तीन घेरामा तीन लाख सुरक्षाकर्मी, प्रहरीलाई गोली हान्ने सम्मको आदेश

निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन गर्न कुनै कसर बाँकी राख्दैनौँ : प्रहरी प्रवक्ता राई

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । मतदानस्थलको सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले तय गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत मतदान केन्द्रमा ती घेरामा सुरक्षाकर्मी परिचालन गरिएको हो । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना परिचालन गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । अनुसन्धान विभागबाट परिचालित सुरक्षाकर्मी भने निर्वाचन सूक्ष्म निगरानी, अवस्था विश्लेषण र गोप्य सूचना संकलनमा केन्द्रित रहने छन् । उहाँका अनुसार चुनावी सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनका लागि ७५ हजार सेना, ७१ हजार प्रहरी, ३५ हजार सशस्त्र प्रहरी खटाइएको छ । त्यस्तै, एक लाख १५ हजार म्यादी प्रहरीसमेत परिचालन गरिएको छ । अनुसन्धान विभागबाट दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले गत स्थानीय तह निर्वाचन र त्यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यस्तै, सुरक्षा रणनीति कायम गरी सुरक्षाकर्मी खटाएको थियो । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा आज (आइतबार) हुँदै छ । नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । निर्वाचनमा असर पुर्‍याउने व्यक्ति वा समूहविरुद्ध प्रहरीले आवश्यकताअनुसार बल प्रयोगसमेत गर्न सक्ने उहाँले बताउनुभयो । मतदानस्थलमा ढुंगामुढा गर्ने, तोडफोड गर्ने, मतपेटिका लिएर भाग्ने लगायतका गतिविधि गर्नेविरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोलीसमेत हान्न सक्ने आदेश जारी भएको उहाँले बताउनुभयो । ‘निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था गरेका छौँ । सामान्य विवाद हुँदा सम्झाइ-बुझाइ गर्ने त छँदै छ,’ उहाँले भन्नुभयो, ‘मतदानस्थलमा ढुंगामुढा गर्ने, तोडफोड गर्ने, मतपेटिका लिएर भाग्ने लगायतका गतिविधि गर्नेविरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोलीसमेत हान्न सक्ने आदेश जारी भएको छ ।’

भोट हाल्न जाँदा परिचय पत्र अनिवार्य
मतदान गर्न जाँदा मतदाताले परिचय पत्र अनिवार्य रूपमा बोक्नुपर्ने भएको छ । भए मतदाता परिचय पत्र वा नभए आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गर्नुभयो । मतदाताले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तुहरू बोक्न नहुने उहाँले बताउनुभयो । मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतहरूले मतदाताका हरेक गतिविधि निगरानी गरिरहने हुनाले आँखा छलेर अनावश्यक गतिविधि नगर्न उहाँले समेत गराउनुभयो । अरूको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?