स्थानीय निर्वाचनमा लाजमर्दो अन्तर्घात भयो : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताउनुभएको छ । बुधबार नेकपा (एमाले)को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताउनुभएको हो । ओलीले एमाले नहारेको पनि बताउनुभएको छ । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले पपुलर मत नघटेकाले हारेको भन्न नमिल्ने जिकिर गर्नुभयो । ‘अलिकति हो सिट घटेको, पपुलर मत घटेको छैन । यसलाई हारेको भन्न मिल्दैन’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भन्नुभयो ।

एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष थियो । ‘प्रमुख बाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ एमाले सांसद शेरबहादुर तामाङले भन्नुभयो, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’ के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

एमालेले ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै अध्यक्ष ओलीले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । अध्यक्ष ओलीको सम्बोधनबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘हाम्रा पार्टीका अध्यक्षले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको बारेमा संक्षिप्त विश्लेषण गर्दै धेरै ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा नेकपा(एमाले) ले जुन परिणाम प्राप्त गरेको छ । त्यो सन्तोषजनक नभए पनि त्यसले नेकपा(एमाले)लाई थप सुसंगठित भएर, सुव्यवस्थित भएर, सुविचारित भएर आगामी दिनमा थप निर्वाचनका लागि तयारी गर्नुपर्छ भन्ने निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।’

स्थानीय तहको निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन सकेको छैन । स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ । देशभरमा २०० भन्दा बढी स्थानमा मात्र एमालेले नेतृत्व पाएको छ ।

बैठकमा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चिरफार गर्दै सशक्त, तर्क युक्त र तथ्यपरक ढंगले संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ । संघीय संसद्मा मंगलबार प्रस्तुुत गरिएको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?