नेपाली राजनीतिको नेतृत्व कस्तो हुनु पर्ला ?

Read Time = 16 mins

✍️ मेघनाथ दाहाल

कुनै पनि समाजको राजनीति र यसको नेतृत्व समाजको संरचना र त्यहाँ विद्यमान सामाजिक सांस्कृतिक एवं ऐतिहासिक पृष्ठभूमिबाटै निर्माण भएको पाइन्छ । राजनीतिको समाजसँग नङ र मासुको जस्तो सम्बन्ध हुने भएकाले पनि नेतृत्व समान्यतया स्थानीय वस्तुस्थितिसँग साक्षात्कार भएको आवश्यक ठानिन्छ । यो धेरै हदमा सत्यको नजिक रहेको छ । राजनीति र यससँग जोडिएको नेतृत्व दुःख बाँड्ने र सुखमा रमाउन साथ दिने किसिमको हुनुपर्ने कुरामा सबैखालको समाजमा विद्यमान मान्यता हो । अझ हाम्रो सनातनी समाजमा प्राचीन समयदेखि आजपर्यन्त यही मान्यता छ । यसको अर्को पाटो भनेको सरकारी सेवा सुविधा जनतामाझ कसरी सर्वसुलभ एवं सहज किसिमले पुर्‍याउने भन्ने छ ।

यसलाई हामी सुशासनको नामबाट चिन्ने गरेका छौं । राजनीतिक नेतृत्वको मनमष्तिस्कमा रहने अर्को महत्वपूर्ण पाटो सत्ता हो । मुलुकको संवैधानिक व्यवस्थामा रहेर सत्तामा पुग्ने र जनतामाझ सेवाको आपूर्तिमार्फत जीवनयापन सजिलो बनाउने हो । यो पक्षलाई निष्ठाको रूपमा हेर्ने गरिन्छ । सन् ८० दशकसम्म विश्व परिवेश आजको जस्तो खुला र सर्वसुलभ थिएन । तर ९० तिर आइपुग्दा नपुग्दै समाजका हरेक पक्ष खासमा व्यक्तिको इच्छामात्र नभएर समग्र आर्थिक परिवेश पनि व्यक्तिगत हितमा निर्भर हुँदै गयो । राज्यले सम्पूर्ण आर्थिक बोझ धान्न नसक्ने उद्घोषका साथमा निजीकरण तथा उदारीकरणसँगै विश्वव्यापीकरणको रापले विश्वलाई छपक्कै छोप्यो ।

भारतीय स्वतन्त्रता आन्दोलनको सफलतादेखि नै नेपाली राजनीति प्रत्यक्ष-परोक्ष रूपमा प्रजातान्त्रिक एवं बहुलवादमा आधारित भएर अगाडि बढेको छ । यसका लागि धेरै किसिमका गतिविधि सञ्चालन भएका छन् । सबै गतिविधमा राजनीति नेतृत्वको सहभागिता अहम् रूपमा छ । सबै नेतृत्वहरूले राजनीति र यसको अन्तिम गन्तव्यको रूपमा राखेको विषयवस्तु नेपाली जनताको निम्नस्तरको जीवनस्तरको अभिवृद्धि हो । समयक्रममा यी गतिविधि अनवरत बढेका छन् । समय-समयमा यिनीहरूले विश्राम लिएको जस्तो देखिन्छ । नेपाली प्रजातान्त्रिक समयको सुरुवातीका दिनमा कम्युनिष्टहरूको उपस्थिति नगन्य थियो । तर, पञ्चायतले आफ्नो यात्रा सुरु गरेपछिका दिनमा यिनीहरूले सबै किसिमका गतिविधिमा विस्तार गर्न सफल भए । छयालीस सालको संयुक्त आन्दोलनले प्रजातन्त्रको पुनर्बाहलीमात्र गरेन कि नेपाली कांग्रेस र कम्युनिष्ट घटकहरूको बराबरीजस्तो उपस्थिति राष्ट्रिय राजनीतिमा हुनपुगेको देखिन्छ । अन्तरिम संविधान र नयाँ संविधानको कार्यान्वयनपश्चात् नेपालमा राजतन्त्रात्मक विधिमा आधारित शक्ति सन्तुलनको अवस्था २०६३ सालसम्म मात्र कायम रहृयो ।

