कालीकोटमा अटो दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका –५ खल्लागाडमा शुक्रबार दिउँसो अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ न. को अटो खल्लागाड मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले बताउनुभएको छ ।

कर्णाली राजमार्गको जुविथा गाल्जे नाग्म सडकखण्डमा पर्ने खल्लागाड मोडमा अनियन्त्रित भई अटो दुर्घटना हुँदा जुम्ला हिमा–६ का ३५ वर्षीय विर्षबहादुर शाहीको मृत्यु भएको छ भने उनकी पत्नी २९ वर्षीया तारा शाही र ५ वर्षीय छोरा गौरव घाइते छन् । घाइतेलाई थप उपचारका लागि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

लास पनि पोस्टमार्टमका लागि जुम्ला पठाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताउनुभयो । घटनास्थलबाट मृतकको शव प्रहरीले उठाएर एम्बुलेन्समा राखेको भन्दै घटनास्थल केही समय तनावग्रस्त भएको थियो ।

अटो चालक जुम्ला हिमा–४ का ऐमान बुढालाई खल्लागाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण मोडमा अटो पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?