ब्याजको भार, उद्योगी–व्यवसायीलाई मार

तस्वीर : पाल्पाको मुख्य व्यवसायिक केन्द्र तानसेन बजार ।

हिमालय टाइम्स
Read Time = 9 mins

-रामचन्द्र रायमाझी
पाल्पा । बुटवलमा होटल व्यवसायी गर्दै आउनुभएका गुल्मीका लक्ष्मण अर्यालले २०७६ मा ८.६५ प्रतिशत ब्याजदरमा एक वाणिज्य बैंकबाट कर्जा लिएर व्यवसायी सुरु गर्नुभयो । १० वर्ष अघिको होटल व्यवसाय गर्ने उहाँको सपना त पुरा भयो तर कोभिडका कारण होटल चल्न सकेन । दुई वर्ष कोभिडका कारण बन्द गर्नु परेको होटल व्यवसाय अहिले केही तंग्रीन लागेको थियो । तर व्यवसाय तंग्रीनै लागेका बेला पछिल्लो एक वर्षमा बढेको कर्जाको ब्याजदरले भने होटल नै बैंकले लिलाम गरिदिने अवस्था हो कि भन्ने चिन्ताले उहाँलाई पिरोलिरहेको छ । ‘होटल त तंग्रीन थाल्यो तर, किस्ता तिर्न नसक्दा बैंकले नै फिर्ता लैजाला जस्तो छ’ उहाँ भन्नुहुन्छ, ‘यत्रो महँगो ब्याज कसरी तिर्नु खै ?’

गत वर्षदेखि पाल्पाको तानसेनमा कपडा पसल गर्दै आउनुभएका नवराज भण्डारीलाई पनि ब्याजदर वृद्धिले सकस बनाएको छ । बैंकबाट कर्जा लिएर व्यवसाय सुरु गर्नुभएका भण्डारीले व्यापार समेत घटिरहेका बेला कर्जाको ब्याजदर बढ्दा निन्द्रा नै गायब भएको बताउनुहुन्छ । ‘व्यापार छैन, सटर भाडा त्यतिकै महँगो छ,’ उहाँ भन्नुहुन्छ , ‘भाडा तिर्ने कि बैंकको किस्ता तिर्ने भन्ने अवस्थामा पुगेको छु ।’ ब्याजदर बढेकै कारण व्यवसायबाट पालयन हुनुपर्ने अवस्था आएको भण्डारीको तर्क छ । अहिले नेपालका थुप्रै स्टार्टअप व्यवसाय पनि बढदो ब्याजदरको चपेटामा परेका छन् । स्थापित भइसकेका कतिपय व्यवसाय समेत यसको मार खेपिरहेका छन् । कोभिड महामारीले थिलोथिलो बनाएको व्यवसायी क्षेत्र अहिले अत्यन्त सकसमा रहेको व्यवसायीहरु बताउँछन् । देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएका व्यवसायीलाई नै सरकारले नीतिगत रूपमा नसमेटेका कारण बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई ब्याजमा छुट, पुनर्कर्जा, कर्जाको पुनर्तालिकीकरणजस्ता सुविधा नदिएको पाल्पाका व्यवसायीहरुको भनाई छ । बैंकले ब्याजदर वृद्धि गरेर किस्ता बुझाउन ताकेता गरिरहेको र समयमा ऋण नतिर्ने केही व्यवसायीको नाम समेत सार्वजनिक गर्न थालेपछि पाल्पा, गुल्मी सहित देशभरका उद्योगी, व्यवसायीहरु आन्दोलित भएका छन् ।

राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाप्रति रुष्ट देखिएका छन् । उनीहरुले अहिले ब्याजदर घटाउनका लागि सरकार र राष्ट्र बैंकसमक्ष आग्रह गर्दै आएका छन् । तर, सरकारले कुरा नसुनेको भन्दै व्यवसायी निराश छन् । राष्ट्र बैंकले कर्जाको दुरुपयोग रोक्न केही समयअघि चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याएको थियो । उक्त मार्गदर्शनप्रति उद्योगीले असन्तुष्टि जनाउँदै आएका हुन् । कोभिड–१९ ले थाला परेको व्यवसाय केही तंग्रिने अवस्थामा रहेको बेला विभिन्न वाहानामा सबैतिरबाट व्यवसायीलाई नै मर्का पर्ने आर्थिक नीति ल्याइएका कारण ज्यादै जटिल परिस्थितीसँग व्यवसायी जुध्नुपरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताउनुभयो । उहाँले भन्न्भयो,‘व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुँदा समेत सरकारले वेवास्ता गरेको छ ।’ सरकारले नै व्यवसायीको विषयमा ध्यान नदिएको कारण हामी व्यवसाय बन्द गर्ने वा अन्दोलनमा जाने दुवै बाध्यताको बीचमा उभिएको अध्यक्ष महर्जनको भनाई छ । उहाँले सरकारी अदुरदर्शी नीति र राष्ट्र बैंकले ल्याउने झन्झटिलो नयाँ प्रावधानले व्यवसायिक क्षेत्र आक्रान्त बन्दै गएको बताउनुभयो । महर्जनले बैंकहरुले व्याजदर बढाएर व्यवसायीहरूलाई सडकमा ल्याउने काम गरेको भन्दै अब व्यवसाय बन्द गरेर तालाचावी बैंकलाई बुझाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

उता गुल्मीका उद्योगी व्यवसायीहरुले पनि अस्वभाविक ब्याजदर वृद्धि गरिएको भन्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएका छन् । बैंकहरुले मनलाग्दी ब्याज बढाएको र उद्योगी व्यवसायीहरु पलायन हुने बाध्यात्मक अवस्था आउन लागेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताउनुभयो । ज्ञापनपत्रमा कोभिङ १९ महामारी पछिको वर्तमान देशको अर्थतन्त्रमा देखा परेका आर्थिक संकट तथा नेपाल राष्ट्र बैंकबाट जारी चालु पूँजी निर्देशिका २०७९ को कारण देशभरका उद्योगी व्यवसायी तथा नीजि क्षेत्र धरासायी हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । ‘बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाहमा व्यवसायीहरुले धान्नै नसक्ने गरी व्याजदर वृद्धि तथा अर्थवन्त्रमा नकारात्मक असर पर्ने खालका गतिविधि गरेका कारण उद्योग, कल, कारखाना तथा व्यापार व्यवसायहरु धमाधम बन्द हुँदै गहिरहेको अवस्था छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारका गतिविधिहरु सच्चाई उद्योग व्यवसायीमैत्री नीति निर्माण गर्नका लागि संघ जोडदार माग गर्दछ’ ज्ञापनपत्रमा उल्लेख छ । स्थानीय स्तरमा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरुलाई समेत वर्तमान संकटको यो अवस्थामा व्यवसायीहरुमाथि आतंक सिर्जना गर्ने कार्य समेत तत्काल बन्द गर्न संघले जोडदार माग गरेको छ । बैंकले पछिल्लो समय कर्जामा १८ प्रतिशतसम्म ब्याज लिन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् । बढ्दो ब्याजदरले धान्न गाह्रो भएको उद्योगीहरू बताउँछन् । घरजग्गा कारोबार बन्द हुँदा पनि उद्योगी, व्यवसायीलाई थप सकस भएको छ । तर, राष्ट्र बैंकले तत्काल ब्याजदर नघट्ने संकेत गरेको छ । आन्दोलन गर्दैमा ब्याजदर नघट्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चिति र तरलतामा सुधार नहुँदासम्म ब्याजदर नघट्ने राष्ट्र बैंकको अडान छ । जथाभावी ऋण प्रवाह हुँदा आयातमै जाने भन्दै राष्ट्र बैंकले केही वस्तु आयात प्रतिबन्ध लगाउनुका साथै कर्जा प्रवाहमा कडाइ गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?