दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि लीलारामलाई

हिमालय टाइम्स
Read Time = 6 mins

भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि लीलाराम माध्यमिक विद्यालयले चुमेको छ । सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुपन्देहीकाे लिलाराम न्यौपाने माध्यमिक विधालयले उचालेको छ ।

नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितमा सर्वाधिक पदक ल्याई लीलाराम विजयी भएको हो । पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगिताका २७ विद्यालयको सहभागिता रहेकोमा  विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लीलारामले नौ स्वर्ण, नौ रजत र सात काश्य गरी कुल २५ पदक प्राप्तिसँगै राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको रुपन्देही जिल्ला खेलकुद विकास समितीका मुख्य प्रशिक्षक उमेश थापाले बताउनुभयाे ।

प्रथमसँगै लीलारामले रनिङ शिल्ड पनि पाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बताउनुभयाे । साई ग्लोबल माध्यमिक विद्यालयले पाँच स्वर्ण, चार रजत , दुई काश्य गरी कुल एघार पदक  प्राप्त गरी द्वित्तिय र तीन स्वर्ण, तीन रजत र पाँच काश्य गरी कुल एघार पदकसहित जेसिज माध्यमिक विद्यालय तृतिय भएको छ ।

समापन समारोहमा विजेताहरुलाई स्वर्ण, रजत र काश्य पदक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले प्रदान गरेका थिए । सोही अवसरमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा सिद्धार्थनगर नगरपालिकाको कार्यालय द्वित्तीय भएकोमा खेलमा सहभागी कर्मचारी खेलाडी र व्यवस्थापकलाई पनि नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।

यस्तै मलेसियामा संचालित सरावाक बोर्नियो कप इन्टरनेसनल तेकवान्दो च्याम्पियनसिपको पुरुष तर्फ ८० र ८७ के.जी तौल समूह माथीको खेलमा स्वर्ण पदक प्राप्त सिद्धार्थनगर वडा नम्बर ८ का खेलाडीद्धय अभिषेक बराल र आशुतोष बराललाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर खेलाडीको उर्वर भुमि रहेको भन्दै आफुहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताउनुभयाे । उहाँले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोले खेल क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयाे ।

उहाँले सेवा सुविधाको अभावमा खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रर्दशन गरी राज्यको सम्मान अभिवृद्धि गर्नमा सहयोग पुर्‍याउँदै आए पनि राज्यले चाहे जति गर्न नसके पनि आफुहरुले सकेसम्म सहयोग गर्ने बताउनुभयाे ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्रत्येक विधालयले खेलकुद प्रशिक्षक र खेलकुद कक्षा संचालन गर्नुपर्ने बताउँदै सुधारका कार्यहरु विद्यालयले आफैबाट सुरु गर्नुपर्ने बताउनुभयाे । उहाँले खेलाडी माथी राजनीति गर्न नहुने भन्दै आफुहरुले माया गर्ने गरेको बताउनुभयाे । ‘विद्यालय आफुले गर्नुपर्ने कर्तव्य पुरा गरेर सुरुवात गरोस्, हामीले के गर्नुपर्ने हो त्यो गर्न तयार छौँ,’ उहाँले भन्नुभयाे ।

प्रतियोगितामा छात्र-छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयले बताउनुभयाे । उहाँकाअनुसार एथलेटिक्स अर्न्तरगत छात्र र छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार मिटर दौड साथै चार गुणे एक सय, चार गुणे चार सय मिटर रिले दौड भएका थिए ।

त्यस्तै छात्रा र छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै मार्शल आर्ट अर्न्तगत तेक्वान्दो खेलको छात्रा तर्फ ४२ के.जी तौल समूह मुनि, ४४ के.जी मुनि, ४६ के.जी मुनि र छात्र तर्फ ४५ के.जी, ४८ के.जी, ५१ के.जी तौल समूह मुनि खेल भएको थियो । सो अवसरमा प्रर्दशनको रुपमा कराँते खेल समेत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?