पढाइसँगै व्यावहारिक सीप सिक्दै विद्यार्थी

हिमालय टाइम्स
Read Time = 5 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुर-२ स्थित शिवशक्ति आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप सिकाउन थालेको छ । कोहलपुर नगरपालिकाद्वारा लागू गरिएको स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’अन्तर्गत विद्यालयले व्यावहारिक सीप सिकाउन थालेको हो । विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाका अनुसार तीन महिनादेखि विद्यार्थीहरूलाई सीप सिकाउन थालिएको हो । विद्यार्थीहरूले अहिले च्याउ खेती, तरकारी तथा फलफूलका बेर्ना उत्पादन, कोशी खेती गरिरहेको उहाँले बताउनुभयो ।

सापकोटाले विद्यार्थीहरूले बोतल तथा गमला खेती गर्नुका साथै र करेसाबारी फूलबारीसमेत सञ्चालन गरिरहेको बताउनुभयो । अध्ययनसँगै व्यावहारिक सीपका साथै शैक्षिक सामग्री निर्माण, चित्रकला हस्तकला निर्माण गरेर जीवनोपयोगी सीप सिकाउने कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ । विद्यालयले पढ्दै, सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कोहलपुर नगरपालिका नगर शिक्षा शाखाले निर्माण गरेको स्थानीय पाठ्यक्रम हाम्रो कोहलपुरअन्र्तगत कक्षा ६ पेसा व्यवसाय प्रविधि र कक्षा ७ मा खुसीका लागि शिक्षा जीवनउपयोगी सीपअन्तर्गत विद्यार्थीहरूले प्रयोगात्मक शिक्षालाई जोड दिइरहेका हुन् । विद्यार्थीले घरमा उत्पादन गरेका उत्पादन प्रदर्शनी गरेको थियो । कक्षा ६ र ७ मा अध्ययनरत ६५ जना विद्यार्थीहरूले आफूले उत्पादन गरेका उत्पादन प्रदर्शनी गरेका थिए ।

पढ्दै, सिक्दै कमाउँदै कार्यक्रममा कुल ८० जना विद्यार्थी सहभागी छन् । उक्त अवसरमा विद्यार्थीले आफूले घरमा उत्पादन गरेका च्याउ, गोभी, धनिया, लसुन, मेथी विभिन्न जातका फूलहरू प्रदर्शन गरेका थिए । ‘हामीले पढ्दै सिक्दै कमाउँदै कार्यक्रम लागू गरेका छौँ ।

पाठ्यक्रमअनुसार पढाइ हुन्छ ।’ प्रधानाध्यापक सापकोटाले भन्नुभयो, ‘पढेको कुरा विद्यार्थीले घरमा प्रयोग गर्छन् । आफ्नो भागमा परेको उत्पादन गर्छन् । त्यसबाट आम्दानीसमेत गर्दै आएका छन् ।’ यति मात्रै होइन घरमा विद्यार्थीले उत्पादन गरेका उत्पादनहरू आफैँ उपभोग गर्छन् । विद्यार्थीले उत्पादन गरेको च्याउबाट आम्दानीसमेत गर्न सफल भएको विद्यालयले जनाएको छ । तीन महिनामा विद्यार्थीले उत्पादन गरेको च्याउबाट १० हजार आम्दानी भएको छ । विभिन्न वस्तु उत्पादनका लागि आवश्यक सीप विद्यालयले सिकाउँदै आएको छ भने च्याउ खेतीका लागि आवश्यक टनेल र अन्य सामग्री व्यवस्थापन पनि विद्यालयले गरेको उहाँले बताउनुभयो । पढ्दै सिक्दै कमाउँदै कार्यक्रमका लागि तीन महिनामा कुल ५० हजार रुपैयाँ लगानी लागेको छ । उक्त कार्यक्रमका लागि कोहलपुर नगरपालिका-२ ले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालयले पनि २० हजार रुपैयाँ लगानी गरेको प्रधानाध्यापक सापकोटा बताउनुहुन्छ । ‘पहिलोपटक प्रयोग गरेका थियौँ । विद्यार्थीले राम्रो मिहिनेत गरेका छन् । यसबाट उनीहरूमा सीपको विकास भएको छ । कमाइसमेत हुन्छ । हामीलाई समेत हौसला मिलेको छ । आगामी दिनमा पनि निरन्तरता दिन्छौँ ।’ उहाँले भन्नुभयो । आगामी शैक्षिक सत्रदेखि कक्षा ८ मा समेत पढ्दै सिक्दै कमाउँदै कार्यक्रम सुरुवात गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

विद्यालयले सुरु गरेको कार्यक्रममा विल्डन नेपालले समेत सहयोग गर्दै आएको छ । उक्त संस्थाले शैक्षिक विकासका लागि तीन कोठा भवन निर्माण गरिदिएको छ भने अभिभावक शिक्षासमेत प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?