नेपाली जनताहरूले २०४८ मा अत्यन्त भारी मतले नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याएका थिए । तर, संगठनभित्रकै रडाकोले मुलुकभित्रका यावत् समस्याको समाधानतर्फ ध्यान पुर्‍याउन सकेन । राजनीतिक रूपमा यो दलभित्रको जात्राको फाइदा २०५१ सालको मध्यावधिमा नेकपा एमालेलाई हुन पुग्यो ।

राजनीतिको मूलधारमा माओवादीहरू आइसकेपछिका सत्र वर्षमा नेपाली जनताले आशातीत प्रतिफल पाउन नसकेकाले नेतृत्वप्रति वितृष्णा बढेर गएको हो । आखिर राजनीतिको नेतृत्वको स्वरूप सामथ्र्य नैतिकता एवं निष्ठा कस्तो भएमा आममानिसले सयमानुकूल विकास अग्रगमन सुशासन तथा आत्मसम्मानपूर्वक बाँच्न पाउने हैसियत पाउने गर्दछन् त । आजको विश्व सैद्धान्तिकभन्दा व्यावहारिक रूपमा के कसरी जनतामाझ वस्तु तथा सेवाको व्यवस्थापनको साथमा सुशासन कायम गर्न सकिन्छ भन्नमा नै ध्यान दिएको पाइन्छ । राजनीतिक दलको आफ्नो दर्शन, विचार, व्यवहार, कार्यकर्ता तथा सैद्धान्तिक हिसाबको आधारमा उसले आफ्ना गतिविधि सञ्चालन गर्ने गर्दछ । स्थानीय, प्रान्तीय तथा संघीय सबै निकायमा उसको उपस्थिति निर्वाचनमार्फत सबै तहका सरकारमा भएको उपस्थितिले घोषणापत्रमा उल्लेखित विचार लागू गर्न कार्यदिशा प्रदान गरेको हुन्छ । र, यिनै वस्तुगत पक्षलाई मध्यनजर गरेर जनताले जनप्रतिनिधिको छनौट गर्ने काम सर्वसाधारणले गरेका हुन्छन् ।

वैचारिक रूपमा स्पष्ट एवं प्रजातान्त्रिक समाजवादी धारको कुरामा कट्टर भए तापनि नेपाली कांग्रेसको जनआधार भनेको अलि हुनेखानेहरूको हाइदुवाइमा सुरुवात भएको दल हो । नेपाली कांग्रेस स्थापनाको सुरुवाती दिनबाटै गाउँघर एवं शहरबजारतिरका तत्कालीन समयका महाजनहरूको सरसहयोगबाट अघि बढेको दलभन्दा अफ्ठ्यारो मान्नु पर्दैन । यद्यपि समान्य कार्यकर्ताको संगठनमा ठूलो योगदान रहेको छ । तर समयको क्रममा पछि यही दलले मुलुकभरिका मजदुरहरूको सबैभन्दा ठूलो राजनीतिक दलको रूमपा स्थापित गर्न सफल भयो । २०४८ भन्दा पनि २०५१ पछि नेपाली कांग्रेसको मजदुर संगठन कमजोर हुँदै गयो । नेकपा एमाले निकट मजदुर संगठनले सबैलाई उछिन्यो । २०६३ सालपछि सबै किसिमका मजदुर संगठनमा माओवादीहरूको वर्चस्व आजपर्यन्त कायम छ । अन्य सबै किसिमका भ्रातृ तथा शुभेच्छुक संगठनमा लगभग यही किसिमको वर्चस्व कामय रहेको पाइन्छ ।

