लुम्बिनी प्रदेशसभामा एमालेका ४२ र माओवादी १९ गरी ६१ सांसदको समर्थन थियो । माओवादीका दुई सांसद दधिराम न्यौपाने र दिनेश पन्थीले एमाले रोजेपछि माओवादीले उहाँहरू दुवै जनालाई सांसदबाट तत्काल हटायो र ८५ सदस्य प्रदेश सभा बनेको थियो ।

यो बीचमा उहाँले त्यो कार्यकाल पनि पूरा गर्नुभयो । अहिलेको निर्वाचनअघि उहाँले पुनः प्रदेश सभामा जान इच्छुक रहेको धारणा नेपाली कांग्रेसमा राखिरहनुभएको थियो र पत्रकारहरूलाई पनि भनिरहनुभएको थियो । पार्टीलाई संकटको बेला साथ दिएको हुँ, म पुनः उम्मेदवार हुने हो, उहाँले भन्नुभएको थियो, । तर पटक पटक पार्टी फेरेर अवसर लिइरहेको भन्दै कांग्रेसले उहाँलाई टिकट दिएन । उहाँ पाण्डे सोमबार पुनः एमाले प्रवेश गर्नुभएको छ ।

विगतमा एमाले छाडेर गलत निर्णय भएको मैले महसुस गरेँ, अब एमालेबाहेक कसैले मुलुकलाई निकास दिन सक्दैन, अब बाँकी जीवन पुनः एमालेमा समर्पण गर्नेछु, पार्टीले जे जिम्मेवारी दिन्छ भूमिका पूरा गर्नेछु– पाण्डेले भन्नुभएको छ । कपिलवस्तुका एमाले नेता विष्णु पन्थीले पाण्डेलाई सोमबार पार्टी प्रवेश गराइएको र अहिले केही जिम्मेवारी वा शर्त नभएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?