हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाए : निर्वाचन आयोग

Read Time = 5 mins

काठमाडौं । निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औंपचारिक जानकारी गराउनु भएको हो । जस अनुसार एमालेले सबैभन्दा बढि मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भईसकेको छ ।

न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकि रहेको स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘हालसम्म आज २०७९ साल मंसीर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्रि भईसकेको अवस्था छ । सिष्टममा इन्ट्री भईसकेको आधारमा त्यो गणना भएको मतको आधारमा ७ वटा राजनीतिक दलहरुले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छ । त्यसपछि मत गणना भईसकेको निर्वाचन अधिकृतज्यूहरुलाई आयोगबाट समानुपातिक निर्वाचन प्रणाली अन्तरगत प्राप्त गणना गरेको मत सदर मत, बदर मत र राजनीतिक दलहरुले प्राप्त गरेको मतको हार्ड कपी र सफ्ट कपी दुईटै आयोगमा पेश गर्न भनेर हामीले पत्राचार गरेका थियौं । धेरै ठाउँबाट प्राप्त भईसकेको छ । र, प्राप्त भईसकेको आँकडा अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका कार्यक्रममा त्यो इन्ट्र हुँदैछ । त्यसपछि यही क्रममा बाजुरा जिल्ला, दोलखा जिल्ला र स्याङजा जिल्ला तीन वटा ठाउँमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको र प्रदेशसभा प्रत्यक्षतर्फको मत गणना चालु छ । त्यहाँबाट समेत मत गणना समाप्त भएर आयोगमा डाटा आईसकेपछि कुन दलले कति संख्यामा समानुपातिक मत प्राप्त गर्नु भयो भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ । सम्भवत दोलखा, बाजुरा र स्याङजा जिल्लाको मत गणना समाप्त भईसकेपछि समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको दलले प्राप्त गरेको समानुपातिक मत निक्र्यौल गर्न सकिन्छ । सम्भवतः अव धेरै दिन नलाग्ला । मत गणना सुरु भईसकेको छ ती ठाउँहरुमा पनि । अव हामी अनुमान गरौं–२० गते भित्र समानुपातिक निर्वाचन प्रणाली अन्तरगत राजनीतिक दलहरुले प्राप्त गरेको मत संख्या निक्र्यौल गर्न सकिन्छ भन्ने लाग्छ मलाई ।’

आयोगले ४ दिन भित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान समेत गरेको छ । दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्द सूचिमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्द सूचिमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन । त्यसो गर्दा एक तिहाई महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?