कोरोना नसकिँदै फेरि अर्को भाइरसको पिरलो, १५ देशमा फैलियो ‘मंकीपक्स’, विश्वभर फैलिन सक्ने डब्ल्युएचओको चेतावनी

हिमालय टाइम्स
Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट छुटकारा नमिल्दै विश्वमा फेरि अर्को महामारी फैलिन थालेको छ । केही दिनयता दुई दर्जनभन्दा बढी देशहरूमा ‘मंकीपक्स’ नामक संक्रमण फैलिन थालेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई स्मलपक्स (विफर)कै एउटा प्रजाति भएको जनाएको छ । विभिन्न देशमा मंकीपक्स भाइरसको संक्रमण देखिएसँगै विश्व समुदायमा चिन्ता बढेको छ ।

डब्लुएचओका अनुसार हालसम्म १५ देशमा यसको संक्रमण देखिइसकेको छ  । ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० बारे अनुसन्धान भइरहेको संगठनले जनाएको छ  । विफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ  । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ  । संक्रमण भएको खण्डमा ज्वरो आउने, जिउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ  । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।

यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ । भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा भने सर्दैन, जसका कारण मंकीपक्स कोरोना जस्तो आम रूपमा फैलने सम्भावना देखिन्न । तर, पछिल्लो समय यो भाइरस असामान्य रूपमा देखा परेको भन्दै अनुसन्धान गरिरहेका वैज्ञानिकसमेत अचम्ममा परेका छन् । डब्लुएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ वा हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ  । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ  । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले मंकीपक्सको विस्तार विश्वव्यापी रूपमा फैलिन सक्ने चेतावनी दिएको छ । डब्ल्युएचओले हाल १५ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी दिएको हो । विश्व स्वास्थ्य संगठनले मंकीपक्स रोग ज्यादै घातक नभए पनि विश्वव्यापी संक्रमण भएमा स्वास्थ्य क्षेत्रमा अर्को समस्या ल्याउन सक्ने बताएको छ ।
मंकीपक्सको संक्रमणलाई न्यूनीकरण गर्ने विषयमा छिट्टै उपाए सुझाउने पनि डब्ल्युएचओले जनाएको छ ।

विशेष सावधानी अपनाउन सरकारको आग्रह
मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विश्वमा संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको बताउनुभयो । ‘विदेशबाट आउनेहरूले कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाइको कुरामा ध्यान दिनुहोला । उहाँले भन्नुभयो, ‘मास्कको प्रयोग गर्नुपर्छ । ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ ।’

मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको उहाँको भनाइ छ । तर, स्वास्थ्यमा ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । मंकीपक्स भएको तीनदेखि चार हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

https://youtu.be/1myFpPG7r4w

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?