बेनीको बजार जता मायाँ उतै छ नजर….

पर्यटक, प्रकृति, पौरखी र प्रतिभावानहरुको जिल्ला बन्दै म्याग्दी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 18 mins

म्याग्दी ।
‘बेनीको बजार, जता मायाँ उतै छ नजर
किरेमिरे जाले रुमाल’
२०१८ सालमा स्व.टीकाबहादुर श्रेष्ठले रचना गरेर टीकाबहादुर श्रेष्ठ र मना छन्त्यालको स्वरमा रेडियो नेपालमा रेकर्ड भई लोकप्रिय बनेको यो गीतले बेनीबजारलाई देश र विदेशमा चिनाएको छ ।

लाहुरेहरुको जिल्ला र मायालु जोडीहरुले नजर जुधाउने प्रेमिल स्थान भनेर चिनिएको म्याग्दीको पहिचान फराकिलो बन्दै जान थालेको छ । अब म्याग्दीलाई पर्यटक,प्रकृति,पौरखी र प्रतिभावानहरुको संगम स्थल भनेर चिनिन थालेको छ । बेनी बजार कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको छ ।

पछिल्लो समय म्याग्दीलाई महावीर पुनको जिल्ला,निर्मल पूर्जाको जिल्ला,खड्ग गर्बुजाको जिल्ला,प्रकाश दुतराजको जिल्ला,घोडेपानी र धौलागिरिको जिल्ला,टिम्मुर र सिस्नो विदेश पठाउने जिल्ला,जलविद्युतको जिल्ला,कला र संस्कृतिको धनी जिल्ला,धेरै रेमिट्यान्स भित्रिने जिल्ला,खेलाडीहरुको जिल्ला भनेर चिनिन थालिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजारको ऐतिहासिक र व्यापारिक महत्व वाइसे/चौविसे राज्यको इतिहाससंग जोडिएको म्याग्दीका इतिहास तथा साहित्यकार चन्द्रप्रकाश बानियाँले उल्लेख गर्नुभएको छ । प्राचिन समयमा भोट-मधेशको व्यापारिक नाका रहेको यो सानो तर सुन्दर बजार कालीगण्डकी करिडोरको निर्माणसंगै फेरी एकपटक उत्तर दक्षिणको व्यापारिक नाका बन्दैछ ।

“म्याग्दीको पहिचान फराकिलो बन्दैछ । अब म्याग्दीलाई लाहुरेहरुको जिल्ला मात्र भनियो भने अन्याय हुन्छ” बेनी बजारका व्यवसायी एवम् पर्यटन अभियन्ता राजेश शाक्यले भन्नुभयो “काली र मंगला (म्याग्दी) नदीको संगम स्थलमा अवस्थित यो जिल्ला अब पर्यटन,प्रकृति,पौरखी र प्रतिभाको संगम स्थल पनि बन्दै जान थालेको छ ।”

शाक्यको यो भनाइसँग धौलागिरि पर्यटन परिषदका अध्यक्ष एवम् म्याग्दीका व्यवसायी अमर बानियाँ पनि सहमत हुनुहुन्छ । अध्यक्ष बानियाँ भन्नुहुन्छ “मुस्ताङ प्रवेशद्धारको रुपमा रहेको म्याग्दीमा वार्षिक करिव ८० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुको आउजाउ हुन्छ । यी पर्यटकहरुलाई दुई दिनसम्म भए पनि जिल्लाका विभिन्न ठाउँहरुमा रोकिन सक्ने वातावरण बनाउने हो भने म्याग्दीको संमृद्धिको गतिलो माध्यम पर्यटन बन्न सक्दछ ।”

“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । ती मध्ये अधिकांश पर्यटकहरु म्याग्दी हुँदै मुस्ताङ पुगेका हुन्” बानियाँले भन्नुभयो ।

एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका र उनीहरुको संख्या ९० हजार बढी रहेको जानकारी दिनुभयो । यो तथ्याङ्क विदेशी पर्यटकहरुको मात्र हो । म्याग्दीमा बाह्य पर्यटकहरु बाहेक आन्तरिक पर्यटकहरुको तथ्याङ्क राख्ने गरिएको छैन ।

प्रकृतिसँग जोडिँदै छ पर्यटन

म्याग्दी प्राकृति दृश्यावलोकनका दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । २ लाख २९ हजार ७ सय ६ वर्ग कि.मिमा समेटिएको र १ लाख १३ हजार ६ सय ४१ जनसंख्या रहेको म्याग्दीका धेरै स्थान घुम्नलायक छन् ।

यसमध्ये सदरमुकाम बेनीबजार रहेको स्थान,घोडेपानी,पुनहिल,रुप्से झरना,रिखारक्षेत्र,गलेश्वरधाम र सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्ड जीवनमा एकपटक पुग्नैपर्न ठाउँमध्येका स्थानहरु हुन् ।

समुद्री सतहदेखि धौलागिरि हिमालसम्म ८ हजार १ सय ६७ मिटर उचाइमा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नेपालका पहाडी जिल्लाहरूमा रहेको सदरमुकामहरूमध्ये प्रकृतीको सुन्दर उपमा मानिन्छ ।

धौलागिरि र गुर्जा हिमाल यसै जिल्लामा पर्छन । मालिकाको धुरी,रिखार धुरी र घोरेपानीको धुरीले गगन चुम्न लागेजस्तो दृश्य देखिने यस जिल्लामा ६ हजार ९ सय ६७ मिटर गहिरो संसारकै सवैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ ले विश्व मानचित्रमा म्याग्दीको पहिचानलाई उजागर गरेको म्याग्दीका इतिहासकार कर्णबहादुर बानियाँ बताउनुहुन्छ ।

“प्रकृतिले म्याग्दीले साथ दिएको छ । समुद्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा रहेको घोडेपानी र ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिलदेखि लिएर ६ हजार ९ सय ६७ मिटर गहिरो संसारकै सवैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ यही जिल्लामा छ” उहाँले भन्नुभयो ।
लालीगुराँसको विशाल जंगल,उकालो पदमार्ग,सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, आँखै अगाडी पंक्तिवद्ध भएर उभिएजस्ता सेता र सुभ्र हिमश्रृङ्खला, आग्र्यानिक खानाका परिकार,व्यवस्थित र सुविधायुक्त बसाइँ,स्वच्छ हावापानी, भौगोलिक विविधताको दृश्यावलोकन यहाँका प्रमुख आकर्षणहरु रहेका उहाँले बताउनुभयो । घोडेपानी सदरमुकाम बेनी बजारदेखि १८ कोषको दुरीमा पर्दछ।

देशैभरी प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिंगा तातोपानी, भूरुङ तातोपानी,मालिका गाउँपालिका ७ देविस्थानमा पर्ने मालिकाको धुरी,टोड्केको धुरी,अन्नपूर्ण गाउँपालिका दानामा रहेको अन्धगल्छी,रुप्से झरना,धवलागिरि गाउँपालिकामा पर्ने ढोरपाटन आरक्ष, धबलागिरि गाउँपालिकाको मुदीमा पर्ने धौलागिरि वेस क्याम्प,अन्नपूर्ण गाउँपालिको हिस्तानमा पर्ने पेरी भरानी ताल,राम्चेको बराह ताल,बेनी नगरपालिकाको ज्यामरुककोटमा पर्ने लभ्लीहिल यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन् ।

एउटै जिल्लामा छन् ११ ओटा हिमाल

म्याग्दी जिल्ला भित्र मात्रै विभिन्न ११ वटा हिमालहरु रहेका छन् । ८ हजार १ सय ६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि ६ हजार ३ सय ८० मिटर उचाइको मानापाथी लगाएतका ११ वटा हिमालले म्याग्दीको सौन्दर्यमा ‘चार चाँद’लगाइदिएका छन् ।

