निर्माण व्यवसायीको लापरबाहीका कारण दाङको सडक विस्तार अलपत्र

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवा सम्मको २८ दशमलव १९ किलोमिटर सडक विस्तारको काम अलपत्र परेको छ । उक्त सडकखण्ड अन्तर्गत १४ दशमलव ४६ किलोमिटर सडक चारलेन र १३ दशमलव ७३ किलोमिटर सडक दुईलेनका रूपमा निर्माण गर्ने गरी काम अघि बढे पनि विगत सात महिनादेखि काम ठप्प छ । करिब चार वर्षको अवधिमा सडक निर्माणका लागि सातवटा निर्माण कम्पनीहरूले काम गरे पनि सडकको प्रगतिको अवस्था भने करिब १० प्रतिशत मात्रै भएको छ । सडक निर्माणको सम्झौता म्याद २०८० असार २० गतेसम्म थपिएको भए पनि निर्माण पक्षले थपिएको समय अवधिमा कुनै पनि काम नगरेकाले सडक निर्माणको ठेक्का प्रक्रिया रद्द गर्ने तयारीमा रहेको भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा-कृष्णनगर, लमही-घोराही-तुलसीपुर सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका नासु सनत तिवारीले निर्माण व्यवसायीले काम नगरेको र सम्पर्कमा पनि नभएका कारण करिब नौ लाख अमेरिकी डलर बैंक जमानत जफत गरेको बताउनुभयो । जमानत जफत गर्दा पनि निर्माण व्यवसायीले काम गर्ने नगर्ने कुनै खबर नगरेको नासु तिवारीले बताउनुभयो । ‘काम गर्ने म्याद २०८० असार २० सम्म थप भएकोले कार्यसम्पादन जमानत जफत भएको छैन’, आयोजनाका नासु तिवारीले भने, ‘अहिले करिब नौ लाख अमेरिकी डलर बैंक जमानत जफत गरेका छौँ । उसको अझै काम गर्ने समय भएकाले सबै जफत गरेका छैनौँ ।’ उहाँले सबै जफत गर्दा रकम बढ्नेसमेत बताउनुभयो ।

२८ जनवरी २०१९ मा एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलरमा सडक विस्तारको काम गर्ने गरी भारतको तथ्य इञ्जिनियरिङ कम्पनीसँग सम्झौता भएको थियो । सडक निर्माणको काम सुरुमा भारतको तथ्य इञ्जिनियरिङ कम्पनीको कागजातबाट अनुप पाण्डेले अष्टभैरव निर्माण सेवाबाट काम गरेका थिए तर पाण्डेयले काम गर्न नसकेपछि २२ अक्टोबर २०२१ मा भारतको तथ्य इञ्जिनियरिङ कम्पनीका प्रोप्राइटर प्रवीण पाण्डेले अनुप पाण्डेलाई कामबाट हटाई आधिकारिक प्रतिनिधि एकेन्द्र खड्कालाई सडक निर्माणको जिम्मा दिए । एकेन्द्रबाट पनि सडक विस्तारको काम हुन नसकेपछि कम्पनीले तीन टुक्रामा सडक विस्तारको काम गर्ने गरी बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई कामको जिम्मा दिएको थियो तर त्यी कम्पनीबाट पनि कुनै काम नभएपछि कार्यालयले १४ मार्च २०२२ मा ठेक्का प्रक्रिया रद्द गर्ने चेतावनी दिएको थियो ।

त्यसपछि फोरलेन सडकको काम पेटी ठेकेदारका रूपमा काठमाडौंको श्रेष्ठ कन्स्ट्रक्सनले गर्दै आएको थियो । २०७८ जेठ ६ गते सडक निर्माण गरिसक्नुपर्नेमा प्रगति ७ प्रतिशत २०७८ साउन २७ मा सक्ने गरी म्याद थपेपछि पनि काम भएन र २०७८ पुस २८ गते सम्मका लागि म्याद थप गरिएको थियो । दुईपटक थपेको म्याद गुजारेको निर्माण कम्पनीलाई फेरि २०७९ वैशाख २९ गतेसम्म काम सक्ने गरी म्याद थप्दा पनि काम नगरेपछि अहिले ठेक्का प्रक्रिया तोड्ने गरी आयोजनाले सोचेको नासु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठ कन्स्ट्रक्सनको जमानत जफत हुने प्रक्रिया सुरु भइसके पनि निर्माण कम्पनी सम्पर्कमा नआएको बताउनुभयो । ‘निर्माण कम्पनीको मनशाय बुझ्दा ऊ काम गर्ने पक्षमा छैन’, उहाँले भन्नुभयो, ‘त्यसैले गर्दा पनि ठेक्का तोड्नुको विकल्प छैन तर अहिले कानुनी बाध्यताका कारण तोड्न मिल्दैन ।’

तिवारीका अनुसार ठेक्का रद्द गर्न सम्पूर्ण कामको मूल्यांकन गर्नुपर्ने भए पनि अझै काम गर्नका लागि निर्माण कम्पनीको समय भएकाले त्यसको हिसाबकिताब भएपछि सम्झौता तोडिने बताउनुभयो । ‘२०८० असारपछि ठेक्का तोडेर बल्ल नयाँ टेण्डरको काम हुनसक्छ’, उहाँले भन्नुभयो, ‘तर, अहिले सम्झौताअनुसार तोड्न नमिल्ने भए पनि निर्माण कम्पनीले पटक–पटक गरेको सम्झौताअनुसार काम गरेको छैन, जसले गर्दा उसले अब काम गर्दैन भन्ने बुझ्न सकिन्छ । त्यहीअनुसार प्रक्रिया पुर्‍याएर यस आर्थिक वर्षको अन्त्यमा सम्झौता तोड्ने काम हुनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?