योजनाका काम समयमै सम्पन्न गर्न बुटवलका प्रमुख पाण्डेयको निर्देशन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक र २०७९/८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले माघ मसान्तसम्म योजना सम्झौताको काम पूरा गर्न निर्देशन दिनुभयो ।

उहाँले महाशाखा र शाखाहरुलाई योजनाका काम छिटो भन्दा छिटो प्रक्रियामा अघि बढाउन र सेवाग्राहीका कामलाई तीब्र गतिमा गर्नका लागि निर्देशन दिनुभयो । उहाँले नगरका हरेक काममा आर्थिक अनुशासन र पारदर्शिता अपनाउन तथा सेवाग्राहीमैत्री वातावरण बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

‘बुटवललाई कसरी अरु नगरहरुभन्दा सफल र सम्पन्न बनाउने भन्ने कुरामा सबै जनप्रतिनिधि र कर्मचारीहरुले उत्तिकै चासो र जिम्मेवारी वहन गर्नुपर्छ, उहाँले भन्नुभयो-आवश्यक पर्‍यो भने दैनिक १८ घण्टा काम गरेर भएपनि जनताका काम सहज र समयमै गर्ने गरी मैले त्यसको नेतृत्व गर्छु तपाइँहरु सँगसँगै आउनुहोस् ।’

प्रमुख पाण्डेयले हरेक वडालाई देशकै नमूनायोग्य र प्रभावकारी काम गर्नका लागि आग्रह गर्नुभयो । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौं वर्षसम्म बुटवलबासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, उहाँले भन्नुभयो-त्यसका लागि सकिन्छ हाम्रै बजेटले काम गरौं, सकिदैन संघ, प्रदेश वा अरु दातृ निकायको सहयोगमा गरौं, मैले कहाँनेर अगुवाई गर्नुपर्छ म तयार छु ।’

उहाँले बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकास अन्य क्षेत्रलाई समेत सिक्न लायक हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले मात्रै बुटवल समृद्ध बन्नसक्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वार्षिक योजना सम्पन्न गर्ने गरी काम अघि बढाउन महाशाखा प्रमुखहरुलाई निर्देशन दिनुभयो । राजस्व संकलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै चासोका साथ अघि बढाइने बताउँदै उहाँले बुटवलले सबै योजना समयमै सम्पन्न गर्ने गरी अघि बढेको बताउनुभयो ।

कार्यक्रममा महाशाखा प्रमुखहरु मित्रमणि खनाल, तुल्सा अर्याल, विष्णुप्रसाद खनाल, भुवा प्रसाद लुईटेल, शाखा प्रमुखहरु गौतम रौनियार, युवराज पाण्डे, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले आफ्नो प्रस्तुति तथा समीक्षात्मक प्रतिवेदन र भनाई व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?