६ वटै स्थानीय तहका ४५ वटै वडाबाट विहान उठेने वित्तिकै हिमाल देख्न पाइन्छ । यहाँ धौलागिरि दोस्रो (७६९२), धौलागिरि तेस्रो (७५३५), धौलागिरि चौंथो (७६६१), धौलागिरि पाँचौ (७६१८), धौलागिरि छैठौं (७२८८),चुरेन हिमाल ( ७३८५),निलगिरि हिमाल, अन्नपूर्ण हिमाल (८०८१),मानापाथी हिमाल, र गुर्जा हिमाल (७१९३) रहेका छन् ।

बढ्दै छ पौरखीहरुको पहिचान

कान्लाको सिस्नो र खोल्साखाल्सीको टिम्मुरदेखि लिएर बगैंचामा लटरम्मै फलेका सुन्तला होउन् वा घरेलु तानबाट बुनेका अल्लोको कपडादेखि लिएर जंगलका जडिबुटीहरु किन नहोउन् ती सबै प्राकृतिक स्रोतहरुलाई यहाँका पौरखीहरुले आय आर्जनका गतिला माध्यम बनाउँदै गएका छन् ।

यहाँ निर्माण भएका घरेलु प्रविधिबाट निर्मित नेपाली हातेकागज र अल्लोका कपडा देखि लिएर सिस्नो र टिम्मुरको धुलोसम्म काठमाण्डौं,पोखरा जस्ता सहरहरुमा मात्रै होइन विदेशमा समेत निर्यात हुने गरेका दरबाङका उद्यमी एवम् स्थानीय बुद्धिजीवि मोतिराज गौतमले बताउनुभयो ।
“हामी जाँगरिला मात्रै होइनौ सिपालु पनि छौँ,पौरख गर्ने जाँगर त छ तर राज्यको सहयोग र प्रोत्साहन अलि कम छ” उहाँले भन्नुभयो “पौरखीहरुको पौरखलाई राज्यले सम्मान गर्दै उचित वातावरण तयार गरिदिने हो भने ससाना उद्यमहरुबाट पनि स्वावलम्वी बन्न सक्ने प्रशस्त स्रोतहरु जिल्लामा रहेका छन् ।”
घरेलु तथा साना उद्योग विकास समितिको एक तथ्याङ्क अनुसार साना तथा कुटिर उद्योगहरुको अवस्था खस्कदो अवस्थामा छ । तर,संचालनमा रहेका तीन सय बढी उद्योगहरुले उत्पादन गरेका सामाग्रीहरु जिल्लामा मात्रै होइन देशका विभिन्न सहरहरु र विदेशमा समेत निर्यात हुने गरेका छन् । यहाँका दुई हजारबढी कृषक महिलाहरुले व्यवसायीक रुपमा तरकारी तथा फलफूल खेती गरेर मनग्गे आम्दानी गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

प्रतिभाका धनी छन् म्याग्देली

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनदेखि देशैभरी चर्चित कान्छा गायक प्रकाश दुतराज अहिले निकै चर्चामा हुनुहुन्छ ।
उहाँहरु मात्रै होइन म्याग्देली भूगोलमा जन्मिनुभएका धेरै व्यक्तिहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान बनाइसक्नुभएको छ । उहाँहरुको प्रतिभाले म्याग्दीलाई प्रतिभावान व्यक्तिहरुको जिल्ला भनेर पहिचान बनाएको छ ।

शिक्षा,विज्ञान प्रविधि,गीत संगीत,खेलकुद,साहित्य,कला हरेक क्षेत्रमा म्याग्दीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको म्याग्दीका पुराना पत्रकार (राससका), एवम् नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महतले बताउनुभयो ।

