अफ्ठेरोमा एमाले : ओलीका अधिकांश निकटस्थ सहयोगीहरू पराजित

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । यसपालिको निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले विश्वास गरेका अधिकांश नेताहरू पराजित भएका छन् । एमालेका वरिष्ठ उपाध्यक्षदेखि महासचिव र अधिकांश ओलीका विश्वास पात्र पराजित भएका हुन् । ओलीको नजिक रहेर काम गर्ने ‘हेभिवेट’ भनिएका नेताहरू नै यसपालि पराजित भएका छन् । ओलीपछिको दोस्रो वरीयतामा रहनुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५ बाट पराजित हुनुभयो । उहाँलाई नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संसद् छिर्नबाट रोक्नुभयो । पोखरेल ओलीको उत्तराधिकारी बन्ने लाइनमा हुनुहुन्थ्यो । अध्यक्ष ओलीपछि सबैभन्दा शक्तिशाली मानिने एमाले महासचिव शंकर पोखरेल पनि दाङ-२ बाट पराजित हुनुभयो । उहाँलाई नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले हराउनुभयो । एमाले अध्यक्ष ओलीको नजिक रहेर पार्टी कार्यकर्ता परिचालन गरिदिने महेश बस्नेत योपटक संसद् छिर्न पाउनुभएन । उहाँलाई कांग्रेसकै दुर्लभ थापाले रोक्नुभयो । ओलीका अर्का विश्वास पात्र प्रदेश नम्बर-१ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई योपटक संसद् छिर्न नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले रोक लगाउनुभयो ।

त्यस्तै, खोटाङबाट विशाल भट्टराई पनि माओवादी केन्द्रका राजकुमार राईसँग पराजित हुनुभयो । संसद्मा ओलीका पक्षमा कडा रूपमा उत्रने पात्रमध्ये विशाल पनि एक हुनुहुन्थ्यो । त्यस्तै, संसद्मा ओलीको शालीन प्रतिरक्षा गर्ने नेता प्रदीप ज्ञवाली पनि पराजित हुनुभयो । उहाँलाई कांग्रेसका चन्द्र भण्डारीले पराजित गर्नुभयो । यस्तै झापाबाट अग्नि खरेल, चितवनबाट सुरेन्द्र पाण्डे, मोरङबाट भानुभक्त ढकाल, काठमाडौं-४ बाट राजन भट्टराई लगायतका नेता पराजित हुुनभएको छ । यद्यपि, ओलीलाई नजिकबाट सहयोग गर्ने र पार्टीका निर्णय कार्यान्वयनमा लागिपर्ने गोकुल बाँस्कोटा र सूर्य थापाले भने चुनाव जित्नुभएको छ । ओलीलाई आगामी संसद्मा थापा र बाँस्कोटा लगायतका केही पात्रले सहयोग गरे पनि विषयगत क्षेत्रमा दक्खल राख्ने ओलीका विश्वास पात्रहरू संसद्मा नहुँदा ओलीलाई केही असर भने पर्नेछ ।

कर्णालीमा ‘निल’, केही जिल्लामा जितविहीन
समग्रमा प्रतिनिधिसभामा कांग्रेसकै हाराहारीमा सिट ल्याए पनि यसपालिको नतिजा एमालेको अपेक्षभन्दा भने निकै भिन्न छ । चुनावी परिणामले बहुमत ल्याएर सरकार गठन गर्ने एमालेको दाबीमा धक्का मात्रै लागेको छैन कतिपय ठाउँमा नराम्रो पराजय भोग्नुपरेको छ । कतिपय जिल्लामा एक सिट पनि जित्न नसकेको एमाले सिंगो कर्णाली प्रदेशमा समेत जितविहीन बनेको छ । गत निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीमा पहिलो दल बनेको एमाले यसपल्ट प्रतिनिधिसभाका सबैजसो सिट गुमाएको हो । ०७४ मा १२ मध्ये ६ सिट जितेर एमाले पहिलो भएको थियो । यसअघि दैलेखका दुवै क्षेत्र जितेको एमालेले अहिले दुवै सिट गुमाएको छ । यसअघि, सुर्खेतका दुवै क्षेत्र जितेको एमालेले यसपटक दुवै गुमाएको छ । गत निर्वाचनमा जितेको डोल्पा पनि यसपालि गुमाएको छ । यसअघि जितेको मुगु पनि यसपालि गुमेको छ ।

कर्णाली प्रदेशमा मात्रै होइन तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङ, दुई क्षेत्र रहेको सिन्धुपाल्चोक, पाँच निर्वाचन क्षेत्र रहेको कैलाली, एक मात्रै निर्वाचन क्षेत्र रहेको रसुवा, र म्याग्दी लगायतका जिल्लामा एमाले जितविहीन बनेको छ । २०७४ सालको निर्वाचनमा एमालेले प्रत्यक्षमा मात्रै ८० सिट जितेको थियो र अध्यक्ष ओलीको अधिकांश विश्वास पात्रले चुनाव जितेका थिए । यसपालि एमालेले ती सिट पनि गुमाएको छ भने ओलीका विश्वास पात्र पनि पराजित भएका छन् ।

एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना कति ?
यसपालिको निर्वाचनमा सबै प्रमुख दलहरूलाई चुनौती दिँदै नयाँ पार्टीहरू उदाएका छन् । भलै ठूलो संख्यामा आउन नसके पनि उनीहरूको उदयले सत्ता समीकरणमा भने असर गर्ने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी यसपालिको निर्वाचनमा उदाएका पार्टी हुन् । उनीहरू मात्रै होइन राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति बढाएको छ । यस्तो अवस्थामा प्रमुख दलहरूबीच सत्ता समीकरणको रस्साकस्सी हुने देखिएको छ ।

यसपालिको चुनावमा कुनै एक दलको बहुमत त परको कुरा दुवै गठबन्धनको पनि बहुमत नआउने देखिएको छ । सत्ता गठबन्धन र एमालेसँग चुनावी तालमेल गरेका दुवै गठबन्धनको बहुमत नआउने देखिएको हो । यसले गर्दा आगामी सरकार कसको बन्छ भन्ने यकिन छैन । सत्ता गठबन्धनलाई बहुमतमा केही सिट अपुग भएको अवस्थामा समेत ऊसँग धेरै विकल्प छैन । सत्ता गठबन्धनबाहेक दलहरू एमालेसँगको तालमेलमा छन् । यसर्थ उनीहरू एमालेकै नेतृत्वमा सरकार बनाउनेतिर जान सक्छन् । तर, एमाले नेतृत्वमा सरकार बन्न त्यतिले मात्रै पुग्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी समेतको साथमा एमाले सरकार बन्ने सम्भावना रहन सक्छ । सबै नतिजा आइनसकेको हुनाले एमाले र सत्ता गठबन्धनले कस्तो रणनीति अवलम्बन गर्छन् भन्ने यकिन छैन । तर, एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव गरेको विवरणहरू आएका छन् । यसले एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भावित कदमहरू चाल्न सक्ने आँकलन गर्न सकिन्छ ।

सरकार बनाउने म्याण्डेट सत्ता गठबन्धनलाई पनि छैन : पोखरेल
एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताउनुभएको छ । दाङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित पोखरेलले शुक्रबार जिल्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको जनमतले राजनीतिक स्थायित्व थप संकटमा परेको बताउनुभयो । ‘नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको छ । त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतर्फ लैजाने चुनौती पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले विकास र समृद्धिका लागि धेरै राजनीतिक दलहरू होइन बलिया राजनीतिक शक्तिको आवश्यकता पर्छ भनेका थियौँ ।’ नेकपा एमालेले मुलुकलाई स्थायित्वतर्फ लैजान गरेको प्रयास जनादेशका दृष्टिकोणले असफल भएको उहाँको भनाइ छ । जनता निराश हुँदा विकल्पहरू आउनेभन्दा पनि लोकतन्त्र संकट पर्न सक्ने कुरालाई सबै दलले बुझ्नुपर्ने उहाँले बताउनुभयो । सरकार गठनका लागि एमालेले मात्रै नभएर सत्ता गठबन्धनले पनि ‘म्याण्डेट’ प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । ‘सरकार कसरी गठन गर्ने भन्ने प्रश्न यस्तो अवस्थामा राजनीतिक दलका सामुन्ने उत्पन्न भएको नयाँ परिस्थिति हो,’ उहाँले भन्नुभयो, ‘स्वार्थमा होइन, नीति र एजेण्डामा आधारित सरकार बन्न सकोस् ।’

एमाले-कांग्रेसबीच धेरै सिटको अन्तर नहुने संकेत
नेकपा (एमाले) पहिलो दल बन्ने प्रतिस्पर्धामा रहेपनि शुक्रबार रातिसम्मको मत परिणाममा नेपाली कांग्रस भन्दा पछि नै छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको शुक्रबार रातिसम्मको प्राप्त मत परिणामअनुसार एमाले प्रत्यक्षमा सबैभन्दा धेरै सिट जितेको नेपाली कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले कांग्रेसको भन्दा केही मात्रै कम सिट जितेको छ । मतगणना गर्न बाँकी र अग्रतामा पनि एमालेले कांग्रेसलाई टक्कर दिएको छ । हालसम्मको परिणामअनुसार एमालेले प्रतिनिधिसभामा ५० हाराहारी सिट जित्ने देखिएको छ । जबकि कांग्रेसले ५० कटाउने निश्चित छ । प्रत्यक्षमा कांग्रेसले केही सिट बढी जिते पनि समानुपातिकमा भने एमालेले बढी मत ल्याउने देखिएको छ । यसले पनि दुई दलको सिट संख्यामा केही फरक पार्ने देखिन्छ । कुल मिलाएर एमाले-कांग्रेसबीच धेरै सिटको अन्तर नहुने देखिन्छ । पाँच दलीय सत्ता गठबन्धनविरुद्ध सीमित क्षेत्रमा तालमेल र बाँकीमा एक्लै प्रतिस्पर्धा गरेको एमालेले कांग्रेसकै हाराहारीमा सिट ल्याउने भने निश्चित भइसकेको छ । प्रतिनिधि सभासँगै एमालेले प्रदेशसभामा पनि कांग्रेसकै हाराहारी सिट ल्याउने देखिएको छ । प्रदेशमा एमाले कांग्रेसभन्दा केही पछि देखिएको छ । यद्यपि, प्रदेशसभामा प्रदेशअनुसार छुट्टाछुट्टै सरकार हुने भएकाले सबै क्षेत्रको नतिजा आइसकेपछि मात्रै यसबारे यकिन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?