आज बुद्धजयन्ती विविध कार्यक्रम गरेर मनाइँदै

Read Time = 5 mins

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज (सोमबार) मनाइँदै छ । भगवान् गौतम बुद्धको २५६६औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरुद्वारा परम्परादेखि हुँदै आएको पूजालगायत कार्य गरेर बुद्धजयन्ती मनाइँदै छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती विशेषरूपमा मनाइँदै छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभएको थियो । उहाँ २९ वर्षको उमेरमा दरबार छोडी दुःख निवारणका लागि निस्कनुभएको थियो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो ।

भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले ज्ञान दिनुभएको छ ।

यसलाई बुद्धले दिएका आर्य अष्टांगिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टांगिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि पर्छन् । यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई ‘एसियाका तारा’ उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

विसंं २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म जयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

आज बुद्ध जयन्तीसँगै, उभौली पर्व, कुर्म जयन्ती, गोरखनाथ जयन्ती, चण्डी पूर्णिमा व्रत र वैशाख स्नान समाप्ति जस्ता पर्व परेका छन् । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य दलका प्रमुख तथा विभिन्न व्यक्तित्वहरूले शुभकामना सन्देश दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?