निक्षेपको ब्याजदर घटाउने निर्णयको स्वागत

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले अर्थतन्त्रमा लगानीयोग्य पुँजी अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएका बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमतिको स्वागत गरेको छ । मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका जसले अर्थतन्त्र नै संकुचित बनाइरहेको सिएनआईको भनाइ छ । निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिँदै आएको सिएनआईले बैंकर्सको पछिल्लो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने विश्वास व्यक्त गरेको छ ।

निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने, जसले आधार दर(बेसरेट) र कर्जाको ब्याजदर पनि घटाउने सिएनआईको आंकलन छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने बताइएको छ ।

सिएनआईले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तार योजनालाई अघि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने सिएनआईको भनाइ छ । नेपाल राष्ट्र बैंकले गत साता चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केहीमात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको बताइएको छ । साथै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न पनि सिएनआईले आग्रह गरेको छ ।

नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको बैठकले पुस महिनामा लागू ब्याजदर घटाएर माघ महिनामा ११ प्रतिशत कायम गर्ने निर्णय गरेका हुन् । राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा अर्को महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको छ । जसमा बैंकहरूले अघिल्लो महिनामा लागू ब्याजदरको औसतले १० प्रतिशतले थपघट गरेर ब्याजदर तोक्न पाउँछन् । बैंकहरूले माघमा पुसमा लागू निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । हाल वाणिज्य बैंकहरूले मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिइरहेका छन् भने साधारण बचतको ब्याजदर ७.१३३ प्रतिशत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?