एसिया ट्राइयाथलन कपको उपाधि बब र मारगेटालाई

हिमालय टाइम्स
Read Time = 6 mins

पोखरा । पोखरामा सम्पन्न २०२३ एसिया कप ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्वर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पार्नुभएको छ । ७५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौडको दूरी बबले ५५ मिनेट ५५ सेकेण्डमा र मारगेटाले एक घण्टा चार मिनेट ५१ सेकेण्ड समयका साथ पूरा गर्दै उपाधि जित्नुभएको छ ।

नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२३ एसिया ट्राइयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपअन्तर्गत भएको प्रतियोगिताको एसिया कपतर्फ दोस्रो स्थानमा पुरुषतर्फ उज्वेकिस्तानका एलेक्जेण्डर कुरिसोभले उक्त दूरी ५५ मिनेट ५७ सेकेण्ड र तेस्रो स्थानमा रहेका लक्जम्वर्गका स्टेफान जाकोसले ५६ मिनेट ०१ सेकेण्डमा पूरा गर्नुभयो ।

चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनेट ०९ सेकेण्ड र पाँचौँ स्थानमा रहेका न्युजिल्याण्डका ओलिभर लारकोम्बेले ५७ मिनेट ५८ सेकेण्ड समयका साथ दूरी पूरा गर्नुभयो । महिलातर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभयो ।

मिनोरीले एक घण्टा पाँच मिनेट १८ सेकेण्डमा र चिसातोले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गर्नुभयो । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौँ स्थानमा जापानकी युका सातो रहनुभयो । मानाकले एक घण्टा छ मिनेट चार सेकेण्ड र सातोले एक घण्टा सात मिनेट ३७ सेकेण्डमा दूरी पूरा गर्नुभयो ।

विश्व ट्राइयाथलन महासंघको नियमबमोजिम घोषित कुल पुरस्कार राशिमध्ये पहिलोले ३० प्रतिशत, दोस्रोले २५ प्रतिशत, तेस्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौँले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसैअनुरूप घोषित कुल ४२ सय डलरबाट शीर्ष तीनले ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाणपत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौँ स्थानका खेलाडीले २१० डलरसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सोही प्रतियोगिताअन्तर्गत भएको दक्षिण एसियन च्याम्पियनसिपमा ट्राइयाथलनतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै उपाधि उचाल्नुभयो । उहाँले निर्धारित दूरी एक घण्टा चार मिनेट १६ सेकेण्डमा पूरा गर्नुभयो । यस्तै, दोस्रो स्थानमा रहेका भारतकै विश्वनाथ यादवले एक घण्टा छ मिनेट २५ सेकेण्ड र तेस्रो स्थानमा रहेका नेपालका वसन्त थारुले एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गर्नुभयो ।

महिलातर्फ पूर्वविजेता भारतकी प्रज्ञा मोहनले एक घण्टा १२ मिनेट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितले एक घण्टा १३ मिनेट ४६ सेकेण्ड समयका साथ दोस्रो स्थान प्राप्त गर्नुभयो । तेस्रो स्थानमा नेपालकी श्रेवी महर्जनले एक घण्टा १८ मिनेटमा दूरी पूरा गर्नुभयो ।

दक्षिण एसियन च्याम्पियनसिपअन्तर्गत जुनियर ट्राइयाथलनमा भारतले एकलौटी पार्‍यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दूरी एक घण्टा दुई मिनेट ४६ सेकेण्ड समयका साथ पूरा गर्दै पहिलो, पार्थ मिराज एक घण्टा छ मिनेट ४२ सेकेण्ड समयका साथ दोस्रो र श्रीदथ सुधिर एक घण्टा १० मिनेट २६ सेकेण्ड समयका साथ तेस्रो हुनुभयो । महिलातर्फ भारतकी सञ्जना सुनिल जोशी एक घण्टा १२ मिनेट २१ सेकेण्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन एक घण्टा १८ मिनेटका साथ दोस्रो र भारतकी देवकी शर्मा एक घण्टा २७ मिनेट आठ सेकेण्डका साथ तेस्रो हुनुभयो ।

राष्ट्रियतर्फ पुरुषमा वसन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमशm पहिलो, दोस्रो र तेस्रो हुनुभयो । वसन्तले एक घण्टा छ मिनेट ५२ सेकेण्ड, दिपेशले एक घण्टा नौ मिनेट १७ सेकेण्ड र मुकेशले एक घण्टा १० मिनेट ४४ सेकेण्ड समयका साथ दूरी पूरा गर्नुभयो । महिलातर्फ श्रेवी महर्जन प्रथम हुनुभयो । दोस्रो स्थानमा रहनुभएकी केशरी थापा मगरले निर्धारित दूरी एक घण्टा ३२ मिनेट ३१ सेकेण्ड समयमा पूरा गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?