‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार-२०७९’ दिपा दाहाललाई प्रदान गरिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गर्नुभएको हो । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गर्नुभएकी उहाँ हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत हुनुहुन्छ। आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएकी उहाँ विभिन्न पुरस्कारबाट पुरस्कृत हुनुहुन्छ ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री र नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युज कारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्य सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार दाहाललाई यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उहाँकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गर्नुभएको हो । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । न्युज कारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा यही मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम र गत वर्ष केशव पौडेल पुरस्कृत हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?