“हरेक क्षेत्रका प्रतिभाहरु यहाँ जन्मिएका छन्,ती प्रतिभाहरुको सदुपयोग गर्न र उनीहरुलाई प्रोत्साहित गर्न अब ढिला गर्नु हुँदैन” महतले भन्नुभयो “महाबीर पुनलाई अमेरिकाले चिन्यो हामीले अझै चिन्न सकेका छैनौं,खड्ग गर्बुजालाई भीरपाखा,बन जंगल,खोलानालाले समेत चिने तर हामी भने पप र ¥याप गीत संगीतलाई पछ्याउँदै छौँ,धेरै प्रतिभाहरु अझै ओझेलमा हुनुहुन्छ ।”

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही, मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँ,अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ,भारतमा दोस्रो पाणिनी (व्याकरणकार) को उपाधी प्राप्त स्व.गोविन्दाचार्य, लगाएतका थुप्रै प्रतिभावान व्यक्तिहरु म्याग्दीले जन्माइसकेको छ ।

यस्तो छ बेनी बजारको इतिहास

पूर्व सांसद समेत रहनुभएका,मदनपुरस्कार प्राप्त ऐतिहासिक उपन्यास महारानीका लेखक चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७ औं शताब्दीमा स्थापना भएको हो । विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भयो । १६ हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए ।

त्यसपछि राजा राजबम मल्लले पर्वत राज्य सम्हाले । उनै राजाले आफ्नो राज्यभित्रका नागरिकको आर्थिक उपार्जनको बाटो र राज्य सञ्चालनको खर्चको खोजी गर्दा बेनीले व्यवसायिक यात्राको सुरुआत गरेको बानियाँले आफ्ना कृतिमा उल्लेख गर्नुभएको छ ।
तत्कालीन समयमा बेनी बजार चौबाटोमा पर्दथ्यो । मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजबमले व्यापारको अक्कल लगाए । खानीहरु सञ्चालनमा आए । ज्यामरुककोटबाट ल्याइएका कालीगडहरुले तामा र फलाम निकाल्न थाले ।

लेखक बानियाँका अनुसार अरु बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहेको भएपनि बेनी बजारको मात्र त्यस्तो इतिहास छ जुन बजार दलित व्यापारी कामी समुदायका नागरिकले उठाएका हुन् । बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुहरुको व्यापार सुरु भएको इतिहास छ ।

कालीखोलाले छोडेका चट्टानमा उब्जाउ नभएकै कारण विकल्पको रुपमा बेनीमा व्यापार सुरु भएको इतिहासकार बानियाँको भनाइ छ । पर्वत राज्यका ७ औं राजा मलेबम मल्लले पहिले बेनीबजार भन्दा केही टाढामाथि (ढोलठान) रहेको दरबार बेनीमा सारे । उनको राजकाज त्यहींबाट हुन थाल्यो र कर उठाउन थाले । त्यसपछि बेनीको व्यापार थप बढेको थियो । बाइसे चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ ।

कसरी पुग्ने म्याग्दी ?

नेपालका विभिन्न स्थानबाट पनि म्याग्दी आउन खासै गाह्रो छैन । २ सय ८५ किलोमिटरको दुरीमा रहेको काठमाडौंबाट दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रत्येक घन्टा सुविधायुक्त रात्रिबस सेवा उपलब्ध छ ।

त्यसका साथै पोखरा,नारायणघाट,बुटवल,भैरहवा,सुनौली लगाएतका सहरहरुबाट पनि म्याग्दीको सदरमुकामसम्म आउन दैनिक दिवा र रात्रि बसको व्यवस्था गरिएको यातायात व्यवसायीहरुको भनाइ रहेको छ ।

सदरमुकाम बेनीबजार पुगेपछि यहाँ बस्न खान स्तरीय होटेल र बासको व्यवस्था छ । सस्तो, सुलभ र आरामदायी रूपमा आगन्तुकका लागि सेवा दिन आफूहरू तम्तयार रहेको होटल व्यवसायीहरुको भनाइ छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?