कांग्रेसको घमण्ड र माओवादीको सत्ताकेन्द्रित सोचले नयाँ गठबन्धन बन्यो : नेपाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीसहित कांग्रेस-माओवादीको गठबन्धन टुट्नुका कारणहरू औँल्याउनुभएको छ । प्रतिवेदनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ताकेन्द्रित सोचले नयाँ गठबन्धन बनेको उल्लेख गरिएको छ । अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहो¥याउने वा नडोहो¥याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा पुगेको उल्लेख गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु गठबन्धन टुट्नुको कारण रहेको समेत उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । त्यस्तै, निर्वाचनको परिणामले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा फेरबदल ल्याएको समेत उहाँले बताउनुभएको छ । ‘पुराना राजनीतिक दलहरूको प्रभाव केही घटेको छ । बुर्जुवा चरित्रका केही नयाँ राजनीतिक दलहरू प्रकट भएका छन् । वामपन्थी शक्तिहरू पहिलेको तुलनामा कमजोर देखिएका छन् । हाम्रो पार्टी पनि अनुमान गरिएभन्दा कमजोर देखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘एमाले, माओवादी, राप्रपा र रास्वपा सम्मिलित वाम-दक्षिणपन्थी गठबन्धन बनेको छ र त्यही गठबन्धनले सरकार बनाएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ र हाम्रो पार्टी पनि प्रतिपक्षमा छ । आजको ठोस परिस्थिति यही हो । यस ठोस परिस्थितिमा कस्तो कार्ययोजना तय गरेर अगाडि बढ्ने हो भन्ने प्रश्न खडा भएको छ ।’ नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने एक नेताले जानकारी दिनुभयो ।

‘राष्ट्रपति निर्वाचनसम्म पनि गठबन्धन टिक्न सक्दैन’
अध्यक्ष माधव नेपालले राष्ट्रपतिको चुनावअघि नै सरकारमा खटपट आएको बताउनुभएको छ । अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिरसमेत गर्नुभयो । ‘प्रचण्डले कसरी र कहिलेसम्म थेग्नुहोला थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौँ सत्ता गठबन्धनमा खटपट आइसक्यो,’ अध्यक्ष नेपालले भन्नुभयो । उहाँले आफूहरू सरकारमा नभए पनि देश सही ढंगले अगाडि नबढेको र संविधान उल्लंघन भइरहेको प्रति चिन्तित भएको बताउनुभएको हो । ‘राष्ट्रपति चुनावअघि नै खटपट भइसकेको छ । हामीलाई यसरी खटपट आएकोमा चिन्ता छैन । तर, देश कसरी अगाडि बढ्छ भन्नेमा चिन्ता छ । संविधानको उल्लंघन गर्ने मान्छे सरकारको जिम्मेवारीमा बस्नु भनेको संकटको सन्देश हो ।’ नेपालले भन्नुभयो, ‘जसले आफैँ नियम र कानुनको पालना मन्त्रीले गर्दैन भने त्यस्ताले जनतालाई के सन्देश दिन्छन् ? यसैले अहिलेका मन्त्रीप्रति जनता निराश छन् । भोट दिने पनि निराश छन् ।’ यस्तो निराशाविरुद्ध आफ्नो पार्टी बलियो भएर सकारात्मक प्रभाव पार्ने दिशामा अगाडि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो । बैठकमा उहाँले निर्वाचनमा पार्टीले हार्नुका कारणबारे पनि बताउनुभएको थियो । पार्टीमा एक लाख ३६ हजार सदस्य रहे पनि एकजनाले तीनजनाको मत बटुल्न नसक्दा थ्रेसहोल्ड नकटेको उहाँको भनाइ थियो । नेपालले प्रत्यक्षमा १० सिट जिते पनि पार्टीले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्नु दुःखद भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?