निरन्तर आमजनतासँग रहेर काम गरिरहेकी छु : महालक्ष्मी उपाध्याय ‘डिना’

कृष्ण भुसाल
Read Time = 12 mins

मकवानपुरको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा नेकपा एमालेको सूर्य चुनाव चिहृन लिएर निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपकबहादुर सिंहसँग उहाँको प्रतिस्पर्धा हुने देखिन्छ । अहिलेसम्म निर्वाचन जित्न नसक्नुभएकी डिनालाई यसपटक गठबन्धनको सहयोग छ । आफू निरन्तर आमजनतासँग रहेर काम गरिरहेका कारण मकवानपुर १ का जनताले आफूलाई निर्वाचित गर्ने दाबी गर्नुहुने महालक्ष्मी उपाध्याय ‘डिना’सँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

निर्वाचनको तयारी कसरी कस्तो भइरहेको छ ?
यसपटक लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेकी छु । निर्वाचनको तयारी सधैं नै भइरहेको थियो । अहिले आएरमात्रै तयारी गरेको होइन । २०७४ सालमा हारेदेखि नै २०७९ सालको निर्वाचनका लागि म तयारीमा थिएँ । निरन्तर जनताको माझमा छु । जनताको सुखदुःखमा छु । यसपटक जित्ने लक्ष्यका साथ जनताको घरदैलोमा छु । चुनाव लक्षित सभा, घरदैलोलगायतका कार्यक्रम भइरहेको छ । आफ्ना एजेण्डा लिएर म जनताकोमा पुगिरहेकी छु । गठबन्धन र कांग्रेसप्रति जनताको आशा भरोसा बढेको पाएकी छु, जित सुनिश्चित छ ।

यहाँले समानुपातिकको पहिलो नम्बरको नाम छोडेर प्रत्यक्षतर्फको उम्मेदवार बनेको भन्दै आउनुभएको छ, सहजै सांसद हुने बाटो छाडेर किन प्रत्यक्ष चुनावमा होमिनुभयो ?
हो, मलाई पार्टी सभापतिसहितका पदाधिकारी साथीहरूले पनि समानुपातिकमा बसेर देशभर कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्नुहोस् भन्नुभएको थियो । म पार्टीको पदाधिकारी भएकाले पनि समानुपातिकतर्फ मेरो नाम पहिलो नम्बरमा नै थियो । चाहेको भए समानुपातिकबाट सांसद बन्ने निश्चित नै थियो । तर, म जनतासँग काम गरेकी मान्छे । जनताकै सुखदुःखमा साथै रहेर जनताको मन जित्दै चुनाव जितेर आउँछु भनेर प्रत्यक्षमा आएकी हुँ । जनताबाट प्रत्यक्षरूपमा अनुमोदित भएर आउँछु भनेर उम्मेदवारी दिएकी हुँ । म सांसद हुनका लागि मात्रै यहाँ आएकी होइन, जनताबाटै अनुमोदित भएर जनताकै लागि काम गर्न म चुनावी मैदानमा होमिएकी हुँ । सोहीअनुसार जनताले माया पनि गरिरहनुभएको छ । उहाँहरूले यो पटक तपाईंलाई जिताउँछौँ भन्ने वाचा पनि गर्नुभएको छ ।

विगतका हारलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हो, म यसअघि पनि पटक-पटक निर्वाचनमा उम्मेदवार भएर पनि मैले मतदाताको मन जितेँ तर मत पाउन सकिनँ । निर्वाचन हारे पनि जनताले माया र हौसला दिइरहनुभएको छ । मैले जनताबाट अत्यन्त सम्मानजनक मत पाएकाले त्यो हौसला अहिलेसम्म पनि रहिरहेको छ । मैले जनताको साथ, सहयोग र सद्भाव सधैँ पाइरहेकी छु । त्यसैकारण म निरन्तर जनतामाझ रहेर काम पनि गरिरहेकी छु । मतमा पछि परेँ होला तर यहाँका जनताको मप्रतिको सद्भाव र सहयोग ठूलो छ । मेरो निरन्तरको लगाव र सक्रियता देखेर पनि मलाई यो पटक यहाँका जनताले जिताएर मकवानपुर र राष्ट्रको सेवा गर्ने मौका प्रदान गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । त्यसमाथि मलाई यो पटक गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमोर्चालगायतको साथ र सहयोग पनि रहेको छ । एमालेकै पनि धेरै नेता कार्यकर्ताहरू मलाई मतदान गर्ने पक्षमा हुनुहुन्छ ।

