जुनारका विरुवा बेचेर मनग्य आम्दानी

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 5 mins

सिन्धुली । सिजनमा जुनारको फल बेचेर लोभलाग्दो आम्दानी गरेका किसान यतिखेर विरुवा विक्री गरेर पैसा कमाइ गरिरहेका छन् । व्यावसायिक जुनार खेतिमा लागेका किसानलाई अहिले जुनारको विरुवा बेच्ने चटारो छ । जुनारको विरुवा रोप्ने मुख्य सिजन भएकाले सिन्धुलीका किसानलाई भ्याईनभ्याई भएको हो ।

गोलञ्जोर गाउँपालिका हिर्दिङका किसान रमेश थापाले नर्सरीमा उत्पादन गरेको जुनारको विरुवा विक्री र वितरणमा आफू व्यस्त भएको बताउनुभयो । ‘यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको विरुवा विक्री गरे, अझै १० हजार जति विरुवा विक्री गर्न बाँकी छ,’ उहाँले भन्नुभयो ।

हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको विरुवा विक्री गर्ने सिजन सुरु हुन्छ । १० वर्षदेखि व्यावसायिक जुनारका विरुवा उत्पादनमा सक्रिय हुनुभएको थापाले आफ्नो नर्सरीमा जुनारका अतिरिक्त कागती, एभोकाडोको पनि विरुवा उत्पादन गर्न थाल्नु भएको छ । जुनारसहितका बिरुवा विक्र गरेर २५ लाख रुपैयाँ कमाई गरिसकेको उहाँले बताउनुभयो ।

उहासँग जुनारका विरुवा उत्पादन गर्न तीन वटा प्लाष्टिकका घर (स्क्रिन हाउस) छन् । ती घरको ३० हजार विरुवा उत्पादन गर्ने क्षमता छ । प्लाष्टिकको घर बाहिर खुल्ला बगैँचामा पनि कागती, एभोकाडो र खुर्पानेको विरुवा उत्पादनमा जुट्नु भएको छ ।

प्लाष्टिकको घरभित्र उत्पादन भएको जुनारको विरुवा प्रतिगोटा एक सय २५ रुपैयाँ, स्क्रिन हाउस बाहिरको कागतीको एक बर्षको विरुवा प्रतिगोटा २५ रुपैयाँ, दुई वर्षको ६० रुर्ययाँ र स्क्रिन हाउसभित्रको विरुवा १५० रुपैयााँमा विक्री हुँदै आएको छ ।

यता, माझकुभिण्डेका किसान पदमबहादुर ठाडा रोजगारीको खोजीमा लाखौं रुपैयाँ खर्चेर विदेश जाने युवाका लागि प्रेरक व्यक्ति बन्नु भएको छ । आफ्नै गाउँमा ३९ वर्षदेखि गरेको व्यावसायिक नर्सरी कर्मबाट वर्षेनी लाखौँ आम्दानी लिन सफल हुनुहुन्छ । २०३८ सालदेखि नर्सरीको काम गर्दै आउनु भएका किसान ठाडाले असार महिनामामात्रै जुनारका विरुवा विक्री गरेर अढाई लाख आम्दानी लिनु भएको थियो ।

किसान ठाडाले १५ लाखको लगानीमा एकै पटक चार हजार विरुवा उत्पादन गर्ने क्षमताको एउटा स्क्रिन हाउस निर्माण गर्नु भएको छ । स्क्रिन हाउस र बाहिर खुल्ला ठाँउमा पनि जुनारसहित सुन्तलाका विरुवा उत्पादन गर्दै आउनु भएको छ ।

अब तीन हजार वटा जुनारका विरुवा बेच्न बाँकी रहेको उहाँले सुनाउनुभयो । जुनारको विरुवा भदौसम्म रोप्न सकिने भएकाले सबै विक्री हुने उहाँको विश्वास छ । उहाँले कलमी विरुवा उत्पादन गदै आउनुभएको छ । बिजु विरुवा भने उहाँले उत्पादन गर्नुभएको छैन । ‘कलमी विरुवाबाट उत्पादन चोडै लिन सकिने भएकोले किसान पनि कलमी विरुवानै माग गर्दछन्,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनकाअनुसार सिन्धुलीमा जुनारका विरुवा उत्पादन गर्ने नर्सरी २३ वटा दर्ता छन् । ती मध्ये १४ वटा नर्सरीले विरुवा उत्पादन गर्दै आएका छन् । सिन्धुलीमा उत्पादन भएका विरुवा स्थानीय स्तरमा मात्रै नभएर विभिन्न बाहिरी जिल्लाहरुमा समेत पुग्ने गरेको छ ।

परियोजनाका कृषि प्राविधिक जहानबहादुर कार्कीकाअनुसार किसानले हरेक बर्ष जुनारका विरुवा रोप्न बैशाख महिनामा नै खाल्टो खनेर कम्पोष्ट मल हालेर तयार गर्दछन् । मनसुन सुरु भएपछि तयार गरेको खाल्टोमा जुनारका विरुवा रोप्न किसानलाई भ्याईनभ्याई हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?