नेपाली जनताले २०४८ मा अत्यन्त भारी मतले नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याएका थिए । तर, संगठनभित्रकै रडाकोले मुलुकभित्रका यावत् समस्याको समाधानतर्फ ध्यान पुर्‍याउन सकेन । राजनीतिक रूपमा यो दलभित्रको जात्राको फाइदा २०५१ सालको मध्यावधिमा नेकपा एमालेलाई हुन पुग्यो । नेकपा एमालेले निर्वाचनपश्चात् सबैभन्दा ठूलो राजनीतिक दल हुने सौभाग्य प्राप्त गर्‍यो । त्यसैगरी २०५६ र दोस्रो संविधानसभाको निर्वाचनमा पनि नेपाली कांग्रेसलाई नेपालीले राम्रोसँग विश्वास गरेका हुन् तर यी सबै कालखण्डमा नेपाली कांग्रेस जनता, मुलुक, आवश्यकता भन्दा आफ्नै दलभित्रका थाङ्ने कुरामा अल्झिन जाँदा आज वामपन्थीसँग कुनै न कुनै रूपमा भरथेग गरेर उभिन पुगेको छ ।

यो केवल कांग्रेसका लागि मात्र नभएर समग्रमा सबै राजनीतिक दल र तिनका नेता भनाउँदाका लागि सबक हो । यो राजनीतिक अस्तव्यस्तताले अन्ततोगत्वा हामीले भित्र्याएको प्रजातान्त्रिक पद्धतिले सुध्रिने तथा बलियो हुने मौकासमेत गुमायो । साथै नेपाली कांग्रेसले जनतासामु दह्रो भएर उभिने हैसियत विस्तारै गुमाउँदै छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेकपा एमालेलाई प्रजातान्त्रिक कम्युनिष्ट दल बनाउने सबैभन्दा ठूलो श्रेय स्वर्गीय मदन भण्डारी र उनले लागू गरेको बहुदलीय जनवादलाई दिने गरिन्छ । यो मान्यता आन्तरिक रूपमा मात्र नभएर पश्चिमा तथा वरिपरिका नेपाल र नेपालीहरूको शुभेच्छुक मित्र एवं छिमेकीले पनि यही मान्यतालाई ध्यान दिएर प्रजातान्त्रिक शक्तिका रूपमा स्वीकार गरेका हुन् । राजनीतिक शक्तिका रूपमा शासकीय सत्तामा एकल रूपमा २०५१ सालमा नौ महिना र नयाँ गणतान्त्रिक संविधान निर्माण तथा माओवादीसँगको एकतापछि केपी ओलीको साढे तीन वर्षजतिमात्र भए तापनि सत्ता राजनीतिमा एमालेको लगभग नेपाली कांग्रेस जत्तिकै उपस्थिति देखिन्छ ।

हालसालै राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र दलप्रतिको नेपालीहरूको मोह यसै पलाएको होइन । समाज जहिले पनि परिवर्तन र विकासको बाटोमा हुन्छ । जसले यी दुई पक्षलाई एकसाथ लिएर हिँड्छ, उसैको पछि लाग्नु आमसर्वसाधारणको स्वभाविक इच्छा हो ।

