बेल्जियमलाई इजिप्टले हरायो

Read Time = 3 mins

दोहा । फिफा विश्वकप कतार २०२२ को तयारीस्वरूप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमलाई इजिप्टले दुई-एकको हार चखाएको छ । इजिप्टको जितमा मोस्तफा मोहमेद र ट्रेजग्वेटले गोल गर्नुभयो । बेल्जियमका आइकोमा लुइस ओपेन्डाले एक गोल फर्काउनुभयो । खेलको ३४औँ मिनेटमा मोस्तफाको गोलबाट इजिप्टले पहिलो हाफमा एक-शून्यको अग्रता लिएको थियो । ४६औँ मिनेटमा ट्रेजग्वेटले गोल गर्दै इजिप्टको अग्रता दोब्बर पार्नुभयो । उहाँ मोहम्मद सलाहको पासमा गोल गर्न सफल हुनुभएको थियो ।

७६औँ मिनेटमा परिवर्तित खेलाडी ओपेन्डाले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा ल्याउनुभयो । मिचे बात्सुयाइको स्थानका ४६औँ मिनेटमा मैदान छिर्नुभएका ओपेन्डा यान्निक कारास्कोको पासमा गोल गर्न सफल हुनुभएको थियो ।

समूह ‘एफ’ मा रहेको बेल्जियमले २३ नोभेम्बरमा क्यानडा, २७ नोभेम्बरमा मोरोक्को र १ डिसेम्बरमा क्रोएसियासँग खेल्ने तालिका छ । इजिप्ट भने विश्वकपमा छनोट हुन असफल राष्ट्र हो ।

यस्तै, अर्को खेलमा सर्वियाले घरेलु टोली बहराइनमाथि पाँच-एकको फराकिलो जित निकाल्यो । सर्वियाको जितमा डुसान टाडिचले दुई तथा डुसान भ्लाहोभिच, फिलिप जुरुसिस र लुका जोभिचले समान एक गोल गर्नुभयो । बहराइनका अब्दुल्लाह युसुफ हेलालले एक गोल फर्काउनुभयो ।

खेलको आठौँ मिनेटमा डुसान टाडिचको गोलबाट सर्वियाले अग्रता लियो । १५औँ मिनेटमा हेलालले पेनाल्टीमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो । ५०औँ मिनेटमा डुसान टाडिचले डुसान भ्लाहोभिचको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सर्विया खेलमा दुई-एकले अघि बढ्यो । त्यसको एक मिनेटपछि डुसान भ्लाहोभिचले गोल गर्दै सर्वियालाई तीन–एकले अघि बढाउनुभयो ।

८७औँ मिनेटमा फिलिप जुरुसिसले र ९०औँ मिनेटमा लुका जोभिचले डुसान भ्लाहोभिचको पासमा गोल गर्दै सर्वियालाई पाँच-एकको सानदार जित दिलाउनुभयो । विश्वकपको समूह ‘जी’ मा रहेको सर्वियाले २४ नोभेम्बरमा ब्राजिल, २८ नोभेम्बरमा क्यामरुन र २ डिसेम्बरमा स्वीट्जरल्याण्डसँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?