जनतामाझ के-कस्ता एजेण्डाहरू लिएर जानुभएको छ ?
हामी पूरा गर्नै नसक्ने एजेण्डा, झुटा आश्वासन र नाराहरूमात्रै दिँदैनौँ । म मकवानपुरमै जन्मिएर यहीँ हुर्किंदै यही क्षेत्रलाई भूगोल बनाएर राजनीतिमा सक्रिय रहेकी छु । मलाई जिल्लाको समस्या, सम्भावना र चुनौती सबै थाहा छ । पुराना एजेण्डा पनि धेरै छन् । मैले धेरै लामो समयदेखि जनसंख्या र विकासको क्षेत्रमा काम गरेँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्सम्म मैले यो क्षेत्रमा काम गरेकी छु । अहिले देशभर नै विकासका नाममा ठूल्ठूला बाटो बनाउने काममात्रै भएको छ । बाटो विकासको एउटा मेरुदण्ड त हो तर जनताको आवश्यकता अरू के–के हुन् ? स्वास्थ्यको पहुँच कत्तिको छ ? शिक्षाको पहुँच कस्तो छ ? भन्ने विषयलाई विशेष प्राथमिकतामा राखेकी छु । आज पनि मकवानपुर साच्चिँकै बत्तीमुनिको अँध्यारो भनेजस्तै केन्द्रीय राजधानी नजिक र प्रदेशको राजधानी भएर पनि विकासमा निकै पछि छ । प्रदेशको राजधानीको दीर्घकालीन विकास र वास्तविक राजधानी कस्तो हुनुपर्छ भन्ने योजना बनाएकी छु । जसरी हामीले सिंहदरबारको अधिकार गाउँघरमा भनिरहेका छौँ, त्यहाँका जनता लाभान्वित भए कि भएनन् भन्ने कुरा सोचेर उनीहरूको जीवनपद्धतिको विकास गर्नेतर्फ लाग्ने योजना बनाएकी छु । महिला, आदिवासी जनजातिहरूको समस्या समाधान र पूर्वाधार विकास मेरा मुख्य एजेण्डा हुन् ।

तपाईंलाई किन मत दिने ?
संविधान निर्माणमा मेरो महत्वपूर्ण भूमिका छ । समावेशी राजनीतिलाई मूल ठाउँमा राखेर मुख्य एजेण्डाका रूपमा हामीले धेरै आवाज उठायौँ । आजको संविधानमा जति पनि अधिकार प्रत्यायोजित भएको छ, त्यो समावेशी राजनीतिलाई हामीले अगाडि बढाएका हौँ । त्यहीअनुसार समाजको विकास र परिवर्तन हुनुपर्छ भन्ने मेरो एजेण्डा हो । सम्पूर्ण जातजातिको अधिकारका लागि पनि म लडेकी छु । विशेषगरी महिलाका लागि आजसम्म महिला हिंसाका कारण, आवश्यक शिक्षाको अभावका कारण, स्वास्थ्यमा पहुँच नभएको लगायत कारण जसरी पीडित भएर बस्नुभएको थियो, यी कुरालाई मध्यनजर गरी आवाज उठाउँदै आएको हुनाले म चुनावी मैदानमा उभिएकी छु । मलाई विश्वास छ– मैले उठाएका एजेण्डा कार्यान्वयन गर्ने पक्षमा पनि मैले काम गर्न सक्छु । त्यसैले मलाई मत दिनु भनेको संविधान, नीति र नियमले दिएको विषयलाई कार्यान्वयन गर्नु हो ।

आफूले चुनाव जित्छु भन्ने के-कस्ता आधार देख्नुभएको छ ?
मैले चुनाव जित्ने आधारहरू धेरै छन् । अहिले म गठबन्धनको उम्मेदवार हु“ । मेरो साथमा कांग्रेस, माओवादी, नेकपा (एस) र अन्य साना दलसमेत रहेका छन् । चुनावी अभियानमा होमिएपछि घरदैलोका क्रममा जनताले मलाई निर्वाचित हुनेमा ढुक्क हुन अनुरोध गर्नुभएको छ । अहिले मेरो अभियानमा युवा, महिला, विभिन्न पेशाकर्मी र अभियन्ताहरू जोडिनुभएको छ । वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पनि गठबन्धन यस क्षेत्रमा बलियो छ भन्ने प्रमाणित भइसकेको छ । मेरो क्षेत्रमा पर्ने ४० वटा वडामध्ये २६ वटामा हामी विजयी भएका छौँ । यस क्षेत्रका सबै स्थानीय तहमा गठबन्धन विजयी भएको छ । यो नै प्रमुख आधार हो । अहिले मकवानपुरमा कांग्रेसका पक्षमा जनलहर बढ्दो छ । यसअघि पनि यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । म महिला उम्मेदवार भएका कारण पनि मतदाताबाट थप माया पाउनेमा ढुक्क रहेकी छु ।

मेरो प्रतिस्पर्धीमा रहेका उम्मेदवारहरू संविधान र व्यवस्थाविरोधी भएका कारण जनता उनीहरूको पक्षमा छैनन् । कोही उम्मेदवारको पार्टी एउटा चुनाव चिहृन अर्को रहेको छ । कोही उम्मेदवार संविधान र व्यवस्थाविरोधी छन् । जसको कारणले गर्दा पनि मलाई थप सहज हुने देखेकी छु ।

यसपालीको चुनावी मैदानमा कांग्रेसले जम्मा चारजना महिलालाई मात्रै प्रत्यक्षको उम्मेदवार बनायो नि ! प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउन हामीले प्रयास गरेका हौँ । अहिले पनि महिलाले प्रत्यक्षमा चुनाव लड्न गाह्रो हुन्छ । जित्न सकिँदैन भन्ने भ्रम हामीमा रहेको छ । त्यो गलत हो । र अहिले पाँच दलको बीचमा गठबन्धन भएकाले पनि धेरै महिला नेतृहरूले टिकट पाउने अवस्था बनेन । जहाँ महिला इच्छुक हुनुहुन्थ्यो, भागबण्डाका कारण त्यहाँ अर्कै पार्टीले टिकट पाउने अवस्था बन्यो । जहाँ हाम्रो भागमा पर्‍यो त्यहाँ इच्छुक महिला कम नै हुनुभयो । तैपनि कांग्रेसले महिलालाई अवसर नदिएको भन्न मिल्दैन । महिलाको संख्या बढाउन र महिलाको आवाज उठाउनका लागि पनि यसपटक हामी महिला उम्मेदवारहरूले जित्नुपर्छ भन्ने मलाई लाग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?