तर, जनअपेक्षानुरूप काम गर्न भने कांग्रेसभन्दा धेरै पछि छ । कांग्रेस दलभित्रको रडाकोले सधैं पिरोलिरहेको देखिन्छ । एमालेमा काम गर्ने तथा गराउनेबीचको समन्वयात्मक कमजोरी, प्रष्ट भिजन भएका नेता कमी भएको स्पष्टै देखियो । सीमित संख्याका नेता तथा कार्यकर्ता शिष्ठ शालीन एवं मुलुकप्रति जवाफदेहिता नभएकाहरू भएका वा अवैधानिक रूपमा स्ववृद्धिमा लिप्त, सुखसयलमा रमाउँदाको परिणाम मुलुकले आज भोगिरहेको छ । सतही रूपमा गुट, उपगुटको झगडा बाहिर नदेखिएको जस्तो भए तापनि एमालेभित्र झाँगिएको व्यक्ति गुट र उपगुटहरूको सञ्जालका कारण आशातीत काम गर्न सकेको देखिएन । तराई केन्द्रित दलहरूको आफ्नै राजनीतिक फण्डाको कारण नै उनीहरू आफैं कमजोर हुँदै गएका हुन् । सत्तामा हुँदा एउटा कुरो र सत्ताबाहिर हुँदा अर्को कुरा गर्ने चरित्रले उनीहरूलाई सिध्यायो । तराई केन्द्रित राजनीतिबाट सिके राउतहरूको आगमनलाई नेपाली माटोले टेष्ट गर्न भ्याएको छैन । माओवादीहरूको शान्तिपूर्ण राजनीतिको पहिलो निर्वाचन र दोस्रो संविधानसभाको निर्वाचनमै हैसियत स्पष्ट भयो । नेतृत्वको नांगो नाचको कारण दल दश टुक्रामा विभाजित भएर गयो । साथै आमकार्यकर्तामा चरम निराशा छायो । यसले एकातिर समाजवाद उन्मुख समाज निर्माणको आधारमा नराम्रोसँग चोट पुग्न गयो । अर्कोतिर सशस्त्र क्रान्तिबाट निःशस्त्र एवं शान्तिपूर्ण राजनीतिमा आएको कुनै पनि दलको यति छिटो समयको यो स्तरको स्खलन कुनै पनि समाजका लागि धेरै राम्रो मानिँदैन ।

हालसालै राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र दलप्रतिको नेपालीहरूको मोह यसै पलाएको होइन । समाज जहिले पनि परिवर्तन र विकासको बाटोमा हुन्छ । जसले यी दुई पक्षलाई एकसाथ लिएर हिँड्छ, उसैको पछि लाग्नु आमसर्वसाधारणको स्वभाविक इच्छा तथा आकांक्षा हो । हुन त राष्ट्रिय स्वतन्त्र पार्टी आजसम्म पनि ननटेष्टेड दल हो । हालसालै भएको आमनिर्वाचनमा समानुपातिक र प्रत्यक्ष गरी २० सिटको संख्यामा निर्वाचित गराउन सफल भएपछि यो पनि नेपाली राजनीतिको दल हो भन्ने कुरा मानिसले बुझ्न थालेका हुन् । चितवन र तनुहूँमा भएको उपनिर्वाचनमा यसले धेरै मतान्तरले जित हात पा¥यो भने बारामा पछाडि रहृयो ।

अन्त्यमा, नेतृत्वप्रति आममानिसहरूको बुझाइ अरू केही नभएर समान्य न्यूनतम सेवा, सुविधाको साथमा सम्भव भएसम्म पूर्वाधारहरूको विकास तथा जीवनस्तरमा समयसापेक्ष परिवर्तन नै हो । यसका लागि सामाजिक रूपमा सर्वसुलभ शिक्षा, स्वास्थ्य स्थानीय तहमा वातावरण सुहाउँदो एवं जनमुखी विकासका योजना, कार्यान्वयन पर्यटन सामाजिक सांस्कृतिक एवं भौगोलिक आधारमा नाफामुखी, आर्थिक स्वतन्त्रता र व्यावसायिक वातावरणको सुनिश्चितलगायत पक्षमा जुन राजनीतिक दल र तिनको नेतृत्व धारिलो भएर देखिन्छ, उसैप्रति सर्वसाधारण मोहित भएर जाने देखिन्छ । यसका लागि अबका दिनमा मुलुकका पुराना तथा आफूलाई मसिहा भन्नेहरू निकै गहन किसिमले मनन् गर्ने र यथासम्भव समयमै सुध्रिने अवस्था भएको छ । अन्यथा जानाजान भीरबाट लड्नेलाई जो कोहीलाई राम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?