ब्याजदरको विरोध कार्यक्रममा बैंकर पनि

Read Time = 4 mins

काठमाडौं । उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाले आतंक सिर्जना गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्दै बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि ध्यानाकर्षणसमेत गराएका छन् । विगत करिब छ महिनादेखि लगानीयोग्य पुँजी अभाव र तरलता समस्याका नाममा थप ऋण बन्द गरिएको उनीहरूले बताए । बैंकहरूबाट कर्जा असुली, लिलाम गर्ने धम्की र बैंकको ब्याजदरमा अप्रत्यासित वृद्धि गर्न थालिएको भन्दै बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल बिन्दुमा हुनुपर्ने माग गरेका छन् ।

वित्तीय समस्यालाई लिएर देशका विभिन्न ठाउँमा भएका विरोधका कारण अर्थमन्त्रीबाट तरलता, बैंक ब्याजदर, वित्तीय लागत न्यूनीकरणका लागि सुझाव दिन उच्चस्तरीय समिति गठन गरिएको भए पनि हालसम्म त्यसतर्फ सुधारका लागि केही पहल नभएको व्यवसायीले बताए ।

व्यवसायीद्वारा प्रस्तुत ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जबरजस्ती बैंक वित्तीय संस्थाको आधारदर वृद्धि गर्ने काम भएको, बैंक वित्तीय संस्थाले जोखिमका आधारमा मात्र आधारदरमा बढीमा दुई÷तीन प्रतिशतमात्र थप प्रिमियम लिनुपर्नेमा निरीह ऋणीमा मनपरी आठ प्रतिशतसम्म प्रिमियम जोडी ब्याज लिने कुरा सार्वजनिक गरियो । जसबाट पुँजीको लागत बढ्न गई स्वदेशी उत्पादनको प्र्रतिस्पर्धी क्षमता ह्रास हुन पुगेको छ ।’ व्यवसायीका अनुसार हाल उद्योगको उत्पादन ४० देखि ५० प्रतिशत पुग्न पनि कठिन रहेको अवस्था छ । धेरै व्यवसायी विस्थापित भएका छन् । त्यस्तै वस्तुको माग पनि घटेको छ । यस्तो अवस्थामा उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा एक÷दुई प्रतिशतमात्र थप गरी लिन पाइने गरी लगानीयोग्य पुँजी व्यवस्थापन गरिनुपर्छ ।’

त्यसैगरी बैंकको खर्च न्यून गरी स्पेडदर तीन प्रतिशतभित्र रही जोखिमका आधारमा आधारदरमा बढीमा दुई प्रतिशतमात्र थप प्रिमियम लिन पाइने व्यवस्था हुनुपर्ने, बैंकले सेवाशुल्क, कर्जा स्वीकृत शुल्क, एलसी नेगोसिएसन शुल्कमा दोब्बर वृद्धि रोकी गत वर्षभन्दा बढी लिन नपाइने व्यवस्था गरिनुपर्ने पनि माग गरिएको छ । विरोध कार्यक्रममा बैंकरसमेत रहेका उद्यमी व्यवसायी पनि सहभागी भएका थिए ।

काठमाडौं उद्योग वाणिज्य संघ र ललितपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध गरेको आन्दोलनमा एनआइसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघाईसमेत हुनुहुन्थ्यो । संघाई नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै सिटिजन्स बैंकका सञ्चालकसमेत रहनुभएका महासंघका कार्यकारिणी सदस्य प्रवलजंग पाण्डे, महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?