अष्ट्रेलियाको सम्भावना जीवितै

Read Time = 3 mins

मेलबर्न । आइसिसी टी-२० विश्वकपमा आयोजक अष्ट्रेलियाले सेमिफाइनलको सम्भावना जीवितै राखेको छ । सुपर १२ को समूह एकमा दोस्रो जित निकाल्दै अष्ट्रेलियाले दोस्रो जित हात पारेको हो । अष्ट्रेलियाले आफ्नो चौथो खेल खेल्दा दोस्रो जित हात पारेको हो ।

दोस्रो जित निकाल्दा अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गर्‍यो । अष्ट्रेलियाले प्रस्तुत गरेको १८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १९.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा रोकियो ।

आयरल्याण्डका लोरन टकरले ४८ बलमा नौ चौका र एक छक्कासहित नटआउट ७१ रन जोड्नुभयो । यस्तै, ग्यारेथ डेलानीले १४ तथा पाउल स्ट्रर्लिङ र मार्क एडिएरले ११/११ रन बनाउनुभयो । अष्ट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क र एडम जाम्पाले दुई-दुई विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १७९ रन बनाएको थियो । अष्ट्रेलियाका कप्तान आरोन फिञ्चले ४४ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ६३ रन बनाउनुभयो । ओपनर डेविड वार्नर तीन रनमै आउट हुनुभयो । मिचेल मार्श २२ बलमा दुई चौका र दुई छक्कासहित २८ र ग्लेन म्याक्सवेल १३ रनमा आउट हुनुभयो ।

मार्कस स्टोइनिसले २५ बलमा तीन चौका र एक छक्कासहित ३५ रन बनाउनुभयो । टिम डेविड १० बलमा दुई चौकासहित १५ र म्याथ्यु वेड सात रनमा अविजित रहनुभयो । आयरल्याण्डका ब्यारी म्याकार्थीले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिनुभयो । जोशुवा लिटिलले चार ओभरमा २१ रन खर्चेर दुई विकेट हात पार्नुभयो ।

यस नतिजासँगै समूह एकमा सेमिफाइनलको समीकरण थप रोमाञ्चक भएको छ । अब न्युजिल्याण्ड र अष्ट्रेलियाको समान पाँच–पाँच अंक रहेको छ । अष्ट्रेलियाले चार खेल तथा न्युजिल्याण्डले तीन खेल खेलेको छ । इंग्ल्याण्डको तीन खेलमा तीन र आयरल्याण्डको चार खेलमा तीन अंक छ । श्रीलंका र अफगानिस्तान तीन खेलमा दुई–दुई अंकसाथ पुछारमा छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?